‘हजार जुनिसम्म’ ले कस्तो गर्दैछ व्यापार ?

काठमाडौँ । रक्षा बन्धनको अवसर पारेर गत बिहीबारबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ चलचित्रले निर्माता÷निर्देशक र कलाकारहरुलाई हौसला प्रदान गर्ने रुप लिन सकेको पाइदैन । दशैं, तिहार, तीज र नयाँ वर्षलगायतका चाडवाड बाहेक अन्य समयमा नेपाली फिल्म शुक्रबार मात्र रिलिज हुने गरेको थियो । तर ‘हजार जुनीसम्म’ जनै पुर्णिमाको बिदाको ब्यवसायिक लाभ उठाउने उद्देश्यले बिहीबार प्रदर्शनमा आएको थियो । तर सरकारले यस वर्ष जनै पूर्णिमाको विदा दिएको थिएन ।
चलचित्रमा नायक आर्यन सिग्देल भने सवैले रुचाएका पात्रका रुपमा फिल्ममा देखिएका छन् । पाको पुरुषको भूमिकामा देखिएका नायक सिग्देलले चलचित्रको सुरुवातदेखि अन्तिमसम्म प्रमुख भूमिका छन् । आफ्नो प्रेमिकाका लागि १४ बर्षसम्म जीवन बिताइदिने एक प्रेमीको भूमिकामा देखाइएका आर्यनले आफ्नो भूमिका राम्ररी नै निभाएका छन् ।
गीत, संगीत र ट्रेलरले दर्शकमा क्रेज बनाउन सफल भएको थियो । तर समग्र चलचित्रले भने त्यो उत्साह अनुसार दर्शकको मन जित्न नसकेको समीक्षकहरु बताउँछन् । चलचित्रले सिंगल थियटरमा एकल प्रदर्शन पाएपनि मल्टीप्लेक्समा भने बलिउडका दुई ठूला ‘मिशन मंगल’ र ‘बाटला हाउस’सँग प्रतिस्पर्धा गर्नुप¥यो । यसले पनि हजार जुनिसम्मको व्यापारमा केही मात्रामा अवरोध पुर्याएको पाइयो । तर चलचित्र सम्वद्ध समूहले भने चलचित्रको व्यापार राम्रो भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
यो चलचित्रमा आर्यन सिग्देलका साथै स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतका कलाकारको अभिनय छ । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ हुन् ।