वाणिज्य बैंक र एनबीआईबीच सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड (एनबीआई)बीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुुसार आव २०७६÷०७७ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धिको लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमितरूपमा बैंकिङ तालिम प्रदान गर्नेछ ।
सिईओ श्रेष्ठले कर्मचारीहरूको दक्षता अभिवृद्धिबाट नै बैंकले दिगो प्रगति हासिल गर्नसक्ने बताए । इन्ष्टिच्युटका सिईओ सुब्बाले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक मार्गदर्शनको रूपमा रहेको बताए ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू कविराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरू महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू, नेशनल बैंकिङ इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापाको उपस्थिति रहेको थियो ।