राष्ट्रिय वाणिज्य बैंकद्वारा एकै पटक १४ वटा शाखा उद्घाटन
काठमाडौँं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५ वटा प्रदेशका १२ जिल्लामा १४ वटा नयाँ शाखा कार्यालयहरू खोलेको छ । ती शाखाहरुको उद्घाटन अर्थमन्त्री डा.युबराज खतिवडाले डिजिटल प्रविधिबाट बुधबार एकै पटक उद्घाटन गरेका छन् । अब राष्ट्रिय वाणिज्य वैंकको शाखा संख्या २३६ पुुगेको बैंकले जनाएको छ ।
नयाँ शाखाहरूमा झापाको वाह्रदशी गाउँपालिका वडा न.ं ४ स्थित शाखा कार्यालय चकचकी, मोरङको धनपालथान गाउँपालिका वडा न.ं ४ स्थित शाखा कार्यालय कर्सिया, काठमाडौँंको कोटेश्वर र टोखा, तनहुँको शुक्लगण्डकी नपा वडा नं. ६ खैरेनीटार, गुल्मीको कालीगण्डकी गाउँपालिका वडा न.ं ४ पूर्तिघाट, नवलपुरको देवचुली नपा वडा नं. १६ स्थित टाँगीकोट, कपिलवस्तुको शिवराज नपावडा नं. ८ स्थित चन्द्रौटा, दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ घोराही, पर्साको पोखरीया नपा वडा नं. ४ पोखरीयाबजार, मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ६ भिमफेदी, महोत्तरीको बलवा नपा वडा नं. ६ बलवाबजार र पिपरा गाउँपालिका वडा नं. ४ पिपरा, रौतहटको चन्द्रपुर नपा वडा नं. ४ चन्द्रपुरमा खोलिएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा भएको समारोहमा अर्थमन्त्री खतिवडाले संयुक्त रुपमा उद्घाटन गर्दै पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व वृद्धि हुने गरी कार्य गर्नुपर्ने सुझाव दिए । सामाजिक बैंकिङसहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताउँदै अर्थमन्त्री खतिवडाले बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि लानुपर्ने बताएका छन् ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउनतर्फ राष्ट्रिय वाणिज्य बैंक अग्रसर हुनुपर्ने बताए । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष गुरुङले सीमित स्रोत साधनका भरमा पनि रावा बैंकले उत्कृष्ट सेवासहित सवोत्कृष्ठ मुनाफा गरेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकिङ प्रविधिलाई आत्मासाथ गरी समग्र बैंकको सुदृढीकरणको लागि ‘क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेसन’अभियान सञ्चालन गरिरहेको जानकारी दिएका छन् ।
सिईओ श्रेष्ठले बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहँुचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवालक्षित बैंकिङ कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दे नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ सेवाहरू प्रवाह गरिरहेको बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, कार्यकारी निर्देशकहरू देबकुमार ढकाल, मुकुन्दकुमार क्षेत्री, राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका सदस्यहरू निर्मलहरि अधिकारी, रविन्द्रलाल श्रेष्ठ, अर्जुनबहादुर अधिकारी, डा. माधवप्रसाद दाहाल, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू, प्रदेश कार्यालयका प्रमुख, कम्पनी सचिव, काठामाडौँं उपत्यकाभित्रका शाखा प्रबन्धकहरूलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।