नेताहरुको आकस्मिक विदेश भ्रमणले जन्माएको आशंका

काठमाडौं । राजनीतिक दलका नेताहरुको आकस्मिक विदेश भ्रमणले अनेकन आशंकाहरु उव्जाएको छ । साउनको दोश्रो हप्ताको आखिरीतिर उपचारका लागि भन्दै अकस्मात प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरको भ्रमणमा गएका थिए भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल साउनको दोश्रो हप्ता दुबई यात्रामा गए । त्यही मेसो पारेर पूर्वराजा ज्ञानेन्द्र शाह बैंककमा अध्ययनरत नातिनीको पढाइको अवस्था बुझ्न र आवश्यक प्रवन्ध मिलाउन भन्दै थाइल्याण्ड पुगे । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला पनि छोरीलाई अमेरिका पठाउन भन्दै बैंकक पुगेका छन् ।
नेपालीमा उखान छ ‘बाघ कराउनु र बाख्रो हराउनु’ भने जस्तो रुपमा मात्र उनीहरुको भ्रमणलाई हेर्न नसकिने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । यसरी नेपाली राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेका नेताहरु बिभिन्न बहानावाजी गर्दै केही हप्ताभित्रै विदेश भ्रमणमा जानुलाई रहस्यमय रुपमा हेरिएको छ । विदेशमा उनीहरुले के गरे र के गर्दैछन् भन्ने सबै कुरा पारदर्शी नभएकाले नेतादेखि वुद्धिजीवी समेतले आ–आफ्नै तरिकाका आशंका र विश्लेषण गरेका छन् ।
प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति गम्भीर भएको भन्दै सिंगापुर गएपनि प्रधानमन्त्रीले आप्mनो तर्फबाट स्वास्थ्य रिपोर्ट आधिकारिक रुपमा सार्वजनिक गर्नुपर्नेमा त्यसो गरेनन् । उनले रिपोर्ट सार्वजनिक नगरेकै कारणले आशंका पैदा गरेको छ । सम्पत्तिका नाममा एक कठ्ठा जमिन भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेको लाखौ खर्चको बिल कसरी तिरे होलान् ? श्रीमतीको इच्छा पूरा गर्न उनले सपरिवार दुवई यात्रा गरेपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । उनीसँग निकटस्थ अर्बपति व्यापारीले नै उनको खर्च व्यहोर्ने गरेको बताइएको छ ।
यता केही राजनीतिक विश्लेषकले दुवईमा पुष्पकमल दाहालको ठूलो लगानी रहेकाले त्यसको हिसावकिताव मिलाउन त्यसतर्फ गएको आरोप लगाएका छन । उनको सचिवालयले उक्त आरोपको खण्डन गर्दै विदेशमा सम्पत्ति नरहेको स्पष्ट पारेको छ । यहि मेसोमा राजनीतिक फाइदाका लागि विदेशी शक्तिका प्रतिनिधिसँग दाहालले कूटनीतिक वार्ता गरेको हुनसक्ने आँकलन पनि भएका छन् ।
यस्तै रहस्यमय बनेको छ पूर्वराजा ज्ञानेन्द्र र नेपाली काँग्रेसका महामन्त्रीको थाइल्याण्ड भ्रमण । हिन्दु राष्ट्रको नारा बोकेर आगामी दिनमा नेपाली काँग्रेसको महाधिवेशनमार्फत सभापति बन्न खोजेका शशांकको बैंकक भ्रमण संयोग कि योजनाबद्ध भन्ने बिषयमा बिभिन्न टिकाटिप्पणी हुन थालेका छन् । नेपाली काँग्रेसभित्र महामन्त्री डा. शशांक कोइरालासहित केही नेताहरुले नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने लबिङ गर्दै आएको विषय नौलो होइन ।
पार्टीको जिम्मेवार पदमा रहेरपनि महामन्त्रीसमेत रहेका कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने अभिव्यक्ति खुल्लारुपमा दिँदै आएका छन् । नेपाली काँग्रेस पार्टीको लाइनविपरीतका अभिव्यक्ति दिँदै आएको आरोप खेप्दै आएका कोइरालाको पछिल्लो विदेश भ्रमणलाई शंकाको दृष्टिकोणले हेर्न थालिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले थाइल्याण्ड भ्रमणमा छन्भने कोइराला पनि उतै गएका छन् । उनीहरुको यो भ्रमण योजनाबद्ध होकि संयोग मात्र हो भन्न नसकिने भन्दै शंकाको दृष्टिकोणले हेरिएको हो । साउन २७ गतेको जारी केन्द्रीय कार्यसमिति बैठक छोडेर श्रीमती डा. सुपात्रा र छोरी सुप्रियासँगै उनी थाइल्याण्ड गएका हुन् ।

छोरी सुप्रिया अमेरिका जाने हुँदा उनलाई छोड्नका लागि महामन्त्री कोइराला थाइल्याण्डसम्म गएको उनी निकटस्थहरुले बताएका छन् । सनातन हिन्दू राष्ट्र नेपाल नागरिक सङ्घर्ष समितिका अध्यक्ष समेत रहेका काँग्रेस विपीका अध्यक्ष हरिबोल भट्टराईले महामन्त्री कोइरालाको थाइल्याण्ड भ्रमणका क्रममा हिन्दु राष्ट्रको विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता हुनसक्ने सम्भावनालाई भने नकारेनन् ।
भटट्राईका अनुसार ‘महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको विषयमा बेलाबेखत आफ्नो धारणा राख्दै आउनु भएको छ । उहाँले जसरी हिन्दु राष्ट्रको विषयमा धारणा राख्नु भएको छ ।

विगतमा सरकारले नै विशिष्ट व्यक्तिहरुको विदेश भ्रमण पारदर्शी हुनुपर्ने र त्यसको औचित्य एवं खर्चबारे स्पष्ट गर्नुपर्ने भन्दै नीति नियम बनाएपनि महत्वपूर्ण पदमा बस्नेहरुले नै त्यसको पालना नगरी उल्लंघन गर्दै आएका छन् । कतिपय विशिष्ट व्यक्तिहरु आईएनजिओ, तस्कर, दूतावास वा रहस्यमय व्यक्तिका पाहुना बनेर विदेश जाने गरेका छन् । यसले गर्दा विशिष्ट व्यक्तिको विदेश भ्रमण नै रहस्यको पर्दाभित्र ढाकिने गरेको छ ।