सरकारबिरुद्ध आक्रामक बन्दै कांग्रेस

‘सरकारको गालीमा आफ्नो सफलता देख्नु महाभूल’

काठमाडौं । नेपाली काँग्रेसले वर्तमान केपी ओली नेतृत्वको सरकारले नेपाली जनतालाई पूरै निराश बनाएको आरोप लगाएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठित दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारमा संस्थागत भ्रष्टाचार, राज्य संरचनाहरूको दुरुपयोग र राजनीतिकरण, महंगी, हत्या, हिंसा, बलात्कार, असुरक्षा र अशान्ति सामान्य भएको ठहर समेत गरेको छ ।
बैठकद्वारा पारित समसामयिक प्रस्तावमा भनिएको छ ‘नेपाली जनताले लामो संघर्ष पश्चात प्राप्त गरेको अधिकारहरूलाई खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताको माझबाट स्वतस्फूर्त रुपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनाहरूलाई ध्वस्त गर्ने कोसिस भएको छ ।’
यसैगरी बैठकले नेपालको राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयता खस्केको र लगानी घटेको भन्दै परराष्ट्र मामिलामा पनि सरकार कमजोर बनेको ठहर गरेको छ । बैंकहरूले लिने उच्च व्याजदर, स्थानीय सरकारले लिने उच्च कर र लगानीकर्ताहरूले कानूनी व्यवस्थालाई अनुशरण गर्न नसक्दा आन्तरिक र वाह्य लगानी निरुत्साहित भएको र देशमा रोजगारीका अवसरहरू बढ्न नसकेको ठहर काँग्रेसले गरेको छ । बर्तमान दुई तिहाई कम्युनिस्ट सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा केबल नारामा मात्र सीमित भएको भन्दै जनतालाई झुक्याउन ल्याएको बताएको छ ।
बैठकले संविधानको मर्म र मान्यतालाई उल्लंघन गर्न सरकार स्वयम् लागि परेको भन्दै जनताको लामो संघर्षको प्रतिफल स्वरुप प्राप्त अधिकारहरू खोस्ने षडयन्त्र भइरहेको बताएको छ । सरकारको क्रियाकलाप प्रतिगमनलाई मद्दत गर्ने काममा संलग्न भएको भन्दै कांग्रेसले लोकतन्त्र विरोधी शक्तिहरूले सरकारको असफलता र कमजोरीहरूलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित गर्न कोशिस गरिरहेको आरोप पनि लगाएको छ ।
वर्तमान कम्युनिष्ट सरकार माफिया र विना परिश्रम सम्पत्ति आर्जन गर्ने झुण्डको वरिपरि सीमित भएको गम्भीर आरोप लगाउँदै कांग्रेसले वर्तमान सरकार एकदलीय मानसिकता, शक्तिको चरम केन्द्रीकरण र कुशासनको पर्याय बनेको ठहर गरेको छ ।
यस्तो निराशाजनक परिस्थिति रहेकोले अब चुप लागेर बस्न नहुने भन्दै बैठकले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न ढिलो भैसकेको ठहर गर्दै नेपाली कांग्रेसले आफ्नो भूमिकालाई संसद र संसद बाहिर अझ सशक्त बनाएर लैजाने निर्णय पनि गरेको छ । त्यसका लागि उसले १७ बुँदे प्रस्तावमार्फत सरकारलाई दवाब दिने रणनीति अख्तियार गरेको छ ।
झण्डै दुई महिना लगाएर बसेको वैठकले सरकारविरुद्ध १७ वुँदे आरोप लगाएपनि पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्ट मार्गचित्र तयार गर्न नसकेको भन्दै नेता, कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन् । सरकारका असफलता र कमजोरीलाई मात्र देखाएको र आफ्ना कमजोरी ढाकछोप गर्न खोजेको नेतृत्वमाथि आरोप लागिरहेको छ ।
शेरबहादुर देउवा र रामचन्द्र पौडेल जस्ता नेताहरूले आआफ्नै ढंगले पार्टी विधानको व्याख्या गरिरहेका छन् । तेह्रौ महाधिवेशन सम्पन्न भएपछि कांग्रेसमा लामो वैठक बस्ने परम्परा शुरु भयो । पार्टीभित्र बलियो नेतृत्व नहुँदा सबैले आफूलाई नेता ठान्ने र अरुलाई कज्याउन खोज्ने प्रवृत्ति बढ्दै गएको छ । सोही कारणले धेरै नेता हुँदा नास हुन्छ भन्ने महाभारतमा युधिष्ठिरको कथन (नश्यन्ति वहु नायक) चरितार्थ भइरहेको छ ।
आठ वर्ष पहिले नै गठन हुनुपर्ने केन्द्रीय विभागहरू अहिलेसम्म अपूर्ण अवस्थामा छन् भने ६ वर्ष वितिसक्दा पनि नेपाल दलित संघको महाधिवेशन हुन सकेको छैन । पार्टीका विभिन्न वर्गीय संगठन कमजोर हुँदै गएका छन् । केन्द्रदेखि प्रान्त, जिल्ला र वडातहसम्म फैलिएका संगठनहरू निस्क्रिय अवस्थामा छन् ।
केन्द्रका नेताहरूको गुटबन्दी सकिएन भने कुनै दिन नेपाली कांग्रेस नै सकिन्छ भन्नेहरू धेरै छन् । पार्टी पूर्ण रुपले कमजोर बनेको अवस्थामा त्यसको फाइदा वामपन्थी दलहरूले लिन सक्ने स्पष्ट छ । तसर्थ कांग्रेस राष्ट्रियता, प्रजातन्त्र, समृद्धि र समाजवाद जस्ता नारालाई जव सार्थक तुल्याउन सक्छ, तब पार्टी सुदृढ र एकढिक्का हुने र त्यसले परिणाम हात लाग्न सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । सरकारविरुद्धको गालीमा आफ्नो सफलता देख्नु कांग्रेसको महाभूल हुने विश्लेषकहरू बताउँछन् ।