नेपाल–चीन सम्वन्ध

सम्पादकीय

राजा महेन्द्र तथा माओका बीच सुमधुर सम्वन्ध स्थापित भएपछि नेपाल र चीन दौत्य सम्वन्धमा बाँधिएका थिए । सन् १९५५ अगष्ट १ तारिखमा शुरु भएको नेपाल–चीन इतिहासको सम्वन्ध अहिलेसम्म सुमधुर रहँदै आएको छ । ६४ वर्ष लामो कूटनीतिक सम्वन्धमा चीनले नेपाललाई प्रशस्त मद्दत गरेको पाइन्छ । नेपाल र चीनबीच सडकमार्गबाट जोडिने अरनिको राजमार्ग सबैभन्दा महत्वपूर्ण उपलव्धि मान्न सकिन्छ भने पछिल्लो समय भएको पारवहन र हवाई सम्झौताले नेपाल–चीन सम्वन्धमा नयाँ आयाम थपिएको छ । चीनले नेपालमा उद्योग, कलकारखाना, पर्यटन, जलस्रोत, यातायातलगायतका धेरै क्षेत्रमा लगानी गर्दै आएको छ ।
सन् १९१२ मा राजतन्त्र अन्त्य भएपछि चीनमा धेरै वर्ष गृहयुद्ध भयो । बलियो शक्ति स्थापित नहुन्जेल अस्थिरता चलिरह्यो भने माओले नेतृत्व गरेको कम्युनिष्ट पार्टी र डा. सनयात सेनद्वारा स्थापित राष्ट्रवादी पार्टीको अन्तरद्वन्द्व चलाएर विदेशी शक्तिले समेत हस्तक्षेप गर्न खोजेका थिए । तर सन् १९४९ मा कम्युनिष्ट पार्टीले राष्ट्रको बागडोर हातमा लिएपछि विस्तारै स्थायित्व हुँदै गयो । सन् १९७६ मा माओको मृत्युपछि पनि केही उथलपुथल गराउन खोजिएको थियो । सो बीचमा दङ स्याओ पिङले सही नेतृत्व दिएका कारण चीनमा ठूलो रक्तपात हुन पाएन । विश्वको सवैभन्दा धेरै जनसंख्या भएको र आर्थिक तथा सामरिक दृृष्टिले समेत बलियो हुँदै गएको चीन नेपालमा स्थायित्व चाहन्छ । त्यसैले पश्चिमी मुलुकहरुले नेपालमा बसेर चीनतिर ढुंगा नहानुन् भन्ने उसको मनसाय देखिन्छ ।
चीनसँग सिमाना जोडिएका १३ वटा राष्ट्र मध्ये सम्भवतः नेपाल धेरै अस्थिर देखिएको छ । पश्चिमी मुलुकहरुको प्रभाव बढ्दै गएको स्थितिमा आफ्नो भूभागमाथि खतरा बढ्छ भन्ने चीनको बुझाइ रहेको पाइन्छ । यही कारणले नेपालमा स्थायित्व भए मात्र आफ्नो सुरक्षा हुन्छ भन्ने चाहेर चीनले नेपाली कूटनीतिमा बढी चासो देखाएको बुझिन्छ ।
ऊर्जा, कृषि, जडिवुटी, परम्परागत औषधि, जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा आत्मनिर्भर बन्न नेपाललाई चीनले मद्दत पुर्याउने तर त्यसका लागि नेपाल पनि चीनप्रति सम्वेदनशील हुनुपर्ने उनीहरुको तर्क छ । चीनका तर्फबाट विकास सहायतामा सरकारी पद्धति र तहबाटै निशर्त आर्थिक सहायता उपलब्ध गराइनु र आर्थिक एवं सामाजिक क्षेत्रमा साझेदार बन्न चाहेर चीनले नेपालप्रति देखाएको सदासय आफैमा महत्वपूर्ण मान्न सकिन्छ ।
चीन, भारत र नेपालबीचको त्रिकोणात्मक सम्वन्ध अहिले विभिन्न कारणले अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेको छ । सन् २०१३ मा चीनका राष्ट्रपति निर्वाचित भएपछि सी जिनपिङले छिमेकी देशसँग मिलेर अघि बढ्ने घोषणा गरेका थिए । नेपाली भूभागलाई पश्चिमी मुलुकहरुले प्रयोग गरेको भन्दै नेपाल आएका कैयन प्रतिनिधि मण्डलले काठमाडौंका शासकहरुलाई सम्वेदनशील बन्न घच्घच्याइरहेका छन् ।
सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि नरेन्द्र मोदीले पनि छिमेक पहिलो भन्ने नीति अघि सारे । दक्षिण एसियाको लिडरस्टेट बन्न चाहेको भारतले आर्थिक र सैन्य बलमा आफू अझ अघि बढ्न सक्ने अपेक्षा गरिरहेको छ । अमेरिकाले इन्डो–प्यासिफिक र चीनले बीआरआई परियोजनालाई महत्व दिएर अघि बढाउँदा यसको दुरगामी प्रभाव नेपालमा समेत पर्ने देखिएको छ । आर्थिक र सैन्य दृष्टिले त्यति सुदृढ नभए पनि नेपालको भूराजनीतिक अवस्थाका कारण पश्चिमा राष्ट्रका साथै चीन र भारतले नेपाललाई महत्वका साथ हेरिरहेका छन् । तर चीनतिर ढल्किने कि भारततिर भन्ने प्रश्न मुर्खतापूर्ण हुन सक्छ । किनभने नेपालका निम्ति ती दुवै देशको आ–आफ्नै महत्व छ ।