एमाले र माओवादीबीच सिद्धान्तमा अझै खटपट

एकताको १४ महिनापछि जिल्ला इन्चार्ज तोकिए, स्कुल विभागमा दुवै पक्षको दावी

काठमाडौं । नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपाको एकताले १४ महिना पछि पूर्णता पाएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पटकपटक भएको छलफल एकताको सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएपछि आइतबार बसेको सचिवालय वैठकले त्यसलाई अनुमोदन गरेको छ ।
प्रम तथा पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष दाहाल एवं सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी भएर एकता प्रक्रियाका बाँकी कामलाई अन्तिम रुप दिएका थिए ।
पूर्वएमाले र पूर्वमाओवादीबीच भएको सहमति अनुसार पूर्व एमालेका १८ र पूर्व माओवादीका १४ जनालाई केन्द्रिय विभागमा समेटिने भएको छ । यस्तै एमालेका २ र माओवादी पृष्ठभूमिका एक जनाले तीन वटा केन्द्रीय आयोगको नेतृत्व गर्ने छन् ।
यस्तै जिल्ला इन्चार्जहरुमा एमाले पृष्ठ भूमिका ४४ र पूर्व माओवादीका ३३ जना रहने छन् । ७७ जिल्ला र ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज तोकिएका छन् भने ३२ वटा केन्द्रीय विभाग, केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, राष्ट्रिय परिषद्, प्रदेश स्तरका विशेष कमिटीलगायतका ठाउँमा पदपूर्ति गर्ने नेताहरु सहमति भएपनि घोषणा गरिएको छैन ।
३२ मध्ये संगठन र विदेशसहित १८ एमालेले प्रचार र अर्थसहित १४ विभाग माओवादीले लिने सहमति भएको छ भने स्कुल विभागबारे सहमति हुन बाँकी छ ।
स्कुल विभागको विवादले अन्य सहमति भइसकेका विभाग प्रमुख पनि घोषणा गरिएको छैन । मंगलबार बस्ने सचिवालय वैठकले सो बारे टुंगो लगाउने बताइएको छ ।
आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमालेका नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वैठकले संगठन विभागमा बादमेव गौतम, विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा प्रतिष्ठानमा झलनाथ खनाललाई प्रमुख बनाउने सहमति गरेको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली सुरुमा गौतमलाई संगठन विभाग प्रमुख बनाउन तयार थिएनन् । तर प्रचण्ड–माधव नेपालले गौतमको नाम लिएको र उनलाई सो विभाग दिँदा आफ््नो समर्थक बन्न सक्ने विश्लेषण गरेर गौतमलाई संष्डठन विभाग प्रमुख बनाउन ओली सहमत भएको नेकपा स्रोतको दावी छ ।
संगठन विभागमा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको समेत दाबी थियो । तर, ओलीले पछिल्लो समय आफूसँग असन्तुष्ट बनेका गौतमलाई नजिक ल्याउन प्रयास गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी दिने सहमति गरेको बुझिएको छ ।
नेकपामा महत्वपूर्ण विभाग मध्येको स्कुल विभागमा तत्कालीन एमाले र माओवादी दुबै दलको दाबी छ । नेताकार्यकर्तालाई पार्टीको सिद्धान्तबारे प्रशिक्षण दिने विभागको नेतृत्वबारे विवाद हुनुलाई उनीहरुबीच पार्टीको सिद्धान्तबारे कुरा मिलेको छैन भन्ने बुझिन्छ ।
सो विभागको नेतृत्व लिन पूर्व एमाले नेता तथा रक्षामन्त्री पोखरेल र तत्कालीन माओवादीका नेता तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दाबी गरेका छन् । पूर्व एमाले नेताहरुले श्रेष्ठलाई प्रचार विभाग प्रमुख बनाएर पोखरेललाई स्कुल विभाग दिने प्रयास गरिरहेको बताइएको छ । तर श्रेष्ठले भने प्रचार विभाग नलिने अडान लिएको बुझिएको छन् ।
नेकपाले केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्च पनि स्थापना गर्ने भएको छ । २२१ जना सदस्य रहने परिषद्को अध्यक्ष पूर्व एमालेका केशव बडाल रहने छन् । त्यत्ति नै सदस्य रहने मञ्चको अध्यक्ष पूर्व माओवादीका एनके प्रसाईं रहने सहमति भइसकेको छ ।
पूर्व एमलोको भागमा परेको लेखा परिक्षण आयोगको प्रमुख डा. पुष्प कँडेल र अनुशासन आयोग प्रमुखमा अमृत बोहराको सम्भावना छ भने पूर्व माओवादीको भागमा परेको निर्वाचन आयोग प्रमुखमा अमिक शेरचनको सम्भावना रहेको बताइएको छ ।
नेकपाको एकता प्रक्रिया टुंगिदैमा मन, वचन र कर्मले एकीकरण प्रक्रिया साच्चै अघि बढ्यो भन्ने मान्न नसकिने कतिपय विश्लेषकहरुको धारणा छ । उनीहरु भन्छन्, एमाले र माओवादी पृष्ठभूमिका नेताहरु नयाँ पार्टीलाई बलियो बनाउने भन्दा पनि पुरानै वर्चस्व कायम राख्न बढी क्रियाशिल देखिएका छन् ।
केपी ओलीलाई विस्थापित गरेर पुष्पकमल दाहाल अहिले पनि सर्वैसर्वा हुन चाहन्छन् र कम्तीमा ३० महिना आफू प्रधानमन्त्री हुन पाउनु पर्ने मनसाय बोकेर हिडिरहेकाले प्रचण्ड र ओलीबीचको हानाथापले पनि पार्टीलाई समस्यामा पार्न सक्ने देखिन्छ ।
प्राविधिक रुपमा एकताको कुरा अघि बढेपनि सैद्धान्तिक, दार्शनिक र रणनीतिक कुरामा पार्टीका उच्च तहमै मतभिन्नता पाइन्छ । तसर्थ आउँदा दिनहरुमा त्यसको पनि निक्र्योल गर्न सकियो भने मात्र पार्टीभित्र मनोवैज्ञानिक एकता बलियो हुने अवस्था आउन सक्छ ।