परिणाम दिने काम गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयां कार्यशैली अपनाएको बताएका छन् । जनताको अपेक्षालाई पूरा गर्न आफु पनि अहोरात्र खट्ने वताउँदै मन्त्री पुनले मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन् ।
तेस्रो चौमासिक एवं बार्षिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिवार बोल्दै मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसंग पनि सम्झौता नगर्ने चेतावनी दिएका छन् ।
उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेकै जनताको प्राथमिकता भएको बताउँदै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पूरा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री पुनले तालिका बनाएर नै काम गर्नुपर्ने बताउँदै सरकारले अघि सारेको कामलाई सफल पार्नु सवैको दायित्व भएको बताएका छन् ।
काम नगर्नेलाई पद ओगटेर बस्ने छुट नभएको बताउँदै मन्त्री पुनले अव काम नगर्ने कर्मचारीसंग आफुले कुनै पनि हालतमा सम्झौता नगर्ने चेतावनी दिएका छन् । हरेक महिना मन्त्रालयमा समिक्षा वैठक राखेर कामको प्रगती विवरण लिने घोषणा गर्दै मन्त्री पुनले भने ‘चिनेका साथीभाई हुन् काम गरिहाल्छन् नि भनेर मैले भन्ने अवस्था छैन, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।’
मन्त्री पुनले अधिकृत भन्दा माथिका कर्मचारीलाई सचिव, मन्त्री वा विभागीय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन समेत दिएका छन् । कागजमा निर्देशन दिने र प्रगती देखाउने प्रवृतिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर कामकार्वाही बुझ्न र परिणाममुखी काम गर्न सम्बन्धित कार्यालय प्रमुखहरुको ध्यानआकर्षण समेत गराएका छन् ।