कद घटाउने कथन
सम्पादकीय
गत साता सत्तारुढ दलका नेताद्वय अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको तनाव र सचिवालय वैठकको गतिविधि राजनीतिक क्षेत्रमा सर्वाधिक चर्चाको विषय बन्न पुगेको छ । बिहीबार अर्थात भदौ ५ को सचिवालय वैठकमा प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच भनाभन भयो । उनीहरु दुवै आ–आफ्नो मर्यादा विर्सेर आरोप प्रत्यारोपमा उत्रिएका हुन् । बैठकमा के सम्म भयो भने ‘तपाई मलाई मरोस् भन्ने चाहनुहुन्छ, तपाईले शुभकामना दिनुपर्दैन’ प्रधानमन्त्री तथा पार्टी अध्यक्षको भनाइ र ‘म तपाईं जस्तो निकृष्ट र आपराधिक सोच राख्ने मान्छे होइन’ भन्ने वरिष्ठ नेता माधव नेपालको कथनले दुवै नेताहरुको राजनीतिक कद घटाएको छ । प्रधानमन्त्री समेत रहेका र भइसकेका व्यक्तिहरुको यस्ता अभिव्यक्तिले आफूभन्दा तल्लो तहका हजारौ नेता, कार्यकर्ता र सर्वसाधारणलाई कस्तो संस्कार दिन खोजिदैछ भन्ने प्रश्न अहिले बहसमा छ ।
राजनीतिक भाषा शैलीमा भन्दा पनि व्यक्तिगत गालीगलौजमा ओर्लेर दुवै नेताले आरोप प्रत्यारोप गर्दा त्यसले पार्टी भित्रको कमी कमजोरी र नेताको व्यक्तित्वलाई समेत उजागर गरेको छ । उपचारका लागि सिंगापुर प्रस्थान गर्नु भन्दा केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले केही महत्वपूर्ण निर्णय र निर्देशन दिन खोजेका थिए । सचिवालयका सदस्यहरु वैठकमा उपस्थित भएपनि आरोप–प्रत्यारोपका कारण बैठक मूल विषयमा प्रवेश नगरी समापन भएको थियो । बैठकमा अध्यक्ष ओलीले माधव नेपाललाई विभिन्न आरोप लगाएका छन् भने नेपालले अध्यक्ष ओलीलाई एकतन्त्रि ढंगले चलेको आरोप लगाउँदै पार्टी अब यसरी चल्न नसक्ने बताएका थिए । अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले उपचारका लागि जान लागेका अध्यक्ष ओलीलाई स्वास्थ्य लाभका लागि शुभकामना दिएर पठाउँ भन्दै आग्रह गरेका थिए । तर विवादका विषयमा पछि छलफल गर्न सकिने भन्दै नेता नेपाललाई सम्झाउनु परेको खबरहरु सार्वजनिक भएका छन् । नेता नेपालले गरेको स्वास्थ्य लाभको कामना अध्यक्षले स्वीकार गर्नुपर्ने भन्दै वादविवादलाई विट मार्न आग्रह गरिएको थियो ।
पार्टी एकताले पूर्णता नपाउँदै पार्टी भित्र ध्रुविकरण बढेको यो घटनाले पुष्टि गरेको छ । लाखौं नेपाली जनताको बलिदान, त्याग र रगतबाट जन्मिएको नेकपा भित्र यो अवस्था आउनु भनेको साँच्चिकै दुखद् पक्ष हो । जीवन्त पार्टीमा यस्ता समस्याहरु आउँछन् नै । त्यसलाई हल गरेर अगाडि बढ्न सक्नु नै नेताहरुको महानता हो । मुख्य नेताहरुको बिचमा बैमनष्यता देखिएको भएपनि मिलेर जानुको बिकल्प अब उनीहरुसँग छैन । पार्टी भित्र आगामी दिनहरुमा पनि यस्ता समस्या नआउलान् भन्न सकिदैन । ती समस्याको हल गर्दै मिलेर अगाडि बढ्नु नै अहिलेको उत्तम बिकल्प हुन सक्छ ।