कुखुराको भालेविरुद्ध अदालतमा मुद्दा
युरोपेली शक्तिराष्ट्र फ्रान्समा एउटा कुखुराको भाले बासेको आरोपमा अदालतमा मुद्दा परेको छ । मोरिस नामको भाले हरेक बिहान सबेरै जोडसँग बास्ने गरेको र त्यसरी बास्दाखेरी ध्वनि प्रदूषण हुनुका साथै छरछिमेकका मानिसहरूको निद्रा बिथोलिएको आरोप लगाउँदै मुद्दा हालिएको बताइएको छ ।
फ्रान्सको इस्ले अफ अल्रनस्थित सेन्ट पियरे द अलरन गाउँमा स्थानीय करिन फेस्सयू नामकी महिलाले घरमा पालेको उक्त कुखुरामाथि छिमेकीले मुद्दा हालेका हुन् ।
सन् २०१७ को अप्रिल महिनामा पहिलोपटक ती महिलाका छिमेकीहरुले कुखुरा कराएको भन्दै गुनासो गरेका थिए । छिमेकीहरुले कुखुरा बासेर आफूहरुलाई डिस्टर्ब भएको भन्दै कुखुरालाई चुप राख्न भनेका थिए ।
तर कुखुरालाई बास्नबाट उनले कसरी रोक्न सक्थिन् र ? जसका कारण छिमेकीहरुले उनको कुखुराविरुद्ध अदालतमा मुद्दा नै हाले । आगामी सेप्टेम्बर ५ तारेखमा उक्त मुद्दामा सुनुवाइ रहेको र सोही दिन फैसला आउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार छापिएको छ ।