कास्की २ मा वामदेव कि विद्या ?

उपनिर्वाचन मंसिर १४ गते

काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते शनिबारका दिन विभिन्न ठाउँमा उपनिर्वाचन गर्ने भएको छ । सरकारको बिहीबारको निर्णय अनुसार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदमा उपनिर्वाचन गर्ने आयोगले जनाएको छ । आयोगको बिहीबार बसेको बैठकले ५० वटा पदमा निर्वाचन गर्नुपर्ने भएकाले संवैधानिक व्यवस्था अनुसार तीन वटै तहमा एकै पटक निर्वाचन गर्ने निर्णय गरेको बताइएको थियो ।
गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ ।
यस्तै, प्रदेश ५ अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली भएको हो ।
स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन् । उपनिर्वाचन मिति घोषणा गर्नुअघि आयोगले १८ दलसँग छलफल गरेको थियो । छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौजुदा कानूनमा भएको उपनिर्वाचन सम्बन्धी व्यवस्था र आयोगले हाल गर्दै गरेको तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।
निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्यालले छलफलमा उपस्थित सहभागीहरूलाई उपनिर्वाचन सम्बन्धी कानूनी व्यवस्था र छलफल कार्यक्रम आयोजना गर्नुको उद्देश्य बारे जानकारी गराएका थिए । छलफल कार्यक्रममा राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने सबै सहभागीहरूले उपनिर्वाचनका लागि आगामी मंसिर महिना उपयुक्त हुने, निर्वाचन आचार संहितालाई कडाइका साथ पालना गर्नुपर्ने साथै सबै रिक्त स्थानको निर्वाचन एकैचोटी गर्नुपर्ने जस्ता महत्वपूर्ण सुझाव प्रदान गरेका थिए ।
त्यसैगरी निर्वाचनमा ईलोक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग तथा विदेशमा बस्ने नेपाली नागरिकको मताधिकारका सम्बन्धमा विभिन्न सुझाव प्राप्त भएको आयोगले जनाएको छ । निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने सम्बन्धमा समेत राजनीतिक दलका प्रतिनिधिहरूले महत्वपूर्ण सुझाव दिएका थिए ।
उक्त छलफल कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी (रा.ज.पा), संघीय समाजबादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.), राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विवेकशील शाझा पार्टी, नेपाली जनता दल, नेपाल समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी, नेपाली जनता दल, ने.क.पा. माले लगायतका दलहरूको सहभागिता थियो । छलफल कार्यक्रममा आयोगका निर्वाचन आयुक्त नरेन्द्र दाहाल, आयोगका सचिव तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।
कास्की २ मा गौतम कि विद्या ?
निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय सार्वजनिक गरेसँगै कास्की २ मा को होला ? नेकपाको उम्मेदवार भन्ने चर्चा शुरु भएको छ । केहीले स्वर्गीय रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउनुपर्छ भनेका छन् त केहीले वामदेव गौतमलाई एक पटक मौका दिनुपर्ने बताइरहेका छन् । सांसद अधिकारीको मृत्यु भएसँगै त्यहाँ हुने उपनिर्वाचनमा वामदेव गौतमले इच्छा जनाएको समाचार आएका थिए । तर आफ्नो नाम जोडेर बदनाम गर्न खाजेको भन्दै नेता गौतमले सार्वजनिक रुपमा भनेका थिए – “म कसैको शोकलाई आफ्नो स्वार्थमा परिणत गर्न चाहन्नँ, बरु रवीन्द्रकै परिवारबाट कसैलाई त्यो क्षेत्रमा निर्वाचनमा उठाउँदा हुन्छ ।”
नेता गौतमले अधिकारी पत्नी विद्यालाई नै उम्मेदवार बनाउँदा राम्रो हुने संकेत गरेका थिए । त्यसबेला सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि विद्यालाई नै उम्मेदवार बनाउनुपर्ने तर्क आएका थिए । अखिलको सचिवसम्म भएकी विद्याले विवाहपछि नै राजनीतिबाट टाढा बस्ने निर्णय गरेकी थिइन् । राजनीतिमा रवीन्द्रलाई सहयोग होस् भनेर आफू प्राज्ञिक क्षेत्रमा लागेको विद्याले सार्वजनिक कार्यक्रममै बताएकी छिन् ।
विद्याले आफू सक्रिय राजनीतिमा आउनेबारे अहिले नै बोल्ने बेला नभएको अधिकारीको श्रद्धाजञ्जली सभामा बताएकी थिइन् । अब निर्वाचन हुने मिति घोषणा भएकाले उनले बोल्ने बेला आएको छ । उनीसँग निकटस्थहरु भन्छन् “विद्यालाई राजनीति गर्दाको सम्झना ताजै छ । रवीन्द्र र विद्या राजनीतिक कारणले नै जोडिएका हुन् । जतिबेला रवीन्द्र पीएन क्याम्पसमा राजनीति गर्थे, विद्यामा पनि राजनीतिको रस पसिसकेको थियो । त्यसैले उनी सक्रिय राजनीतिमा आउन सक्ने सम्भावना छ । पार्टीले प्रस्ताव गरे उनी पछि हट्छिन जस्तो लाग्दैन ।”
नेपालको राजनीतिक इतिहास वा कम्युनिस्ट पार्टीकै इतिहासलाई हेर्ने हो भने पनि विद्यालाई उम्मेदवार बनाउने सम्भावना देखिन्छ । नेकपाका एक नेता भन्छन्, “विद्याजी राजनीतिमा आउने वा नआउने भन्ने कुरा त नितान्त उहाँको निर्णयको कुरा हो । तर, उहाँ आएमा समर्थन हामी पनि गर्छौँ र पार्टीले पनि गर्नेछ ।”
तर पछिल्लो समय अध्यक्ष केपी ओलीसँग एकाएक नजिकिन पुगेका वामदेव गौतमलाई नै उम्मेदवार बनाउने सम्भावना देखिएको छ । यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखेका थिए । तर अध्यक्ष ओलीको असहयोगकै कारण सांसद बन्ने इच्छा अधुरै रहेको चर्चा चलिरहेको छ । काठमाडौंबाट नै चुनाव लड्न गौतमले सांसद रामवीर मानन्धरलाई राजीनामा गराउन लगाएका थिए । तर पार्टीभित्रैबाट चर्को आलोचना भएपछि गौतमको सपना अधुरै रहेको छ ।
नेता गौतमले काठमाडौंअघि डोल्पा, प्युठानलगायतका जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । तर, पार्टीभित्र सहमति जुटन नसक्दा उपचुनाव लड्ने उनको चाहना अधुरै रहेको थियो । तर पछिल्लो समय गौतमलाई सांसद बनाउन अध्यक्ष ओलीले पनि इच्छा गरेको नेकपा स्रोतको दावी छ ।
नेकपा स्रोतका अनुसार केही दिनअघि भएको छलफलमा प्रधानमन्त्री ओलीले नेता गौतमलाई कास्की निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । गौतमले ओलीको प्रस्तावमा निर्णय नलिएपनि उनी इच्छुक रहेको बताइएको छ । पार्टीले निर्णय गरेर अधिकारी परिवारले समर्थन गरेमा आफूमाथि लाग्दै आएको पदलोलुपताको ट्याग पुनः बोक्नु नपर्ने पक्षमा गौतम देखिन्छन् ।
त्यसो त नेकपाको पूर्वमाओवादी समूहले नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने प्रस्ताव गर्ने बारे छलफल चलेको पनि बताइएको छ । नेकपाको स्कुल विभागमा भइरहेको विवादले एकतालाई पूर्णता दिन नसकेका बेला कास्की २ को उम्मेदवार कसलाई बनाउने भन्ने विवाद थपिने देखिएको छ । कतिपयले श्रेष्ठलाई कास्की २ को उम्मेदवार बनाए पूर्वमाओवादी पक्षले दावी गर्दै आएको स्कुल विभाग छोड्न सक्ने बताएका छन् ।