कांग्रेस र राजपाबीच गठवन्धन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच सरकारविरुद्ध सहकार्य गर्ने सहमति भएको छ । सरकारले संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्यामा सरकारको रवैयाविरुद्ध संसद र सडकसम्म प्रतिवाद गर्ने गरी अलिखित सहमति भएको हो । कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता सुरेन्द्र पाण्डेको पहलमा राजपासँग सहकार्य गर्ने पहल अघि बढेको थियो ।
राज्यले मानवअधिकारको उल्लंघन गर्दै निर्दोष नागरिकको जथाभावी प्राण लिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बुधबार नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सरकार निरंकुश भएको भन्दै न्याय, कानून र प्रचलित संविधानका विरुद्ध निहत्था नागरिकको हत्या गरिरहेको भन्दै संसदमा विरोध गरेका थिए ।
सर्लाहीदेखि विभिन्न ठाउँमा भएका घटनामा निर्दोषहरु मारिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र हालै सरकार परित्याग गरेको दल राजपाका सांसदहरुले संसदको गतिविधि अवरुद्ध गरेका थिए । सर्लाही घटना लोकतन्त्रको रक्षा गर्ने भन्दै गृहमन्त्रीले जवाफ दिएपछि विपक्षी सांसदहरु भ्mन् रुष्ट भएका थिए । कांग्रेस र राजपाका नेताहरुले विगतमा झै सरकारले सर्लाहीको घटनामा संसदलाई ढाँटेको आरोप लगाएका छन् ।
संसदमा संयुक्त रुपमा प्रदर्शन गरेका कांग्रेस र राजपाबीच गठवन्धन गरेर सडकदेखि सदनसम्म सरकारको विरोध गर्ने सहमति गरेका छन् । दुई दलका दोस्रो तहका नेताहरुसँग वार्तापछि कांग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष मण्डलका चार नेताबीच भएको वैठकले सरकारविरुद्ध गठवन्धन बनाएर अघि बढ्ने सहमति गरेका हुन् ।
हुन त यसअघि नै उनीहरुबीच भएको वार्ता पछि नै संसदमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । गत सातादेखि आन्तरिक सहमति भए पनि कांग्रेस पक्षले यो विषयलाई बाहिर ल्याएको थिएन ।
देउवा निवासमा असार २१ मा कांग्रेस र राजपाका नेताबीच छलफल भएको थियो । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका सर्लाहीका नेता कुमार पौडेलको इन्काउन्टर र सर्लाही ईश्वरपुरका १३ वर्षीय बालकको मृत्युपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु भएका नारायण सिंह महतोको न्यायका पक्षमा संसदमा शसक्त प्रतिवाद गर्ने कांग्रेस र राजपाबीच सहमति भएको छ । उनीहरुले स्थानीय तहमा भएको सहमति तत्कालको क्षतिपूर्तिको सन्दर्भमा भएको उल्लेख गर्दै न्यायिक उपचार नभईकन संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
कांग्रेस र राजपाबीच सरकारले प्रस्तुत गरेका प्रतिकूल विधेयक, सरकारका अलोकतान्त्रिक गतिविधि रोक्नका लागि दुई दलमा एक स्थानमा उभिने र पहिलो चरणमा संसदमा सहकार्य गर्ने त्यसपछि थप छलफल गरेर सडकमा जाने तयारी गरिरहेको बताइएको छ ।
बुधबारको संसद बैठक सभामुखले बलपूर्वक सञ्चालन गरे पनि सोमबार बस्ने बैठक बस्नै नदिने कांग्रेसको तयारी छ । सरकारको छायाँको रुपमा सभामुख देखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।