वरिष्ठ कलाकार सुभद्राको निधन
काठमाडौं । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।
७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । उनलाई चार वर्ष अघि निमोनियाको संक्रमण भएको थियो ।
काठमाडौंको असनमा वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । गाइजात्राको पाँच दिनअघि जन्मिएकी सुभद्राको निधन गाइजात्राको एकदिन पछि भएको छ । उनले २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी थिइन् ।
‘कची मचा’ बाट नाट्य अभिनय शुरु गरेकी उनले त्यसपछि नाट्य अभिनयमा लामो समय विताइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो ।
निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनित पहिलो फिल्म हो । यसमा उनले हरिप्रसाद रिमालको पत्नीको भूमिका निभाएकी थिइन् । यो फिल्म गर्दा उनी २२ वर्षकी थिइन् । उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा काम गरेकी छन् ।
नेपाली चलचित्र क्षेत्रमा चरित्र अभिनेत्रीका रुपमा ब्रान्ड बनाएकी अधिकारीले कन्यादानमा सासुको भूमिका निभाएपछि उनको चर्चा चुलिएको थियो ।
स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।