ओलीको बोली पूरा गर्न पानी जहाज बन्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पटकपटक नेपालमा पानी जहाज र रेल दौडाउने बताउँदै आएका छन् । उनको त्यो अभिव्यक्तिलाई धेरैले हावाको संज्ञा दिएका छन् । कतिपयले राजधानीका सडकमा जमेको पानीमा कागजको पानी जहाज राखेर व्यंग्य पनि गर्दै आएका छन् । प्रधानमन्त्री ओली ती व्यंग्य गर्नेहरुप्रति लक्षित गर्दै केही समय धैर्य गर्न आग्रह गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालका नदीमा पानी जहाज चलाउने, हावाबाट विजुली निकाल्ने, रेल कुदाउने, घरघरमा ग्यासको पाइप जोड्ने र नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउँदै आएका छन् । ओलीको त्यो महत्वकांक्षी योजनालाई लिएर सर्वसाधारण मात्र होइन, आफूलाई वौद्धिक ठान्नेहरुले समेत गिज्याइरहेका छन् । तर हिमाली जिल्लामा हावाबाट विजुली निकालिएको छ भने विराटनगरमा ग्यासको पाइप घरघरमा जोडिएको थियो । हाल त्यो बन्द छ ।
त्यस्तै भारतबाट रेल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ भने चाइनाबाट रेल ल्याउने बारे पनि प्रक्रिया अघि बढिरहेको छ । त्यस्तै मिनी पानी जहाज पनि तयार भइरहेको छ । नेपालकै पहिलो पानी जहाज ‘रिभर क्रुजशिप’ चितवनमा निर्माण भइरहेको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भरतपुर महानगरपालिका १६ काभ्रेघाटमा क्रुजशिप निर्माण गरिरहेको छ ।
शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी निर्माणका प्रक्रिया, तयारी, लागतलगायत विभिन्न विषयमा सो प्रालीले जानकारी गराएको छ । क्रुजशिप करिव ३५ करोड लगानीमा निर्माण सम्पन्न हुने प्रालिका प्रबन्धक निर्देशक रामचन्द्र कंडेलले बताएका छन् ।
क्रुजशिप अबको २ महिनामा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताइएको छ । एकपटकमा २०० जनालाई सेवा दिन सक्ने क्रुजशिप काभ्रेघाटबाट सुरु भइ देवघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालन तयारी भइरहेको बताइएको छ । त्यसपछि मुग्लिन र तल त्रिवेणीधामसम्म लैजान थप अध्ययन गरिने निर्माण पक्षले जनाएको छ ।
क्रुजसिप २ तल्ला, करिव १०० फिट लम्बाई र २५ फिट चौडाइको हुने जनाएको छ । क्रुजलाई ३ सिफ्टमा सञ्चालन गर्ने योजना रहेको बताइएको छ । बिहान ब्रेक खाँदै, अपरान्ह खाना नै क्रुजमा खाँदै र साँझ डिनर क्रुज हुने प्रालिले जनाएको छ ।
पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास निर्माण पक्षले लिएको छ । नेपाल सरकारको कानुनी व्यवस्थाअनुसार पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० बमोजिम संचालन अनुमती लिएर निर्माण कार्य अघि बढाइएको प्रालिले जनाएको छ । क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा विशेष सावधानी अपनाउँदै निर्माण योजना र आवश्यक पूर्वतयारी गरिरहेको प्रबन्धक कंडेलले बताएका छन् ।
क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण पनि सफल भएको बताइएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ निर्माण भइरहेको छ । निर्माणमा भारतीय र नेपाली गरी ५० जना खटिएका छन् ।
‘क्रुजशिप’ राख्नको लागि पानीको च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन निर्माण भइसकेको छ ।
‘मिनी पानीजहाज’ सञ्चालनका लागि आवश्यक क्र्यू मेम्वर र प्राविधिक हाल विदेशी हुने छन् । तर दीर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागि आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने योजना बनाएको कम्पनीको भनाइ छ ।
‘मिनी पानीजहाज’मा १५ जना क्यू मेम्बर हुनेछन् भने एकै पटक दुईसय जनाले यात्रा गर्न सक्ने छन् । पानी जहाजको दुबै तलमा सयसय जना अटाउनेछन् । मिनी पानीजहाज एक सय फिट लम्वाई र २५ फिट चौडाईको हुनेछ, जसको माथिल्लो तलालाई दृश्यावलोकन गर्न सकिने गरी बनाइने बताइएको छ ।
बर्षाको तीन महिना भने ‘मिनी पानीजहाज’ बन्द गरिनेछ । सिंगापुर र भारतबाट आएका प्राविधिकहरुले पुसदेखि पानीको गहिराईबारे अध्ययन गरेका थिए । ‘नारायणी नदीमा पुषको बेलामा सबैभन्दा कम पानीको सतह पुग्ने रहेछ, केही सिमित स्थानमा नदीको वहाव सुधार गरे सजिलैसँग नारायणीमा मिनी पानीजहाज चलाउन सकिने रहेछ’ प्रवन्ध निर्देशक कँडेलले भने ।
पानीजहाज सञ्चालन गर्ने स्थानमा नदी नियन्त्रण गर्न प्रदेश ३ सरकारले ९५ लाख रकम दिएर निर्माण गरेको छ ।
त्यस्तै राइनो वाटरलले ‘मिनी पानीजहाज’सँगै रिर्सोट पनि सञ्चालन गर्ने जनाएको छ । रिसोर्टका लागि ज्ञानेश्वर सामुदायिक वनसँग २० बर्षका लागि जग्गा भाडामा लिएको र त्यहाँ ‘सी’ रिर्सोट निर्माण हुने बताइएको छ । रिर्सोटसहित झण्डै ३५ करोडको लागत अनुमान गरिएको प्रवन्ध निर्देशक कँडेलले बताएका छन् ।