एलआईसीको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १७औं वार्षिक साधारण सभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले आ.ब. २०७४÷०७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७०% लाभांश पारित गरेको छ । ३४.४६ % वोनस शेयर र ३५.५४% नगद लाभांश दिने बताइएको छ ।
आ.ब. २०७४÷०७५ मा कम्पनीले १,३३,३०९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. २८८ करोड ८९ लाख संकलन गर्न सफल भएको थियो । २०७५ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमालेखको संख्या ७,३४,६०८ र कूल जीवन बीमा कोषमा रु. ४,२२३.३४ करोड संकलन भएको सहर्ष जानकारी गराइन्छ । आ.ब. २०७४÷०७५ मा कम्पनीको कूल जीवन बीमा कोषमा २५.८५%, प्रथम बीमाशूल्क आर्जनमा ९.७०%, लगानीतर्फ २१.७६% र लगानीबाट प्राप्त आम्दानीमा ५५.६७% को बृद्धिदर रहेको थियो ।
कम्पनीका अध्यक्ष एम.आर. कुमारले सवै शेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गरेका छन् । उनलले एलआईसी नेपालको १८औं (आ.ब. २०७५÷७६) वार्षिक साधारणसभा पनि यथासक्य चाँडो सम्पन्न गरिने वताउँदै आ.ब. २०७५÷०७६ मा पनि कम्पनीले प्रथम बीमाशुल्क आर्जनमा ४६.३६% को बृद्धिदरका साथ कूल वीमाशुल्क आर्जन रु. १,३४१.१७ करोड जम्मा गर्न सफल भएको समेत जानकारी गराए ।
जीवन बीमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष कुमारले बीमकलाई सदैव एक उदाहरणीय जीवन बीमा कम्पनी कायम राखिरहने प्रतिबद्धता जनाए । सभामा संचालक समितिका अन्य संचालकहरु अशोक अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र एलपी दासलगायतको उपस्थिति रहेको संस्थाका सचिव विनोदकुमार भुजेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।