सिंगापुरबाट सिंहदरबार चलाउँदा विवाद !

काठमाडौं । प्रधानमन्त्रीले विदेशबाट विद्युतीय सञ्चारमाध्यममार्फत मन्त्रिपरिषद्को अध्यक्षतासम्वन्धी विषय नेपालमा वहसमा आएको छ । उपप्रम ईश्वर पोखरेललाई कावा प्रधानमन्त्री घोषणा गरेर सिंगापुर गएका प्रधानमन्त्रीले विरामी अवस्थामा विदेशबाट टेलिप्रिजेन्स मार्फत किन वैठकको अध्यक्षता गर्नु पर्यो भन्ने प्रश्न धेरैले गरेका छन् । यस्तो कार्यले उपप्रमप्रति विश्वास नरहेको सन्देश जानुका साथै नेपालको गोप्यता भंग हुने आशंका समेत धेरैले गरेका छन् ।
नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीको त्यस्तो गतिविधि आश्चर्यजनक देखिएको विश्लेषण गरेका छन् । कुनै पनि प्रधानमन्त्री वा राष्ट्राध्यक्षले विदेश जाँदा पनि त्यहाँबाट विद्युतीय सञ्चारमाध्यम प्रयोग गर्दै मन्त्रिपरिषद्को वैठक सञ्चालन गरेको कुरा आफूलाई थाहा नभएको रावलको तर्क छ ।
कैयन वुद्धिजीवी, विश्लेषक र राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीले आफैले कार्यवाहक तोकेका व्यक्तिलाई विश्वास नगरेर आफू बेगर देश चल्दैन भन्ने सन्देश दिन खोजेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीले सिंगापुरबाट नेपालको क्याविनेट सञ्चालन गरेको विषयलाई लज्जास्पद भनेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताले प्रधानमन्त्रीले आफ्नै पार्टीका नेताहरुलाई विश्वास गर्दैनन् भन्ने सन्देश दिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीलाईं भिडियो कन्फरेन्समार्फत विदेशबाट मन्त्रिपरिषद्को संयोजकत्व गर्न कानूनी व्यवधान भएकाले सरकारले कार्यसम्पादन नियमावली २०६४ संशोधन गरेको कुरालाई पनि केही कानूनविद्हरुले ठट्टामजाकको विषय भनेका छन् ।
झण्डै आधा घण्टासम्म प्रधानमन्त्रीले वैठकको नेतृत्व गर्दै सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषद् वैठकको नेतृत्व गरेका थिए भने सो अवसरमा विभिन्न मन्त्रीले सुस्वास्थ्यको कामना समेत गरेका थिए । तर सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को वैठक नभई सन्चोविसन्चोको कुरा मात्र भएको बताएका छन् । मन्त्री थममाया थापाले पनि वैठकमा कुनै निर्णय नभएको र निर्णय समेत नलेखिएको बताएकी छिन् ।
त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्रीले सिंगापुरबाट भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद्को वैठक सञ्चालन गरेको कुरा गलत भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले मन्त्रीहरुसँग सम्वाद मात्र गरेको तर कुनै वैठक वा निर्णय नभएको दावी गरेका छन् ।
सत्तारुढ दलकै नेता रावललगायतले प्रचलित ऐन, कानून र नियम विरुद्ध विदेशबाट प्रधानमन्त्रीले विद्युतीय सञ्चारमाध्यममार्फत क्याविनेट वैठक सञ्चालन गरेको भन्दै त्यसको आलोचना गरेको केही दिन नवित्दै महासचिव पौडेलको टिप्पणी आएको हो ।
एक दैनिकलाई दिएको अन्तर्वार्तामा नेता पौडेलले केन्द्रीय कमिटी वैठक विधानले तय गरेको समयमा हुन नसकेको स्वीकार्दै त्यसलाई कमजोरी भनेका छन् । त्यस्तै उपाध्यक्ष र वरियताका विवाद पनि उठेको बताउँदै गत वर्षको जेठ ३ देखि यस्तो विवाद चलिरहेको पौडेलको धारणा छ । तर बाहिर आए जस्तो धेरै ठूलो विवाद नभएको उनले बताएका छन् ।
सरकारका बारे समीक्षा भइरहेको बताउँदै उनले कुनै विषयमा केन्द्रित भएर वैठक गर्न नभ्याएपनि समीक्षा नै नभएको कुरा प्रचार गर्नु गलत भएको टिप्पणी गरेका छन् । सरकारले जनतालाई नियन्त्रण गर्न नचाहेको बताउँदै निजी, सरकारी र सार्वजनिक क्षेत्रबीच घनिष्ट सहकार्य गर्न सरकार तयार रहेको पौडेलको धारणा छ ।
सरकारले विभिन्न निर्णय गरेर फिर्ता लिने गरेको प्रसंगमा उनले सरोकावालाहरुसँग छलफल गरेर निर्णय गर्नु पर्ने आवश्यकता महसुस गर्न थालिएको बताउँदै कुनै गुनासो आएमा त्यसमा सरकार अझ स्पष्ट हुन चाहन्छ भनेका छन् ।
पार्टीभित्रको प्रजातान्त्रिक प्रणाली हनन् नभएको तर्क गर्दै पौडेलले सरकारको आलोचना गर्न पाइदैन भन्ने प्रचार गरेकोमा पार्टीभित्र र बाहिरका केही व्यक्तिले गलत ढंगले बुझेको उनको धारणा छ । विचार र नीतिमा असहमति राख्न सबैलाई छुट छ तर पार्टीको मर्यादा भन्दा बाहिर गएर बोल्न नहुने उनले स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भनिएपनि सात पटकसम्म प्लाज्माफेरेसिस गर्नुपर्ने भएकाले उनको सिंगापुर बसाइ लम्विने देखिएको छ । शरिरमा एन्टिबडीको प्रभाव वढ्दै गएपनि त्यसलाई शान्त बनाउन प्रयास भइरहेको बताइएको छ । यसअघि साउन १८ देखि साउन २७ सम्म उनले सिंगापुरकै नेशनल युनिभर्सिटि हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । एन्टिवडि बढेपछि मिर्गौला फेल हुने सम्भावना बढ्ने चिकित्कसहरुले बताएका छन् । एन्टिवडिलाई हटाउँदा शरिरको सम्पूर्ण रगत निकाल्नु पर्ने हुन्छ भने प्रकृया सकिएपछि पुनः राख्नुपर्ने हुन्छ । तसर्थ यस्तो प्रकृया निकै जटिल पनि हुन सक्ने बताइएको छ ।