मंगलबारदेखि १४ औं नाडा अटो शो

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले १४ औं नाडा अटो शो भदौ १० गते मंगलबार देखि राजधानीको भृकुटीमण्डपमा गर्न लागेको छ । शो भदौ १० देखि १५ गतेसम्म चल्ने आयोजकले बताएको छ । नाडा अटो शो सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य मेला हो ।
काठमाडौंको भृकुुुुटी मण्डप प्रदर्शनीस्थलमा आयोजना हुने उक्त प्रदर्शनीले यस वर्ष कभर्ड हल, ठूलो चौर तथा बगैंचामा समेत गरी सम्पूर्ण क्षेत्रफल अटो शोका लागि लिइएको गत आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ । हरेक बर्ष झै यस संस्करणमा पनि शिर्ष प्रायोजक सर्भो वलर््ड क्लास लुब्रिकेन्ट्स रहेको छ भने मेला व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ । नेपालीहरुको महान चाड–पर्वहरुको पूर्वाधमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसंग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागि गराउने विश्वास आयोजकले लिएको छ । यसले सवारी साधन विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा पनि चित्रण हुन थालेकोे आयोजकको दाबी रहेको छ । प्रदर्शनिलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछट्टै स्टलहरु रहने छन् भने अटो सम्वन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहनेछ ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिव १ सय ६० स्टल र ब्लकहरु रहनेछन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने छ ।
प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याटरी, १४ वटा पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । बिगतका नाडा अटो शो भन्दा अझ व्यवस्थित बनाउन एवं आगन्तुकहरुको भ्रमणलाई सुविधायुक्त बनाउन सहज आवत जावतका लागि यस वर्ष अस्थाई आकाशे पुलको निमार्ण गरिने भएको छ । ६ दिन सम्म चल्ने उक्त नाडा अटो शोमा लगभग ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।