दुर्घटना दोहोरिन नदिऔं
सम्पादकीय
बिहीबार सर्लाहीबाट ४५ जना यात्रु बोकेर साँझ काठमाडौंको लागि गुडेको सृष्टि डिलक्स यातयातको ना ६ ख ७४६९ नम्वरको यात्रुबाहक बस शुक्रबार बिहान ३.३० बजे धादिङको सलाङघाटस्थित पृथ्वीराजमार्गबाट त्रिशली नदीमा खस्दा नौ जनाले ज्यान गुमाएका छन् भने २१ जना बेपत्ता भएका छन् । सर्लाहीबाट ४० जना मात्र यात्रु बोकेर गुडेको गाडीमा बिचमा ५ जना यात्रु चढेको अनुमान गरिएको छ । घाईतेहरुका अनुसार बिहानीपख निदाईरहेको अवस्थामा बस दुर्घटना परेको उनीहरुले पत्तै पाएनन् । एक्कासी बस नदीमा खसेर डुबेपछि मात्र यात्रुहरुले पत्तो पाएका थिए । गर्मी मौसमका कारण गाडीको सिसा खोलेर निदाएका यात्रुहरु उछिटिट्एर नदीमा डुवेपछि मात्र व्यूँझिएका थिए । एक्ककासी नदीमा बस डुवेपछि अत्तालिएका यात्रुहरुले पानी भित्रबाट कराउन समेत पाएनन् । कतिपय यात्रु पानीमा तैरिएको र कोही गाडीभित्रै डुबेको अवस्थामा प्रहरीले १६ जनाको उद्धार गरेको थियो । घाइतेहरुको राजधानीका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । सवारी दुर्घटनामा परि मृत्यु भएका र घाइतेहरुको कारण अहिले सर्लाही जिल्ला शोकमा डेबेको छ । पृथ्वी राजमार्गमा भएको यो कहाली लाग्दो पछिल्लो सवारी दुर्घटनाले पुनः मुलुकभरीको ध्यानाकर्षण गराएको छ ।
यद्यपि यस्ता सवारी दुघर्टना पृथ्वी राजमार्गमा मात्र होइन अन्यत्र पनि भइरहेका छन् र भैरहने हुनाले यो कुनै नौलो र ठुलो घटना भने होइन । तर दुर्घटना रोक्न राज्य र यातायात व्यवसायीले ध्यान पनि दिनु आवश्यक छ । सडक दुर्घटना नहोस भन्ने कामना हामी सबैको छ । त्यसको लागि अपनाउनु पर्ने सावधानीतर्फ सरोकारवाला निकायले खेल्नुपर्ने भूमिका प्रभावकारी ढंगले पूरा नगरिदिदा यस्ता दुर्घटना बढ्दै गएका छन् । र, हजारौं यात्रुले अनाहकमा ज्यान समेत गुमाउने गरेका छन् । प्रायगरी मुग्लिनदेखि नौबिसेसम्मा यस्ता दुर्घटना बर्षौदेखि हँुदै आइरहेका छन् । दुर्घटनाका कारण प्रायः चालकको लापरवाहीले हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । चालकलाई मात्र दोष दिएर अरु निकाय पानीमाथिको ओभानो बनेकै कारण यस्ता दुर्घटना दोहोरिने कारण बन्दै आएपनि सम्वन्धित निकायले खासै चासो लिएको पाइदैन । शुक्रबार भएको यो घटना पनि चालक निदाएको कारण भएको प्रहरीको अनुमान छ । यसअघि दासढुंगादेखि मुग्लिनसम्म सडकको दुराअवस्था सडक दुर्घनाको कारण बन्दै आएको थियो । यो खण्डको सडकको अवस्था अहिले निक्कै राम्रो छ । यहाँ हुने दुर्घटनामा कमी समेत भएको छ । खासगरी सडक कमजोरी र चालकको लापार्वाहीलाई नै दुर्घटनाको कारण बनिरहेको पाइन्छ । के चालकलाई मात्र दोष देखाएर अरु सरोकारवाला निकाय उम्किन मिल्छ ? त बहस हुन जरुरी छ ।
सवारी दुर्घटना न्युनिककरण लागि सरकारले गर्नुपर्ने आवश्यक कार्यहरु, चालकले अपनाउनुपर्ने सावधानी र सुरक्षा निकायले अवलम्वन गनुपर्ने भूमिकाप्रति प्रश्न उठिररहेको छ । किनभने सवारी साधन लामो यात्राका लागि गुड्न योग्य छन् कि छैन त्यसको अनुगमन हुन सकिरेको छैन । बर्षौ पुराना गाडीहरु पनि सडकमा बिना रोकटोक गुडिरहेका छन् । लामो यात्राका लागि दुईजना चालकको अनिवार्य व्यवस्था हुनुपर्ने भनिएपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन र सरकारले पनि त्यसको अनुगमन गरेको छैन । सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न नसक्दा नै यस्ता घटना दोहोरिने छन् । यात्रुलाई सुरक्षित यात्रा गराउन सरकार, यातायात व्यवसायी र ट्राफिक प्रहरीले विशेष ध्यान दिन जरुरी छ । ताकि यस्तो घटना अब नदोहोरिन् ।