काँग्रेसको सक्रियता महिला हिंसा र कानुनी साक्षरतामा
चितवन÷अहिले महिलाहरू कानुनी रूपमा बलिया हुँदै गएका छन् तर त्यसबारे चेतना नहुँदा आफ्नो अधिकारको सदुपयोग गर्न कत्तिको सफल छन् त ? यी र यस्तै कुराको जानकारी आदान–प्रदान गर्न आयोजित महिला हिंसा तथा महिला कानुनी साक्षरता कार्यक्रम शनिवार यहाँ सम्पन्न भएको छ ।
नेपाली काँग्रेस भरतपुर साविक १६ नं. वडा समितिले आयोजना गरेको उक्त कार्यक्रममा डेमोक्रयाटिक लयर्स एशोसियशन चितवनका अध्यक्षसमेत रहेका अधिवक्ता विष्णु अर्यालले अहिलेको कानुनले महिलालाई प्रशस्त अधिकार दिएको व्याख्या गर्नुभयो ।
सम्पत्तिको हकदावी गर्नुपर्र्दा विवाह दर्ता छैन भनेर नडराउनुस्, घरेलु हिंसामा पर्नुभएको छ भने तपाईंले न्याय पाउनुहुन्छ, बाहिरतिर हिंड्दा गाडीमा कसैले गलत नियत राखेको व्यवहार देखिए न्याय पाउनु हुन्छ, सम्बन्ध विच्छेदमा तपाईंहरू स्वतन्त्रजस्तै हुनुहुन्छ, सामाजिक रूपमा अपमानित महसुस गरे न्याय पाउनुहुन्छ, अंशवण्डा पनि अधिकारको विषय बनेको छ अनि वंश अधिकार सुरक्षित भएको छ, सयभन्दा बढी सहभागी महिलालाई सम्बोधन गर्दै अधिवक्ता अर्यालले यी कुरा सुनाउनु भयो ।
ठूलो गढी नजिकैको मन्दिर परिसरमा भएको कार्यक्रममा उपस्थित महिलाले बहुबिबाह, ज्येष्ठ नागरिक, सम्बन्ध विच्छेद हुँदा छोराछोरीको सम्पत्तिको कुरा कोट्टयाए, बुढाले बुढीलाई पाल्ने जिम्मेवारी हुने कि नहुने पनि सोधेर मौकामा चौका हाने । कानुन व्यवसायी अर्यालले ती सबै प्रश्नको चित्तबुझ्दो जवाफ दिने प्रयास गर्दै भन्नुभयो,– केही कुरा बुझ्न बाँकी भए वा आर्थिक रूपमा पीडित भए मेरो निःशुल्क सहयोग रहनेछ, अहिले समय अभाव देखियो, तपाईंहरू नै हतारिएको पाएँ, जे होस् पाएको अधिकारको सदुपयोग गर्नोस्, दुरुपयोग नगर्नोस् अहिलेलाई मेरो निश्कर्ष नै यहीँ हो भन्ने बुझ्नुस् ।
कानुनी सहायताका लागि सामाजिक अभियन्ता मीना खरेलले ४ किसिमका महिला हिंसाको व्याख्या गर्दै भन्नुभयो,–महिलाहरू घरमा १८ घण्टा काममा खटिएर पनि आपूmलाई बेरोजगार देख्नु वा बेरोजगार पाउनु आर्थिक हिंसा हो । शारीरिक हिंसा अन्तर्गत कुटाई पिटाइ सहन बाध्य हुनु भन्न सकिन्छ ।
त्यसैगरी मानसिक हिंसा अन्तर्गत मानसिक तनाव व्यहोर्न बाध्य पारिनुलाई बुझ्नु पर्छ । यौनजन्य हिंसाले नेपालमा डरलाग्दो रूप लिएको छ, यी सबै प्रकारका हिंसामा महिलालाई कानुनी न्याय पाउने अधिकार भए पनि साक्षरताको अभावमा महिलाले आफ्नो अधिकारको उपयोग गर्न सकेका छैनन् । त्यस्तो अवस्थालाई न्यून गर्न यस्ता कार्यक्रमले महत्व राख्छन् तसर्थ आयोजकलाई धन्यवाद दिन चाहन्छु अभियन्ता खरेलले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले २०७० सालको चुनावमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई जिताउनुस् अनि हामी संविधान बनाउन सफल हुन्छौं भने अनुसार काँग्रेसको नेतृत्वमा संविधान बनेको स्मरण गराउँदै भन्नुभयो,–नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानले महिला अधिकारको सुनिश्चितता बढाएको छ । ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।
महिला अधिकारको कुरा उठाउने पहिलो संगठन पनि नेपाली काँग्रेसको भगिनी संस्था नेपाल महिला संघ हो । नेता श्रेष्ठले मुलुक नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान अन्तर्गत चलेकाले काँग्रेसका व्यक्ति हारे पनि काँग्रेसले जितेको आसय प्रकट गर्नुभयो ।
क्षेत्रीय कोषाध्यक्ष सरस्वती पाण्डेले महिलाहरूले पाएको अधिकारको दुरुपयोग नगर्न र कर्तव्य पनि पालना गर्न बिर्सन नहुने बताउनु भयो । अहिले पुरुष हिंसा पनि बढेको अवस्था चित्रित गर्दै महिला हिंसाको बहसमा पुरुष हिंसा पनि चर्चा बाहिर रहन नसक्ने उहाँको धारणा थियो ।
ट्रेड युनियन काँग्रेस चितवनका सहसंयोजक सूर्य बस्नेतका अनुसार साविक १६ का सभापति रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रीय सभापति अमृत बानियाले महिलाहरूले आफ्नो अधिकारको विषयमा चासो राख्दै जान्ने सुन्नेसँग नजानेका कुरा सोध्नुपर्ने सुझाव दिनुभयो ।
साविक १७ का सभापति यमबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण आयोजक समितिका सचिव कुलायनन्द अधिकारीले गर्नुभएको थियो ।