भिडियोप्रति मन्त्रीकै आशंका/पक्राउप्रति महासंघको आपत्ति

पुडासैनी आत्महत्या (?) प्रकरण

काठमाडौं । साउन २० गते चितवनको होटल कंगारुमा मृत फेला परेका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मोवाइलमा भेटिएको भिडियोमा न्यूज २४ मा प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने लगायतले आत्महत्या गर्न बाध्य बनाएको भनिएको छ । तर सो भिडियोप्रति धेरैले आशंका व्यक्त गरेका छन् । सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा समेत भिडियो पुडासैनी आफैले खिचेका हुन् कि अन्य कसैले दवाव दिएर बोल्न लगाएर खिचेको हो भन्ने प्रश्न उठाएका छन् । प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको जनाएको छ ।
पत्रकार लामिछानेले दवाव दिएकै थिए भने पनि त्यसको उपचार गर्ने निकाय र विधि हुँदाहुँदै उनले किन आत्महत्या (?) रोजे भन्ने प्रश्न पनि उठेका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि सो भिडियो शंकास्पद रहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले आफूले पनि सो भिडियो हेरेको र त्यो भिडियो आफैँमा विरोधाभाष रहेको, एक आपसमा बाझिएको बताएका छन् ।
प्रहरीले अनुसन्धान गरिरहेकै बेला भिडियो इडिट गरेर सार्वजनिक गरिएपछि धेरैले सो भिडियोप्रति विभिन्न टिकाटिप्पणी गरेका छन् । मन्त्री ज्ञवालीले पनि कसैले बदमासी गरेको पाइए कारबाही गरिने बताएका छन् । मन्त्री ज्ञवालीले कानुन भन्दा माथि कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आरोप लागेकाले सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए । उनी निर्दोष भए छुट्ने र दोषी ठहरिए कानुन अनुसार कारबाही हुने बताए ।
पत्रकार पुडासैनीले आत्महत्या गर्न वाध्य बनाएको भन्दै भिडियो मार्फत आरोप लगाएका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई बिहीबार नियन्त्रणमा लिएर चितवन पुर्याइएको छ ।
चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट दुवै जनालाई पक्राउ गरेको थियो ।
पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले बताए । पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका छन् ।
पत्रकार पुडासैनी माउन्टेन टेलिभिजनमा काम गर्नुअघि ‘सिधा कुरा जनतासँग’ मा काम गर्थे । सो कार्यक्रम छाडेपछि लामिछानेबाट आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको पुडासैनीले भनेका छन् ।
लामिछानेले भने आफ्नो कुनै संलग्नता नरहेको र प्रहरीले अनुसन्धान गर्दा दोषी भेटिए आफू कारबाहीको भागिदार हुन तयार रहेको फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
सिधा कुरा जनतामार्फत चर्चित भएका रवि लामिछाने पक्राउ परेपछि उनका हजारौ समर्थकहरुले फसाउने षडयन्त्र भएको भन्दै सामाजिक सञ्जालमा मात्र होइन, सडकमै आक्रोश पोखेका छन् । शुक्रबार र शनिबार लामिछानेका समर्थक र प्रहरीबीच झडप समेत भएको छ ।
लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको थियो ।
यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।
लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै अर्को प्रदर्शन पनि गरेका छन् । पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा ‘स्वतन्त्र युवा समूह’ले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
लामिछानेसहित तीन जनालाई चितवन प्रहरीले शुक्रबार जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनसम्म हिरासतमा राख्ने म्याद लिएको छ । आम सर्वसाधारणहरुले निर्दोष फस्न नहुने र दोषी जो भएपनि कानूनको दायरामा ल्याउनै पर्ने बताएका छन् ।
यसैवीच नेपाल पत्रकार महासंघले विज्ञप्ति प्रकाशित गरी सञ्चारमाध्यमको संवेदनशीलता ख्याल नगरी प्रहरीले जबर्जस्ती रूपमा न्युज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकारलाई पक्राउ र दुव्र्यवहार गरेको प्रति आपत्ति जनाएको छ ।
प्रहरीले आफ्नो सीमा, मर्यादा र अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनमा बलजफ्ती प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेको महासंघद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । बिनाजानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुव्र्यवहार आफैंमा दुःखद् एवं निन्दनीय भएको टिप्पणी गर्दै महासंघले भनेको छ ‘प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपका साथै संविधानविपरीत भएको महासंघ ठान्दछ ।’
महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार तथा सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेप बन्द गर्न सरकारसँग माग पनि गरेको छ । पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा कानुनी रूपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गर्नुपर्ने महासंघको धारणा पनि विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।
त्यस्तै महासंघले पत्रकार खेम थपलियाको रिहाइको माग गरेको छ । महासंघका सदस्य, लेखक तथा साहित्यकार थपलिया साउन २५ मा राजधानीको बागबजारस्थित जलजला मासिकको कार्यालयबाट समातिएका थिए । थपलियालाई हालसम्म रिहा नगरिएकामा महासंघले आपत्ति जनाएको छ । थपलियालाई तत्काल रिहा गरी उनको कार्यालयबाट लगिएका कम्प्युटर, पुस्तकलगायत सामग्रीसमेत फिर्ता गर्न महासंघको माग छ ।
पुडासैनीले भिडियोमा भनेका छन् –
म सेक्युरिटी अफिस चलाएर बसिरहेको बेला युवराज कँडेलसँग केही वर्ष अगाडि भेट भयो । उनले मलाई न्युज२४ मा ल्याउन कोसिस गरे । त्यतिबेला मैले जान्नँ भनें । केही भिडियोहरु खिचेर ल्याएर दिएँ । त्यसपछि रवि लामिछाने, दीपक बोहोरा भएर मलाई काठमाडौं तान्न कोशिस गरे । त्यतिबेला मेरो सेक्युरिटी कम्पनी र कन्सल्टेन्सी थियो । मैले मेरो व्यापार छ । महिनाको एक–डेढ लाख रुपैयाँ कमाइरहेको छु भनें । अस्वीकार गरें । तर उनीहरुले अति प्रेसर गरेपछि मैले सोचें । कामै हो, गरौं भन्ने लाग्यो ।
तर मैले फूलटाइम गर्न सक्दिनँ, मेरो व्यापार छ भनें । उनीहरुले पार्टटाइम गर न त भने । सुरुमा मलाई मासिक १५ हजार रुपैयाँ दिएका थिए । मैले ठिकै छ भनें, काम गर्न थालें । त्यसपछि मलाई तिम्रो सबै अफिस छोड, यहाँ पूर्णकालीन भएर काम गर्नुपर्छ भने । दवाब दिए । उनीहरुले भने बमोजिम मैले आफ्नो सबै व्यापार छोडें । मेरो कमाउने उपाय सिद्धियो । सिद्धार्थ बैंकबाट ऋण लिएको थिएँ । त्यो बुझाउन अहिले पनि बाँकी छ । त्यो कसरी तिर्ने भनेर सोच्दै जाँदा म डिप्रेसनमा गइसकेको थिएँ । यो त्यही ऋणको कारणले हो ।
सम्झना (श्रीमती) म गलत थिइनँ । रवि दाई र दीपक दाईले मलाई अति तनाब दिए । उनीहरुले कति दुःख दिए भनेर म सोचेर पनि सोच्न सक्दिनँ । दीपक दाईले त प्याट्ट र पुट्ट बनाउँथे अफिसमा । कपडा समाएर तान्थे । घोक्र्याउँथे । नानाथरि भन्थे । त्यो कसरी बिर्सिने ? उनीहरुमा ‘सिधाकुरा’ को दम्भ धेरै थियो । कतिलाई बिना कारण दोष लगाएर न्युज बनाउँथे । मलाई पनि त्यसै गरी काम गर्न भनिन्थ्यो । जोसँग रिस उठ्यो त्यसलाई सिध्याउँथे । व्यक्तिगत रिसइबी टिभी कार्यक्रममा ल्याएर साँध्थे ।
पछि–पछि गएर मेरो तलब बढाइ दिन्छु, बढाइ दिन्छु भनिरहन्थे । त्यसपछि उनीहरुले मेरो तलब जम्मा १८ हजार पु¥याए । काठमाडौंको बसाइ, खर्च बाहेक मेरो बैंकको किस्ता महिनाको १८ हजार ५ सय रुपैयाँ थियो । मैले कहाँबाट ल्याएर तिर्ने ? मैले ऋण लिन थालें । दिन रात नभनी काम गर्नुपर्ने हुन्थ्यो । यो कुराले मलाई सधैँ तनाब बढाउँथ्यो ।
उता मलाई जहिले पनि यातना दिन्थे । तेरो जग्गा लिलामी हुन्छ भन्थे । ऋण गरेर जसोतसो किस्ता तिर्थें । मैले तलब बढाउन धेरै भनें । न मलाई निक्लन दिए न मेरो तलब बढाइदिए । मलाई अत्याधिक यातना हुन थाल्यो । रवि दाइले अति धेरै काम लगाउँथे । रात दिन केही नभनी काम लगाए । अति दुःख गरें । तर तलब कहिलै बढेन । एउटा थोत्रो बाइक दिएका थिए । महिनाको ४ हजार ५ हजार बाइकमा खर्च हुन्थ्यो । अन्तिम दुई महिनामा मेरो तलब बढ्यो । १९ हजार ५ सय पुगेको थियो ।
साढे १९ हजार रुपैयाँले मैले के गर्न सक्थें ? कोठाको भाडा तिर्नुपथ्र्यो । मैले पेट पाल्नु पथ्र्यो । बाइक पाल्न पथ्र्यो । यताउता जाँदा खर्च हुन्थ्यो । त्यसपछि मैले न्युज२४ छोड्ने निर्णय गरें । धेरै पटक नछोड–नछोड भने । छोडिस् भने तँलाई हामी सिध्याई दिन्छौं भनेर पटक पटक धम्की दिए । युवराज कँडेलले त कतिसम्म गथ्र्यो भने मलाई छुट्टै कम्प्युटर दिएको थिएन । बस्ने ठाउँ हुँदैन्थ्यो । म चित्त बुझाएकै थिएँ । बाहिरबाट आएका आगन्तुक बसेजसरी बस्थें । रिर्पोटिङ हिड्थेँ । युवराजको कम्प्युटरमा मेरो रिर्पोटहरु मोबाइलका भिडियो त्यहाँ कपी गर्न पथ्र्याे । युवराजले लक लगाइ दिन्थ्यो । कपि गर्न दिँदैन्थ्यो । त्यस्तो अवस्थामा बेलुका म रिपोर्ट बनाउन सक्दैनथें । माथि एडिटिङ कक्षमा गएर कपी गर्थें । कति गाली खान्थें । त्यसपछि अति पीडा हुन थाल्यो । लाग्यो अब मैले न्युज२४ छाडनै पर्छ । मैले छोड्छु भनें । युवराज र दीपक दाइले यहाँ नछोड बरु अष्ट्रेलिया जाने एउटी केटी मिलाइदिन्छु भने ।
सोचें ओहो, अष्ट्रेलिया जान पाएँ भने त के के न हुन्छ । ती युवतीसँग सम्पर्क भयो । युवराजले ती युवतीसँग भेटाइदिए । यही केटी हो, फेसबुकमा एड गर भने । मैले एड गरें । हाम्रो कुरा हुन थाल्यो । स्टोरी सुरु हुनथाल्यो । भेट हुन थाल्यो । सबै थोक हुन थाल्यो । हुँदाहुँदै एक कान दुइकान भयो । हामी नजिक भयौं । मैले उसलाई धेरै कुरामा सहयोग गरें । उसलाई क्लास जानु पथ्र्यो बिहान । बिएनको तयारी कक्षा लिन । पुतलीसडक पु¥याइदिन्थें । अनि एउटा अस्पतालमा जागिर लाइदिएँ । हरेक स–सानो कामहरु मलाई लाउँथी । बैंकको खाता खोल्नेदेखि हरेक काममा सहयोग गर्दिन्थें ।
पछिल्लो समय उसले मलाई हेप्न थाली । तँ तँ म म गर्दै खातेजस्ता शब्द प्रयोग गर्न थालेपछि म टाढिन थालें । त्योभन्दा पहिले मैले न्युज२४ जसरी पनि छोड्नु पर्छ भन्ने निर्णय गरें । छोडें पनि । छोडेर म माउन्टेन टेलिभिजन ज्वाइन गरें ।
म अर्को प्रतिस्पर्धी टेलिभजिनमा जाने बित्तिकै मलाई युवराजले तँ अब फसिस भन्यो । मैले ठिकै छ, म फसें भने फसें भन्ने कुरा गरें । नभन्दै उनीहरुको योजना बनिसकेको रहेछ । युवराज र रवि दाई मिलेर मलाई फसाउने योजना बनाएका रहेछन् । मलाई फसाउँदैछन् भनेर साथीहरुबाट थाहा पाएँ । सबै साथीहरुले सालिक तँलाई फसाउँदै छन् । अब के गर्छस् भनेर सोधे । त्यसपछि म यो निर्णयमा पुगेको हुँ ।
मलाई माफ गर्देऊ सम्झना । करोडौंको सम्पत्ति छ, मैले जोडेको । त्यसमा तिम्रो सहयोग छ । मैले धेरै मिहिनेत गरेको थिएँ । सेक्युरिटी कम्पनी हुँदा रात भरिभरि काम गरेको थिएँ । रवि लामिछाने तिमिलाई एकदिन पाप लाग्नेछ । तिमी जस्तो अधर्मी यो देशमा कोही छैन । दुनियाँलाई थर्काएका छौ, लुटेका छौ । कतिसँग करोडौं रूपैयाँ घूस लिएका छौ । मलाई भनिस् भने मार्दिन्छु भन्थ्यो । रवि लामिछाने तिमीलाई एकदिन पोल्नेछ, त्यो पैसाले । यति पोल्छ नि त्यसले । मलाई पहिला १८ हजार दिएर तिमी करोडौं कमाउँथ्यो । तिमिलाई त्यसले पोल्नेछ । तिमी जस्तो भ्रष्ट, अरु कसैको प्रगति देख्न नसक्ने मान्छे यो देशमा अरु कोही छैन । रविका केही अन्धभक्तहरुले भन्लान्, रवि राम्रो मान्छे हो । रविको असली रुप देख्न केही समय लाग्नेछ ।
रवि आफूले सिधै पैसा लिँदैन । वेलकम मिडियामार्फत लिन्छ । जसले ‘सीधाकुरा’ मा विज्ञापन पनि गर्छ । उठाएको पैसा बुझ्ने ठाउँ त्यही हो । केही प्रमाणहरु मसँग अहिले पनि छन् । मैले केही गरिनँ, रविलाई यस्तो गर्न हुँदैन भनेर म सोच्थेँ । कहिले काहीँ दिन दुःखीका लागि गथ्र्यो । तर बालुवा तस्कर, ठूल्ठूला व्यापारी, उद्योगपतिहरुसँग, सिमेन्ट उद्योगीहरुसँग करोडौं असुलेका छन् रविले । त्यो पैसाले तिमीलाई एक दिन पोल्छ–पोल्छ । हेरिराख ।
अष्टमी गुरुङको हत्या हुँदा अर्थात अष्टमी गुरुङको मृत्यु हुँदा तिमी दुबई पुगेका थियौ । सुपरभाइजरले रेप गरेर मर्न बाध्य पा¥यो भनेर गएका थियौ । तर मलाई मर्न बाध्य पार्ने तिमी हौ रवि । तिमिलाई नेपालको कानूनअनुसार कारबाही हुन्छ । मेरो हत्यारा तिमी हौ । मेरो हत्यारा तिमी हौ रवि । मलाई यो अवस्थामा पु¥याउने नर्स युवती, रवि र युवराज कँडेल तिमी हौ । यसमा दीपक दाइको दोष छैन । नेपालमा कानुन बन्यो भने सजाय पाउनेछौ । त्यतिबेला मेरो आत्माले शान्ति पाउनेछ । म निर्दोष मान्छेलाई मर्न बाध्य पा¥यौ । मलाई फसाउने यी ३ अपराधी हुन् ।