कांग्रेस भित्रको विवाद प्रदेशतिर
काठमाडौं । नेपाली कांग्रेस अहिले लामो यात्रापछि थाकेको पदयात्री जस्तो देखिएको छ । कैयन दिनसम्म वैठक बसेर विधानअनुसार संरचनाको टुंगो लगाउने भनिएपनि प्रदेशको संरचना गठनमा नयाँ किसिमको विवाद शरु भएको छ ।
केन्द्रीय समितिको वैठक मार्फत तल्लो तहको संरचना गठनका लागि निर्देशिका बनाइएको छ । तर प्रदेशको संरचना कसरी बनाउने भन्ने कुरा अझै खुलस्त भएको देखिदैन । गत पुस ८ गते काठमाडौंमा सम्पन्न महासमिति वैठकपछि विधानलाई संघीय संरचना अनुसार रुपान्तरण गर्न फागुनमा केन्द्रीय समिति वैठक बसेको थियो ।
सो वैठकले वडादेखि केन्द्रसम्म आठ तह बनाएर संरचना निर्माण गर्ने निर्णय गरेपनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक कोइरााल, राममशरण महत, शेखर कोइराला आदिबीच विचार नमिल्दा अहिले पनि प्रदेशको संरचना बनाउने कुरा अपरिपक्व अवस्थामा देखिन्छ ।
विवाद हुँदाहुँदै निर्देशिका बनाइयो, तर वडा, गाउँ÷नगरपालिकाको आगामी २० कात्तिकसम्म संरचना बनाउने कुरा अव्यवहारिक देखिन्छ । प्रदेश र प्रतिनिधिसभा क्षेत्रको संरचना भदौ २० गतेसम्म बनाइ सक्नुपर्ने हुन्छ । यी सवै कुरा सकेर १३ औं महाधिवेशनको संरचनालाई आधार मान्दै नयाँ संरचना बनाउन शीर्ष नेतामा सहमति भएपनि विभिन्न गुटको स्वार्थ नमिल्दा प्रदेशकै संरचना अन्यौलमा परेको हो ।