दुई थरी मूल्य तोक्न सुझाव दिएका छौं
बाबुकाजी पन्त, निमित्त कार्यकारी निर्देशक, राष्ट्रिय दुग्ध विकास बोर्ड
दुधको मूल्य समायोजन गर्न साउन २९ गते तपाईंको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको थियो, कार्यदलले के सुझाव दियो त सरकारलाई ?
राष्ट्रिय केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले लिखित वा मौखिकरुपमा बिभिन्न फोरममार्फत दुधको मूल्य समय सापेक्ष रुपमा समायोजन गर्न आग्रह गर्दै आएको थियो । माननीय कृषि तथा पशुपंन्छीमन्त्रीज्युको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकको निर्णयले मेरो संयोजकत्वमा आठ सदस्सीय कार्यदल गठन गरेको थियो । त्यो कार्यदलले दुधको मूल्य समायोजन गर्नुपर्ने कारण र आधारसहितको प्रतिबेदन माननीय कृषि तथा पशुपंक्षीमन्त्रीज्यु समक्ष पेश गरिसेकका छौं ।
के सुझाव दिनु भयो त सरकारलाई ?
२०७४ भदौ पछि आजसम्म दुधको मूल्य बढेको छैन । त्यसयता दुध उत्पादन लागत मूल्य बृद्धि भएपनि दुधको मूल्य यथावत छ । २०–२५ रुपैयांमा पाइने पशु दानाको मूल्य बढेर अहिले ३५–३८ रुपैंया पुगेको छ । त्यससँग जोडिएका मजदुर, किसानको पनि ज्याला पनि बढेको छ । बिद्युत महसुल दर पनि बढिसकेको छ । यो बिचमा दुध र दुग्धजन्य पदार्थ बाहेक अन्य खाद्य सामाग्रीको मूल्य निरन्तर बढिरहेको छ । तर पनि दुधको मूल्य दुई बर्षदेखि यथावत छ । यहि परिप्रेक्षमा मूल्य समायोजन गर्न आवश्यक थियो ।
मूल्य समायोजन नहु“दा त्यसको प्रत्यक्ष मार त किसानले नै खेप्नु प¥यो हैन र ?
किसानको आय आर्जनको मुख्य स्रोत नै कुषि र पशुपालन हो । अब मुलुक दुधमा आत्मनिर्भर हुनुपर्छ र बन्नुपर्छ भन्ने सोच पनि बिस्तारै बढिरहेको छ । सरकारले नीति, प्रतिबेदनहरुमार्फत पनि यस्ता प्रतिवद्धताहरु जनाइसकेको अवस्था छ । त्यसको लागि यो व्यवसायमा लाग्न र लागिरहेका किसान र व्यवसायीहरुलाई प्रोत्साहन गर्न आवश्यक थियो । किसानहरु यो पेशामा लाग्नुपर्छ र उनीहरुलाई यो व्यवसाय टिकाई राख्नुपर्छ र पलायन हुन दिनुहुदैंन भन्ने ठहर हाम्रो छ । किसानको उत्पादन मूल्य ०७४–०७५ मा नै झण्डै ५० रुपैयाँ प्रति लिटर पुगिसकेको थियो । कार्यदलले समय सापेक्ष अनुसार दुधको मूल्य समायोजन गर्न आवश्यक छ भन्ने राय सुझाव सहितको प्रतिवेदन तयार गरेर सरकार समक्ष पेश गरेको छ ।
ठयाक्कै मूल्य तोकेर सरकारलाई प्रतिबेदन बुझाउन नसकेको भन्ने आरोप तपाईहरु माथि लागेको छ नि ?
हामीले त सरकारलाई राय सुझाब मात्र दिने हो । कार्यदलले बढि उत्पादन र कम उत्पादन हुने समयको छुटट छुट्टै मूल्य हुनुपर्छ भनेको छ । अझ भन्नुपर्दा दुध धेरै उत्पादन हुने समयमा केही कम मूल्य र कम उत्पादन हुने समयमा बढी मूल्य निर्धारण गर्नुपर्छ भन्ने सुझावसहितको प्रतिबेदन तयार गरेका छौं । त्यसो भयो भने किसान र दुध व्यवसायीहरुले नोक्सानी पनि कभर हुनेछ ।
माग र आपूर्तिको तालमेल मिल्न नसकेकै कारण दुधको अभाब देखिएको हो भनिन्छ, बास्तविकता के हो ?
गत बर्ष २२ लाख १२ हजार ५ सय मेट्रिक टन दुध उत्पादन भएको थियो । यो उत्पादनले हाम्रो मागलाई धान्न सकेन । यो उत्पादन प्रति व्यक्तिको भागमा ७५ लिटर बार्षिक पर्न आउँछ । बिश्व खाद्य कृषि र डव्लु एचओ संगठनका अनुसार एउटा व्यक्तिले स्वस्थ रहन बार्षिक ९१ लिटर दुध पिउन आवश्यक छ । यसका लागि हामीलाई बार्षिक ४–५ लाख मेट्रिक टन दुध अपुग छ । डेरी उद्योगहरुलाई अहिले दैनिक १ लाख २५ हजार देखि १ लाख ५० हजार लिटर दुध दैनिक अपुग छ ।
गाउ“घरमा रहेको दुधलाई बजारीकरण गर्न नसकेको कारण अपुग भएको दाबी बिज्ञहरुको छ नि ?
१७ प्रतिशत मात्र औपचारिक तरिकाबाट डेरीसम्म आइपुगेको छ । ३३ प्रतिशत दुध घरघरमा पुगेर संकलनकर्ताले होटल, रेष्टुरेण्ट र घर दैलोमा पुर्याउँछन् । ५० प्रतिशत बजार अभावका कारण किसान आफैं उपभोग गर्न बाध्य छन । बाँकी रहेको दुधबाट खुवा, घिउ, दहिलगाएत दुग्ध पदार्थ बनाएर स्थानीयस्तरमा नै बेचबिखन गरिरहेको अवस्था छ । सडकको अभावले किसानले उत्पादन गरेको दुध बजारमा आउन सकेको छैन । पहाडी जिल्लालाई जोड्ने गरी मध्यपहाडी राजमार्ग निर्माण भइराखेको छ । यो सडक निर्माण पछि पहाडी क्षेत्रका किसानको मुहार फेरिने छ । त्यसैगरी मधेशमा पनि हुलाकी सडक निर्माण भइरहेको छ । तिनको निर्माण कार्य सम्पन्न भएसंगै बस्ती र गाउँहरुमा दुग्ध समुह गठन, सहकारी, दुध चिस्याउने र संकलन केन्द्र स्थापना गर्न सकिन्छ । त्यसतर्फ कृषि तथा पशुपंछी मन्त्रालय, राष्ट्रिय दुग्ध बिकास बोर्डलगायतका सम्वन्धित सरकारी निकायहरु लागिरहेको छ ।