वाढी–पहिरोको वितण्डाले ठूलो मात्रामा धनजनको क्षति

काठमाडौँ — बिहीबारदेखि लगातार परेको वर्षाले बाढी र पहिरो जाँदा देशभरको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परी ललितपुर, काठमाडौं, खोटाङ, काभ्रे, भोजपुर, मकवानपुर, धादिङ, सिन्धुली, पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा, चितवन,  दोलखा लगायतका जिल्लाका जनताको मृत्यु र घाइते भएका हुन् ।


बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १÷१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
झण्डै पाँच सय परिवार विस्थापित भएका छन् भने विभिन्न ठाउँका पुल वगाउनुका साथै पहिरो र डुवानका कारण अर्बौंको क्षति पुगेको बताइएको छ ।
राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा राजधानी भित्रिने र वाहिरीने मार्गसमेत अवरुद्ध बन्यो भने राजधानीका अधिकांश ठाउँ समेत डुवानमा परेका छन् । उपत्यकामा शनिबारबाट पानी पर्न कम भएपनि राजधानीलगायत देशभरका वासिन्दा अझै त्रासमै छन् ।


अविरल पानी परिरहँदा नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । नदी र खोलाहरूमा बहाव झन्झन् बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म पानी परिरहने जनाएको छ । विभागले वर्षाबाट नदी र खोलाको बहाव निरन्तर बढ्ने र बाढीपहिरोको खतरा भएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ ।


गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको हवाला दिँदै आइतबारसम्म वर्षा जारी रहने भएकाले नदी र खोला छेउका बस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।
देशैभरि उद्धार तथा व्यवस्थापनका लागि सेना, जनपद र सशस्त्र प्रहरी खटिएका छन् । नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले संघीय प्रहरीअन्तर्गतका सबै इकाई र दंगा नियन्त्रण टोली उद्धार तथा व्यवस्थापनमा परिचालित भएको बताए । राजधानीमा मात्रै करिब १२ हजार सुरक्षाकर्मी परिचालित छन् ।


उद्धारका निम्ति केही जिल्लामा हेलिकप्टर स्ट्यान्डबाई राखिएको छ भने गृह मन्त्रालय, सेना र सशस्त्र प्रहरीसँग मिलेर प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको बताइएको छ ।