मन्त्री अर्यालले पनि गरिन् कार्यसम्पादन करार सम्झौता
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार सचिव, सहसचिव, मन्त्रालय मातहतका विभागीय महानिर्देशक लगायतसँग मन्त्रालयको कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर गरेकी छिन् ।
सो अवसरमा मन्त्री अर्यालले समग्र जग्गा प्रशासनको व्यवस्थापन अब प्रविधिबाटै गरिने जानकारी पनि दिइन् । सार्वजनिक सरकारी र गुठी जग्गाको संरक्षणका निम्ति धेरै आवाजहरू उठिरहेको भन्दै उक्त कार्यको थालनी सरकारले गरिसकेको बताइन् ।
नतिजा दिनेगरी काममा लागेको भन्दै मन्त्री अर्यालले त्यसमा सबैको सहयोग आवश्यक भएको बताइन् । केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेर भोगचलन गरेको भन्दै मन्त्री अर्यालले त्यसलाई फर्काउनुपर्ने बताएकी छिन् । कोही व्यक्तिको माग अनुसार सार्वजनिक जग्गा दर्ता नगर्दा मानहानीको मुद्दा पनि कर्मचारीले भोग्नुपरेको भन्दै मन्त्री अर्यालले यस्ताखालका सबै बेथितिहरूलाई सिस्टमबाट नै रोक्न आफूहरू लागिपरेको बताइन् ।
कसैले सरकारी वा सार्वजनिक जग्गा अरू कसैको नाममा दर्ता गर्न खोजे सफ्टवेयरले नै नलिने ‘ल्याण्ड रेकर्ड म्यानेजमेन्ट सिस्टम’ को विकास गरिएको मन्त्री अर्यालले बताएकी छिन् । यो सिस्टम अनलाइन सेवा लागूू भएका कार्यालयहरूमा उपलब्ध भइसकेको छ । अनलाइन सेवा लागू नभएका ठाउँमा कसरी जाने भनेर छलफल भइरहेको उनले बताइन् ।
कार्यक्रममा मन्त्री अर्यालले भोगाधिकारको व्यवस्था रहेकोमा २०७१ सालमा लिज सिस्टम आइसकेकाले अब सबैलाई लिज सिस्टममा आउन संघसंस्थाहरूलाई आग्रह गरेकी छिन् । मन्त्रालयअन्तर्गत साझा स्वास्थ्य पनि रहेकाले देशभर रहेको भनिएको साझा स्वास्थ्यको जग्गा पनि खोजी गरेर संरक्षण गरिने मन्त्री अर्यालले बताएकी छिन् ।
कर्मचारीलाई अनावश्यक विदेशभ्रमण नगर्न निर्देशन दिँदै मन्त्री अर्यालले भनिन् ‘विदेश जानेहरूका निम्ति पनि के का लागि जाने ? त्यहाँ गइसकेपछि के उपलब्धि हुन्छ ? घुम्न जाने होइन केही न केही उपलब्धि हुनुप¥यो ।’
कार्यक्रममा मन्त्रालयका सचिव गोपिनाथ मैनालीले गुणस्तरीयरूपमा कसरी समयमै काम सम्पन्न गर्ने भनेर गरिएको सम्झौता करारनामा भएको बताउँदै वार्षिक कार्यतालिकाअनुसार काम गर्न मातहतका कर्मचारीहरुलाई आग्रह समेत गरेका छन् ।