‘बिपी साहित्य सम्मान’बाट बैरागी काइला सम्मानित
काठमाडौं । यस वर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ (बैरागी काइँला) लाई प्रदान गरिएको छ । जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा १०६ औँ बिपी जन्मजयन्तीको अवसर पारेर मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच एक लाख एक हजार रुपैयाँ राशिसहितको उक्त सम्मान साहित्यकार नेम्वाङलाई प्रदान गरिएको हो ।
त्यस्तै ‘बिपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्वपूर्ण योगदान पु¥याउने सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरिएकोे छ । सिंहले ५१ हजार रुपैयाँ राशिको पुरस्कार पाएका हुन् ।
सम्मानितहरुलाई पुरस्कार प्रदान गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी बहुआयामिक, चलायमान र दूरदर्शी नेता भएको बताए । बिपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न कांग्रेस खरोरुपमा उत्रनुपर्ने बताउँदै कोइरालाले गणतन्त्र र सङ्घीयतालाई सम्बद्र्धन गर्न सङ्घीय सरकारले आवश्यक काम गर्न नसकेको आरोप लगाए ।
सरकारले संसद्मा अघि बढाएका केही विधेयक लोकतन्त्रविरोधी भएको टिप्पणी गर्दै कोइरालाले काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
राजनीतिक विश्लेषक डा. हरि शर्माले बिपीले अपनाएको सिद्धान्त र दूरदर्शी सोचलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने वताउँदै मुलुकमा भ्रष्टाचार, महङ्गी र असुरक्षा बढ्दासमेत काङ्ग्रेसले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।
कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय वरिष्ठ साहित्यकार बैरागी काइँला र मधुकान्त सिंह, पूर्वराजदूत डा. सुरेश चालिसे, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, प्रा. अभि सुवेदी, ट्रष्टका महासचिव रामचन्द्र पोखरेललगायतले बिपीले मुलुकका लागि गर्नुभएको राजनीतिक र साहित्यिक योगदानको चर्चा गरेका थिए ।