साहित्य साधक दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति
काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा विहीबार निधन भएको छ । निमोनियाबाट पीडित उहाँलाई सुमेरु अस्पतालमा भर्ना गरी स्वास्थ्यमा सुधार आएपछि घर लगिएको थियो । उहाँको कमलपोखरीस्थित हिमाल हस्पिटलमा निधन भएको हो । उहाँको कालिकास्थानस्थित घरमा श्रद्धाञ्जलीका लागि केही बेर राखिएको थियो ।
निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत साहित्यकार, पत्रकार, नेता तथा सर्वसाधारणहरु पनि पुगेका थिए ।
बिहीबार नै पशुपतिस्थित आर्यघाटमा राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले उहाँलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व.दीक्षितलाई उहाँका छोरा विनोदले दागबत्ती दिनुभएको थियो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत आर्यघाट पुगेका थिए ।
लक्ष्मणमणि आचार्य दीक्षित र विष्णुकुमारी दीक्षितबाट वि.सं. १९७९ फागुन ६ गते गैरीधारा, काठमाडौंमा जन्मनुभएका दीक्षित खरो पत्रकार र साहित्यकार हुनुहुन्थ्यो । २०१४ सालदेखि समीक्षा साप्ताहिक पत्रिकाबाट आलोचनात्मक पत्रकारितामा होमिनु भएका दीक्षित २०३९ सालमा माधवी ग्रन्थका लागि मदन पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।
माधवी (उपन्यास, २०३९), चरैवेति (निबन्ध संग्रह, २०४४),त्यो युग (निबन्ध संग्रह, २०४७), हाम्रा ती दिन (निबन्ध, २०२९), म रुँदै बिर्सन्छु (संस्मरण,२०२७), बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)आदि गरी उहाँका दर्जनौँ चर्चित साहित्यिक कृतिहरू प्रकाशित छन् ।
नेपाली साहित्य, पूर्वीय दर्शन, पत्रकारिता र राजनीतिक क्षेत्रका अग्रज दीक्षितले २००७ सालअघिको जहानियाँ राणाशासन विरोधी आन्दोलन तथा पञ्चायत विरोधी प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नु भएको थियो ।
अध्ययनशील र माक्र्सवादी विचारयुक्त व्यक्तिका रुपमा परिचित दीक्षितलाई इतिहास, संस्कृति र विज्ञान सबैलाई समेटेर लेख्न सक्ने पुरानो पुस्ताको एक हस्तीका रुपमा लिइन्थ्यो ।
नेपाल प्रज्ञा –प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएका दीक्षित राजा महेन्द्र र वीरेन्द्र, नेताहरू विपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, विश्वबन्धु थापा, डा तुल्सी गिरी आदिसँगका संवाद र उठबसलाई दीक्षितले अन्तर्वार्ता र लेखहरु मार्फत बेलाबेलामा स्मरण गर्नुहुन्थ्यो ।
यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्य साधक दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । उहाँले शोकसन्देश जारी गरी दःुखद घडीमा उहाँका योगदानको स्मरणसहित स्व. दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी ओली, सत्तारुढ दल नेकपा, प्रमुख विपक्षी दल नेपाली कांग्रेसलगायतका पार्टीहरुले पनि विज्ञप्ति प्रकाशित गर्दै स्व. दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
यसैवीच प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति प्रकाशित गरेर काउन्सिलका पूर्व सल्लाहकार दीक्षितको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । दीक्षित २०४८ सालमा प्रेस काउन्सिल नेपालको सल्लाहकार समिति सदस्य हुनुहुन्थ्यो ।