राजपा र समाजवादीको एकता, खोई कता ?
काठमाडौं । राजपा र समाजवादी पार्टीबीच एकताको चर्चा भइरहेपनि त्यसले सकारात्मक बाटो लिन सकेको देखिदैन । अनौपचारिक भेटघाटमा केन्द्रित रहेपनि नेताहरुले स्पष्ट मार्गचित्र बनाउन नसक्दा एकता प्रक्रिया अल्मलिएको मात्र छैन एकता खोई कता भएको छ ।
समाजवादी पार्टीले सरकारबाट बाहिरिने विषयलाई एउटा विकल्पको रुपमा हेरेको छ तर राजपाको तर्क छ एकता गर्ने हो भने समजावादी पार्टीले सरकार परित्याग गर्नैपर्छ । यही विषयमा उपेन्द्र यादवले निर्णय गर्न सकिरहेका छैनन् ।
यसैगरी एकीकृत पार्टीको नेतृत्वको व्यवस्थापन गर्ने विषय, संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री पद्धती स्वीकार गर्ने कि प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने विषयमा पनि विवाद भएको छ ।
निर्वाचन प्रणाली पूर्ण समानुपातिक गर्ने वा मिश्रित बनाउने भन्नेमा पनि मत भिन्नता रहेको बताइएको छ । राजपा अध्यक्ष मण्डलका ६ जना र समाजवादी पार्टीका दुई अध्यक्षलाई कस्तो पद दिने भन्ने कुरा मिलेको छैन ।
छलफलको श्रृखंला चलिरहे पनि पार्टीले लिने लाइन, कार्यदिशा र सिद्धान्तका बारेमा मतभिन्नता भएकाले दक्षिणपन्थी कित्तामा उभिएका ती दुई पार्टीबीच केही दिनमै एकता टुंगिन्छ भन्ने स्पष्ट आधार देखिदैन ।
राजपाभित्रै पार्टी एकताबारे मतभिन्नता देखिएको छ । राजकिशोर यादव र अनिल झा एकता गर्ने विषयको विपक्षमा छन् । यस्तै तल्लो तहका कार्यकर्तामा पनि अन्यौल देखिँदा एकता भई हालेपनि दुई पार्टीका नेता, कार्यकर्ताबीच एकताको लेप लाग्छ भन्ने कुरामा आशंका देखिएको हो ।