जनताका समस्यासँग विमुख प्रतिपक्षी कांग्रेस

काठमाडौं । संसदीय परिपाटी भएका मुलुकहरुमा सरकार जस्तै प्रतिपक्ष पनि अत्यन्त जिम्मेवार हुनुपर्ने परम्परा छ । तर नेपालमा सत्तापक्षलाई ढालेर सरकारमा जान हतारिने प्रवृत्ति भएका कारण प्रतिपक्षको पनि अवमूल्यन हुँदै गएको देखिएको छ ।
कांग्रेसले राजपासँग मिलेर झण्डै एक महिना संसद अवरुद्ध ग¥यो । सर्लाहीमा भएको घटनामा संसदीय छानविन समिति गठन गर्न माग राखेर ती दुई दलले अवरोध गरेका थिए । संसदीय विशेष समिति गठन गर्ने सहमति भएपछि गतिरोध अन्त्य भएको हो । नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा लक्ष्मणलाल कर्ण, देव गुरुङ, विन्दा पाण्डे, पुष्पा भुषाल, मिनेन्द्र रिजाल र उमाशंकर अरगरियाको छानविन समिति बनाइएको छ ।
संसदीय प्रणालीमा प्रतिपक्षले सरकारलाई दवाव दिने थुप्रै मार्गहरु छन् । संसद, सडक र सञ्चारमाध्यम मध्ये सवैभन्दा उपयुक्त भनेको संसदीय प्रणालीलाई अवरोध नगरी अरु विकल्पको खोजी गर्नु नै उत्तम मानिन्छ । तर कांग्रेसले राजपाको मागलाई बोकेर हिडें पनि जनताका मागलाई वेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ । राजपासँग मिलेर आन्दोलन गर्ने पक्षमा कांग्रेसका वरिष्ठ नेताहरु नै छैनन् ।
संसदीय प्रणालीमा विश्वास गर्ने नेपालको सवैभन्दा पुरानो राजनीतिक पार्टीले सर्लाहीमा भएको ‘इन्काउन्टर’ र अर्को प्रदर्शनका क्रममा मृत्यु भएका एक व्यक्तिलाई जनसरोकारको विषय बनाएपनि लाखौ जनतालाई प्रभावित बनाउने महंगी, भ्रष्टाचार, ढिलासुस्ती, सीमा अतिक्रमण, सार्वजनिक जग्गाको अतिक्रमणलगायतका विषयमा भने मौन देखिनुलाई धेरैले कांग्रेसको कमजोरी नै ठानेका छन् ।
तीन तहको चुनावमा नराम्रोसँग पराजय भोगेपनि कांग्रेसले आफूबाट के भुलचुक भइरहेको छ भन्ने विश्लेषण सही ढंगले गरेको पाइदैन । त्यही कारणले अहिले पनि पार्टी र जनताबीचको दुरी बढिरहेकै देखिन्छ । महंगी, भ्रष्टाचार, ढिलासुस्ती, सिमानामा हुने अतिक्रमण, वेरोजगारी र जनताले दिनहुँ भोग्नु परेका पीडाजस्ता विषयमा कांग्रेस प्रायः मौन बस्ने गरेको छ ।
स–साना विषयलाई मुद्दा बनाएर केही दिन उफ्रिने र तुरुन्त थन्किने प्रवृत्तिले सर्वसाधारणमा कांग्रेस भनेको जनताका समस्याबाट विमुख हुँदै गएको पार्टी हो कि भन्ने भ्रम पर्न थालेको छ । त्याग र तपस्याले खारिएका नेताहरु बाहिरिदै गएका छन् भने साठीवर्ष नाघेका वृद्धहरुको भीड बढ्दै जाँदा कांग्रेस राजनीतिका नाममा समय कटाउने क्लव जस्तो बनेको छ ।
वि.सं. २००३ सालदेखि थुपै्र आरोह अवरोह भोग्दै आएका कांग्रेसले आफ्नो भविष्यको बारेमा भन्दा पनि पार्टीका केही नेताले व्यक्तिगत सुख सुविधा र प्रभावका लागि काम गरेको देखिन्छ । सैद्धान्तिक वहस त्यागेर मौसमी राग अलाप्ने प्रवृत्ति बढ्दा नेपाली कांग्रेस आदर्श, चिन्तन, दर्शन, सिद्धान्त र राजनीतिको मुल चुरोबाट अलग्गिदै गएको छ । यसले गर्दा वर्तमान सरकारले जतिसुकै भुल गरेपनि प्रतिपक्षले तत्काल प्रभाव पार्न सक्ने अवस्था नरहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।