संसद अवरुद्धप्रति कांग्रेसमै असन्तुष्टि

काठमाडौं । असार २४ गतेदेखि निरन्तर संसद वैठक अवरुद्ध भइरहेको छ । अवरुद्ध संसद वैठक सुचारु गर्न सभामुख कृष्णबहादुर महराले पहल गरेपनि दलहरुबीच सहमति हुन सकेको छैन । कांग्रेस र राजपाले सर्लाहीमा मारिएका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएको भन्दै संसदीय छानविन समिति बनाएर छानविन गर्न माग गर्दै आएका छन् । त्यस्तै असार १५ गते सर्लाहीको बाँकेचोकमा भएको प्रदर्शनमा ईश्वरपुर नगरपालिका १३ का २६ वर्षीय सरोजनारायण सिंह मारिएपछि सो घटनाको पनि छानविन गर्न राजपाले माग गर्दै आएको छ ।
सरकारले छानविन गर्न आनाकानी गरेको भन्दै कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आएपछि बिहीबार सहमतिका लागि सभामुख महराले सर्वदलीय वैठकमा डाकेका थिए । तर वैठकमा लगातार २ घण्टा छलफल भएपनि निष्कर्ष आउन नसकेपछि संसद वैठक तीन दिनका लागि स्थगित गरिएको छ ।
सदन खुलाएर प्रतिपक्षले राखेका मागका बारेमा छलफल गर्दा राम्रो हुने पूर्व सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव गरेका थिए । तर कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले त्यस्तो प्रस्ताव नेपाली कांग्रेसलाई मान्य नहुने तर्क गरेका छन् ।
संसद अवरुद्ध बारे कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि चर्चा भएको छ । केही सिजनल माग लिएर कांग्रेसले वेलाखवत संसद अवरोध गर्दा पार्टीलाई वेफाइदा भएको केही नेताहरुले स्वीकार गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा पार्टीको भूमिकाप्रति असहमति जनाउँदै सर्लाही घटनालाई लिएर संसद अवरोध गरेकोमा विरोध जनाएका छन् ।
विप्लव समूहका विषयलाई लिएर संसद अवरोध गर्नु र प्रवक्ताले वार्तावार्ता मात्र भन्नु गलत भएको पौडेलको तर्क छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रहरीको इन्काउन्टरमा पौडेल मारिएको दावी गर्दै आएका छन् । तर राष्ट्रिय मानवअधिकार आयोगले पौडेलको गैरन्यायिक हत्या भएको आशंका गर्दै छानविन शुरु गरेको छ । आयोगले सो घटनासँग सम्वन्धित प्रहरीलाई बोलाएर वयान समेत लिएको छ ।
छलफल र सहमतिबाटै टुंगो लाग्ने ससाना विवादमा संसद अवरुद्ध गर्न नहुने राजनीतिक विश्लेषकहरुको सुझाव छ । संसद अवरुद्ध हुने र सरकारले चित्तबुझ्दो जवाफ नदिँदा संसद, प्रतिपक्ष र सरकारको भूमिका पनि कमजोर देखिएको अवस्था छ । महत्वपूर्ण कामहरुलाई एकातिर पन्छाएर एउटै विवादमा हप्तौसम्म समय विताउने प्रवृत्तिले समयमा निर्णय गर्नुपर्ने संसदीय दायित्व समेत कमजोर हुँदै गएको राजनीतिक विश्लेषकहरुको तर्क छ ।
कांग्रेसले कहिले निर्मला पन्त हत्याकाण्ड, कहिले वाढी पीडितलाई क्षतिपूर्ति र कहिले अरु ससाना विषयमा संसद अवरोध गर्दै आए पनि राष्ट्र र राष्ट्रियतासँग जोडिएको विषयमा चुप लाग्ने गरेको आरोप लागेको छ । गत हप्ता भारतीय खुफिया एजेन्सीका प्रमुखसँग प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको विषयमा कांग्रेस मौन देखिएको छ । वाईडवडी, वालुवाटार जग्गा प्रकरणमा जस्तै रअ प्रमुखलाई भेटमा पनि देउवा मुछिएपछि ती विवादमा कांग्रेस मौन बसेको आरोप लागेको छ ।
पछिल्ला दिनमा एजेन्डाविहीन भएको नेपाली कांग्रेसले राजपाको एजेन्डालाई पछ्याइरहेको भन्दै राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । पार्टीले केही गर्दैछ भन्ने देखाउन ससाना विषयमा संसद अवरोध गर्दा त्यसले पार्टीलाई फाइदा भन्दा बढी वेफाइदा हुने राजनीतिक विश्लेषकहरुको तर्क छ ।
सरकार र संसदका जिम्मेवार व्यक्तिहरुले यस्ता समस्याको समाधान गर्न दलहरुबीच निरन्तर संवाद गर्न आवश्यक छ भने विरोधका लागि विरोध गर्ने प्रवृत्ति त्यागेर गम्भीर बन्न प्रतिपक्ष पनि तयार हुनुपर्ने देखिन्छ ।