चार वडालाई एउटै सेवा केन्द्र
चितवन÷भरतपुर महानगरपालिकाले वडा नं. १६ मा एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्रको शुभारम्भ गरेको छ । यसअघि पशु सेवा कार्यालय मार्फत भेटेरीनरी सेवा दिदै आएकोमा कृषि र पन्छीको सेवा पनि थपिएको हो । यस केन्द्रबाट आसपासका चार (४, १५, १६ र १७) वडाले समान सेवा पाउने छन् । कृषि तथा पशुपन्छीसम्बन्धी सम्पूर्ण सेवा दिने उद्देश्यले स्थापित सो केन्द्रको नगरप्रमुख रेनू दाहालले २९ भदौमा उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्यमा नगरप्रमुख दाहालले भन्नुभयो,– हुन त हामीसँग श्रोत साधन र जनशक्तिको पर्याप्तता छैन तर पनि हामीले कृषि तथा पशुपन्छीलाई विकासको प्राथमिकतामा राखेर यो सेवा केन्द्रको शुभारम्भ गरेका छौं । तपाईंहरूको राय, सुझाव र सेवा लिने सहयोगबाट क्रमशः यसमा सुधार हुँदै जाने विश्वास लिएका छौं । यस वर्ष महानगरका तीन ठाउँ (गीतानगर, गुञ्जनगर र साविकको मंगलपुर गाविस) मा यो सेवा केन्द्र चालू भएपछि सकारात्मक परिणाम देख्न पाइने भएकाले यस केन्द्रप्रति यहाँहरूको सकारात्मक सोंच होस् भन्ने आफ्नो सदिच्छा रहेको पनि नगरप्रमुख दाहालले खुलाउनुभयो ।
भेटेरीनरी प्राविधिक बन्धुराज अधिकारीका अनुसार कार्यक्रममा नगर कार्यपालिका कार्यालय कृषि तथा पशुपन्छी महाशाखाका प्रमुख काशिराज हमालले यो केन्द्रबाट लाभ लिन वडामा भएका टोल विकास संस्थाको पहलमा कृषि तथा पशुपन्छी केन्द्रित समूहहरू गठन गर्न सुझाउनु भयो । सोही अवसरमा नेकपाका जिल्ला सदस्य कृष्णप्रसाद पुडासैनीले यो केन्द्र कृषकको हितका लागि स्थापना भएकाले लाभ लिन अग्रसर हुनुपर्ने राय दिनुभयो । यहाँका किसान प्राविधिक ज्ञानको अभावले उर्वराभूमिको उपयोग गर्न सकेका छैनन्, भएको उब्जनीले बजार पाएको छैन त्यसको व्यवस्थापन होस् भन्ने शुभेच्छा छ पुडासैनीले भन्नुभयो । यसैगरी नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सुरवीर पोखरेलले साविकको मंगलपुर गाविस हुँदा युवाहरूका लागि खेलमैदान रहेको ठाउँमा स्थापना भएका यी कार्यालयले दिने सेवा कत्तिको प्रभावकारी छन् त ? भन्ने कुरा मनन् गर्दै यस केन्द्रको सार्थकता सावित गर्नु हामी सबैको दायित्व हो भन्नुभयो । मल, बिऊ सके निःशुल्क नसके समयमा र सुलभ दरमा दिने व्यवस्था होस् भन्ने शुभेच्छा राख्नुभयो ।
कार्यक्रममा वडा नं. १६ कि वडा सदस्य साबित्री देवकोटाले साना किसानसँग धेरै जग्गा नहुने तर सिंचाईको मोटरका लागि कम्तिमा १० कठ्ठा जग्गा चाहिने प्रावधानलाई परिमार्जन गर्नुपर्ने अवस्था देखिएको सुझाउनु भयो । वडा नं. १६ का कार्यवाहक वडाध्यक्ष ओमबहादुर रावल शरणको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महानगरका निमित्त कार्यकारी अधिकृत प्रद्युम्नप्रसाद उपाध्याय लगायतले बोल्नुभएकोे थियो । सो केन्द्रमा हाल भेटेरीनरीतर्फ एकजना प्राविधिकको व्यवस्था भए पनि कृषितर्फका प्राविधिक अझै तय भएका छैनन् ।
पालुवा टोल विकास संस्थाका अध्यक्ष मिनबहादुर बस्नेतका अनुसार यो केन्द्र स्थापना भएपछि सर्वसाधारण कृषकले उत्पादन गरेका कृषिउपजले उचित मूल्य र बजार नपाएर त्यत्तिकै फाल्नुपर्ने, जोताउनुपर्ने र सडाउनुपर्ने अवस्था नआओस्, समयमा मल र बिऊ उपलब्ध होस्, कृषि तथा पशुुपन्छीका लागि उपलब्ध हुने अनुदान सच्चा कृषकले मात्र पाओस् भन्ने अपेक्षा राखेको र यसको सफलता जनचेतनाको स्तर बढाउने कार्यले पुष्टि गर्ने केही वक्ता र सहभागीहरूले बताएका थिए ।