अंंग्रेजलाई हराएको सम्झनामा सिन्दुर जात्रा
पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने गरिएको सिन्दुर जात्रा यस वर्ष पनि मनाइएको छ । जिल्ला सदरमुकाम तानसेनमा शनिबार रणउजीश्वरी भगवती माईको रथयात्रा निकालिएको हो ।
गोरखदलले भगवतीको रथलाई दिउँसो १२ः४५ मा सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालीएको थियो । रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयले बली चढाएपछि तानसेनको परिक्रममा गराइएको थियो । रथलाई कुमाल समुदायका युवाहरुले काँधमा बोकी नगर परिक्रमा गराएका थिए ।
पञ्चेबाजा, नौमति बाजा, लाखेनाच, भजनकिर्तन सहितको सांस्कृतिक झाँकीले रथ यात्रालाई नगर परिक्रमा गराइएको थियो । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पु¥याई बिसर्जन गरिएको थियो । रथलाई मध्यरातमा पञ्चवलीसहित सलामी अर्पण गरी विधिवत् रुपमा पूजा आरधाना गरिएको थियो । रथ यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत गाउँ गाउँबाट श्रद्धालु तानसेन आएका थिए ।
रथयात्रा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, जिल्लाबाट निर्वाचित संघीय, प्रदेश सांसदहरु लगायतका विशिष्ट व्यक्तित्वहरुको समेत जात्रामा सहभागिता रहेको थियो । यस वर्ष दुई सय एक संस्करणको रुपमा भगवती जात्रा मनाईएको हो ।
ऐतिहासिक महत्व बोकेको जात्रालाई राष्ट्रिय पर्वको रुपमा लिनु पर्ने भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । सरकारले सहयोग गरे धार्मिक, पर्यटन प्रर्वद्धन गर्न जात्राको महत्वपूर्ण भूमिका रहने समितिले विश्वास लिएको छ । नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवलाई बचाउने पूर्खाको विषयमा खोजी गर्नुपर्ने र भगवती जात्रा बीचको राष्ट्रियता खोज्नुपर्ने इतिहासका जानकार राजेन्द्र गोपाल सिंको भनाई रहेको छ ।
अंग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजयी गरेको इतिहास रहेको छ । आफ्नो साम्राज्यमा कही कतै सूर्य नअस्ताउने भूभाग कोमेको अनि आफुलाई अब्बल दर्जाको रुपमा ठान्ने अंग्रेज साम्राज्यलाई पटकपटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाईने गरेको पाईन्छ । कृष्णजन्माष्टमीको अघिल्लो रात स्थानीय सेना प्रमुखले कर्णेल उजीरसिंह थापाको तरबार हातमा लिई रथ परिक्रममा राखिने भगवतीको मूर्तिलाई खटमा राखि भोलिपल्ट शुभसाइतमा सेनाको गोरखदलले बढाँइका साथ सलामी अर्पण गर्दै श्री ७ रणउजीरेश्वरी भगवती माईको रथयात्रा सुरु गर्ने गरिन्छ । कर्णेल उजीरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुष देखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा विजय हासिल गरेको थियो । यहि सम्झनामा १८७६ देखि निरन्तर रुपमा प्रत्येक वर्ष जिल्लामा विजयोत्सव मनाउने प्रचलन रहँदै आएको छ । कर्णेल उजीरसिंह थापाले युद्धमा विजयी भएमा प्रस्तरको सोह्र बाहु भएको महिषाशुर मर्दिनी भगवती सामु सिन्दुर जात्रा गर्ने भाकल गरेका थिए । दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजीरसिंह थापाले मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको इतिहासविद्हरु बताउँछन् ।