जीवन

जीवन नाटक हो
म अभिनय गरिदिन्छु
कलाकार भएर ।

जीवन यात्रा हो
म यात्री बनिदिन्छु
अथक यात्रा गरेर ।

जीवन पतिंगर हो
म खरानी बनिदिन्छु
आफैलाई जलाएर ।

जीवन दुःखैदुःखको पर्खाल पनि हो
म गल्र्यामगुर्लुम ढलिदिन्छु
आफैलाई सिध्याएर ।

जीवन शीत र तुषारो हो,
म हिउँद बनिदिन्छु
शून्य डिग्रीको तापक्रम बनेर ।

जीवन विछोड हो
तर म मिलन बनिदिन्छु
दुई नदीको संगम बनेर ।

जीवन अनन्त आकाश हो
म व्यापक धर्ती बनिदिन्छु
देश–देशान्तरसम्म फैलिएर ।

जीवन चोखो प्रेम हो
म प्रेमिका बनिदिन्छु
कहिल्यै नभुल्ने माया दिएर ।

जीवन सौभाग्य हो
म दुलही बनि दिन्छु
सारा अतीत भुलाएर ।

जीवन काँडैकाँडा पनि हो
म सुन्दर फूल बनिदिन्छु
यत्रतत्र सुवास फैल्याएर ।

जीवन ईश्वर हो
म बरदान बनिदिन्छु
तिम्रो मनोकामना पुर्याएर ।

जीवन आफैमा एउटा उत्सव
म साथी बनिदिन्छु
आफैलाई मैनबत्तीझैँ जलाएर ।