६० वर्षीय व्यक्तिको आधा मात्र मस्तिष्क

रुसका एक ६० वर्षे व्यक्तिको आधा मात्र मस्तिष्क रहेको बताइएको छ । उनको खप्परभित्र देब्रेतर्फ गिदीको साटो ब्ल्याक होल भएको पाइएको चिकित्सकहरूको दाबी छ ।
सेवानिवृत्त इन्जिनीयरले रेड आर्मीमा काम गरेका छन् । उनले विश्वविद्यालयको डिग्री पनि हात पारेका छन् र परिवार पनि हुर्काएका छन् । तर उनलाई स्वास्थ्यको कुनै समस्या परेन । उनलाई हल्का हृदयघात भएपछि अस्पतालमा सीटी स्क्यान गराउँदा चिकित्सकहरूले अनौठो कुरा पत्ता लगाएका हुन् । मस्तिष्कका केही भाग पनि तलमाथि हुँदा मानिस भयंकर अपांग हुने वा सानै उमेरमा मर्ने अवस्था आउँछ । तर यी व्यक्तिलाई ६० वर्षको हुँदासम्म पनि कुनै समस्या नआउनु अद्भुत कुरा भएको चिकित्सकहरूले बताएका छन् ।
यी व्यक्ति आमाको गर्भमै हुँदा आधा मस्तिष्कको भएको र सन् १९५० को प्रविधिले उनको यो अवस्थालाई गर्भमा पत्ता लगाउन नसकेको देखिन्छ । पत्ता लगाएको भए शायद उनकी आमालाई गर्भ तुहाउने सल्लाह दिइन्थ्यो ।