डिप्रेसनबाट मुक्त नम्रताको ‘जायरा’
अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेका फिल्म प्रायः सफल नै हुने गरेका छन् । उनको अभिनय जीवन्त हुने गरेको बताइन्छ । बौद्धिक तथा शारीरिक सुन्दरताका हिसाबले पनि अब्बल मानिने नम्रता शान्त र भावुक स्वभावकी छिन् । बोल्ड डिसिजन गर्ने नम्रताको विशेषता कामप्रतिको निष्ठा र इमानदारिता हो । कर्मअनुसारको फल प्राप्त हुन्छ भन्नेमा विश्वास राख्ने नम्रता लामो समय डिप्रेसनमा परेकी थिइन् । उनी हाल डिप्रेसनबाट मुक्त भएको बताउँछिन् ।
‘सानो संसार’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नम्रता दोस्रो चलचित्र ‘मेरो एउटा साथी छ’ लाई सफलताको सिढी मान्छिन् । ‘सानो संसार’ बाट शुरु भएको नम्रताको फिल्म यात्रा ‘जाइरा’सम्म आइपुगेको छ । भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जाइरा’मा नम्रताको एक्सन र वोल्ड रुप देख्न सकिन्छ । हालै सार्वजनिक जायराको अफिसियल ट्रेलरमा नम्रताका साथै अनुपविक्रम शाही र प्रमोद अग्रहरिको मुख्य भूमिका रहेको छ ।
फिल्ममा नम्रता मार्सल आर्टकी खेलाडीको भूूमिकामा छिन् । उनी फिल्ममा एक्सन र ग्ल्यामर दुवै प्रस्तुत गरेकी छन् ।
त्यस्तै प्रमोद अग्रहरि फिल्ममा एकदमै भिन्न लुक्समा देखिएका छन् । नम्रतापछिका फिल्मको मुख्य आकर्षण उनै हुन् भन्दा फरक नपर्ला ।
एक्सनले भरिपूर्ण फिल्ममा प्रेम, यौन, बदला, आक्रोसलाई मुख्य रुपमा देखाइएको छ । फिल्ममा रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सृजना रेग्मी र सम्राट मगरको पनि मुख्य भूमिका रहेको छ ।
अभिनेत्री नम्रताले निर्माण गरेको सो फिल्मको निर्देशन आशुतोष राज श्रेष्ठले गरेका छन् । आशुतोषकै कथा रहेको चलचित्रमा आशुतोष र निरोज महर्जनको पटकथा छ । फिल्ममा लोकेस बज्राचार्यको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व र बाबु श्रेष्ठको छायांकन रहेको छ ।
फिल्म र नाटक दुवैमा पोख्त नम्रता फिल्ममा सिकेका कतिपय कुरा नाटकमा लागू गर्ने र नाटकमा सिकेका कुरा फिल्ममा प्रयोग गर्ने गरेको बताउँछिन् । फिल्मका लागि दुईवटै कुरामा सबल हुनुपर्ने उनी बताउँछिन् । उनी भन्छिन् – ‘एउटा कलाकारको रुपमा आफूले कथालाई न्याय दिन गर्नुपर्ने सम्पूर्ण तयारीहरु मैले गरेकी हुन्छु । निर्माताले मलाई अभिनय गरेवापत पारिश्रमिक दिनुभएको छ भने मैले पनि त उहाँहरुलाई अभिनयमार्फत केही दिन सक्नुपर्यो भन्ने मलाई लाग्छ ।’
सबैभन्दा महत्वपूर्ण कुरा फिल्म राम्रो हुनुपर्छ भन्ने लाग्ने उनी बताउँछिन् । फिल्मको सेन्टरमा नायिका छ वा नायक भन्ने कुरा अर्को पक्ष भएको बताउँदै उनी फिल्म महिला वा पुरुष केन्द्रितभन्दा पनि विषय केन्द्रित हुनुपर्ने बताउँछिन् । हरेक पात्रले आफ्नो भूमिका निर्वाह गरेको खण्डमा मात्र कथाप्रतिको न्याय हुने उनी बताउँछिन् ।
आफ्नै बिजनेस पनि गर्दै आएकी नम्रता फिल्म अभिनयसँगै निर्माणमा पनि लागेकी हुन् । फिल्म निर्माणबारे भन्छिन् “नो रिस्क नो गेम भन्छ नि त । फिल्म भनेको हाम्रो क्रियसन हो, जुन सबैलाई मन पर्छ भन्ने छैन । तर, राम्रो बन्नु चाहिँ प¥यो भन्ने हो । हामीले राम्रो बनाउने प्रयास गर्ने हो बाँकी कुरा हलमा लागिसकेपछि दर्शकको हातमा हुन्छ । रिस्क नलिई जीवनमा सफल हुन सकिदैन । हामीले रिस्क नलिए कसले लिने त ?”
हालसालै सगरमाथाको ६ हजार १ सय १९ मिटर अग्लो चुचुरो ‘लोबुचे इस्ट पिक’ आरोहण गरेकी नम्रता भन्छिन् “धेरै जना चढ्न नसकेर फर्किएको देख्दा म पनि नर्मस भएकी थिएँ । तर, मलाई जसरी भए पनि चढ्छु भन्ने थियो । रातिमा चढ्ने भएकाले मलाई अलिकति आँट आयो । तर, एउटा विन्दुमा पुगेपछि एकपटक मेरो खुट्टा चिप्लिएर पछाडिपट्टी हेर्न पुगेँ । खुट्टा काम्न थाल्यो र म १० मिनेट थचक्क त्यहीँ बसेँ । अब सक्दिनँ कि भन्ने लागेको थियो । तर, हार मानिन । चुचुरोमा पुग्दा उज्यालो भइसकेको थियो । डरसँग भाग्ने होइन त्यसको सामना गर्नुपर्छ भन्ने कुरा सिकेँ ।’
केही समय अघि डिप्रेसनमा परेकी नम्रता हाल ठिक भइसकेको बताउँछिन् । हाल डिप्रेसनको औषधि खान छोडेकी नम्रता अहिले मन शान्त रहेको बताउँछिन् । कामको सफलता र आत्मबलले डिप्रेसनबाट मुक्त भएको उनी स्वीकार्छि्रन् ।
डिप्रेसनको एउटा विन्दुमा पुग्दा आत्महत्याको कुरा मनमा खेलेको बताउँदै उनी भन्छिन् “मैले त्यो अवस्था त पार गरेँ । आफू बलियो भएर उभिने हो र मेरो यो अवस्था मेरै कारण ठिक हुन्छ, त्यसका लागि म तयार छु भनेर सोच्ने हो भने ठिक नहुने कुरै छैन ।”
पछिल्लो समय देशमा दिनप्रतिदिन महिला हिंसा, बलात्कारजस्ता घटनाहरु बढ्दै छन् । महिलावादको कुरा पनि उठिरहेको छ । कतिपय कुराहरु त पीडितबाहेक अरुलाई थाहा नै हुँदैन । यस्ता समस्याहरु हरेक ठाउँमा हुन्छन् । त्यसैले समस्या छ भनेर बस्नेमात्र होइन कि त्यसको समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनी बताउँछिन् ।