ओलीलाई अप्ठ्यारो पार्ने प्रचण्ड प्रयास
प्रचण्ड धारणा वेइजिङबाट सम्प्रेषण गरिँदा वासिङ्टन झस्कियो
काठमाडौं । सत्तारुढ दलका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच मतभिन्नता बढ्दै गएको छ । दाहालले पार्टीभित्रको गुट समाप्त पारेर पार्टीलाई सशक्त र एकढिक्का बनाउने वताएपनि अध्यक्ष ओलीलाई नै अप्ठ्यारो पार्ने काम गरेर सरकार र पार्टी दुवैलाई बेलाबेलामा विवादमा तान्ने काम गर्दै आएका छन् । ओलीको असफलतामै आफ्नो सफलता देखेका दाहालले सरकारको नीति भन्दा बाहिर गएर बेलाबेलामा अभिव्यक्ति दिने गरेका छन् ।
पछिल्लो समय २०७२ भदौ ७ गते सात जना प्रहरी र एक अवोध बालकको ज्यान जाने गरि टिकापुरमा भएको घटनालाई दाहालले ‘राजनीतिक अधिकारको लडाई’को संज्ञा दिएपछि मानवअधिकारवादीहरुले प्रश्न उठाएका छन् । त्यस्तै हालै नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा दाहालले अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीतिमा नेपालको समर्थन नरहेको अभिव्यक्ति दिएर अमेरिकालाई चिढ्याउने काम गरेका छन् । वाङसँगको भेटवार्तामा पार्टीको विदेश विभागका सदस्यहरुलाई सामेल नगराई दाहालले आफ्नो छोरीलाई मात्र सहभागि गराएका थिए । यसले पनि नेकपाका नेताहरु दाहालप्रति सशंकित बनेका छन् ।
नेपालको परराष्ट्र नीति बारे पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई चीनको विदेश मन्त्रालयले आधिकारिक ठानेपछि नेपाललाई अप्ठ्यारो परेको छ । वाङ यीले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए । तर दाहालको धारणालाई चीनको विदेश मन्त्रालयले आफ्नो वेभसाइटमा राखेपछि अमेरिकाले नेपालको आधिकारिक धारणा के हो भन्ने प्रश्न गरेको छ ।
चीनले नेपालसँग इन्डो–प्यासिफिक रणनीतिबारे कुराकानी भएको जनाउँदै नेपाल त्यसको विपक्षमा रहेको जानकारी सार्वजनिक गरेपछि अमेरिकाले नेपालको धारणा चीनमार्फत थाहा पाउनुपर्ने ? भन्ने आशयको कठोर प्रश्न गरेको छ ।
पूर्वप्रम शेरबहादुर देउवा र नेकपा अध्यक्ष दाहालको धारणा चीनको विदेशमन्त्रालयको आधिकारिक वेभसाइटमा चिनियाँ भाषामै राखिएपछि त्यसलाई अझ आधिकारिक मानिएको छ । वेइजिङबाट सम्प्रेषण गरिएको नेकपा अध्यक्ष दाहालको धारणाले वासिङटनलाई झस्काएको छ ।
वेइजिङ र वासिङ्टनबीच तनाव बढिरहेका बेला नेकपाका अध्यक्ष दाहालले आगोमा घ्यू थप्ने काम गरेको भन्दै कतिपय पुराना कूटनीतिज्ञहरुले सरकार मौन बसेका बेला पार्टी अध्यक्षले त्यसरी प्याच्च बोल्दा समस्या थपिएको विश्लेषण गरेका छन् ।
अमेरिकी सरकारको प्रतिवेदनअनुसार इन्डो प्यासिफिक रणनीति अमेरिकी सरकारको नीति हो, जसले खुला र स्वतन्त्र समाजको अवधारणामा जोड दिन्छ र त्यसको प्रवद्र्धनमा सहयोग पु¥याउँछ । तर केही विश्लेषकहरूले भने हिन्द प्रशान्त रणनीतिको प्रकृति सैनिक गठबन्धनको रहेको र त्यसले चीनलाई ‘नियन्त्रण’ गर्ने उद्देश्य रहेको टिप्पणी गर्दै आएका छन् । अमेरिकाको इन्डो प्यासिफिक र चीनको वीआरआई प्रतिस्पर्धी रहेको बताइएको छ ।
अध्यक्ष दाहालको धारणालाई नेपाल सरकारको धारणाको रूपमा बुझ्नु नहुने भन्दै नेकपाका नेताहरुले चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीसँग नै औपचारिक वार्ता गरेको सन्दर्भमा उनीहरुको धारणा नै नेपालको धारणा बुझ्नुपर्ने बताएका छन् ।
साम्राज्यवादी र विस्तारवादी भन्दै १० वर्षे द्वन्द्वका बेला अमेरिका र भारतलाई समेत गाली गर्ने दाहालको द्वैध चरित्र उजागर हुँदै आएको छ । असंलग्न परराष्ट्र नीतिमा नेपाल दृढ रहेको सरकारको धारणा छ । दाहाल पनि त्यो स्वीकार्छन । तर चीन र अमेरिकाको विवादमा चीनपरस्त देखिने अभिव्यक्ति दिएर दाहालले द्वैध चरित्र देखाएका छन् ।
अमेरिका र भेनेजुयलाबीच तिक्तता बढेको बेला उनले भेनेजुयलाका राष्ट्रपति मडुरोका छोरासँग भेट गरे भने अमेरिकाको भेनेजुयलाप्रतिको नीतिको पनि कडा आलोचना गरेर सरकारलाई अप्ठ्यारोमा पारेका थिए । त्यस्तै काठमाडौंमा साउनको दोस्रो हप्ता आयोजित कार्यक्रममा क्युवाप्रति ऐक्यवद्धता जनाउने आफ्नो नीति रहेको भन्दै अमेरिकालाई चिढ्याउने काम गरेका थिए ।
दाहालको अभिव्यक्ति पछि नेपालको नीतिबारे अमेरिकाले चासो राखेको चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले इन्डो प्यासिफिक नीतिबारे नेपालको पूर्ववत मान्यतामा कुनै विचलन र परिवर्तन नआएको बताएका छन् । उनले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी मित्रराष्ट्रसँग आपसी हितमा सचेत भएर नै सरकारले व्यवहार गर्दै आएको बताएका छन् ।
असंलग्नता र पञ्चशील नेपाली विदेश नीतिका महत्वपूर्ण आधार भएको बताउँदै राजनीतिक विश्लेषकहरु भन्छन् “नेपालको संविधानदेखि नेकपाको पछिल्लो दस्तावेज हेर्दा पनि थाहा हुन्छ नेपालको आधिकारिक धारणा । नेकपाको पछिल्लो राजनीतिक प्रतिवेदनमा प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ, उत्तर कोरियाली प्रायद्वीपको तनाव, चीनविरुद्धका कथित स्वतन्त्र तिब्बतका गतिविधिहरूलाई ध्यानमा राख्नुपर्छ भन्ने उल्लेख छ । यसको अर्थ छिमेक र विश्वमा देखिएका जल्दाबल्दा मुद्दामा नेपालले स्वतन्त्र धारणा बनाउँदै आवश्यकताका आधारमा आफ्नो अडान सार्वजनिक गर्ने हैसियत राख्छ भन्ने हो ।” नेताहरुले पनि बोल्दा यस्तो विषयको ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ ।
यसरी एउटै पार्टीका नेताहरुले परराष्ट्र नीतिका बारेमा स्पष्ट र एउटै धारणा बनाउन नसक्दा त्यसले सरकारको विदेश नीति माथि प्रश्न उठ्नु स्वभाविक पनि हो । यस्तो दुई जिव्रे चरित्र विकसित भइरहेको खण्डमा कालान्तरमा विदेश नीति मात्र होइन, नेपालको राष्ट्रिय सुरक्षा नीतिलाई समेत जोखिममा पार्न सक्ने भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकाको विरोध नगरेको प्रचण्ड प्रट्याइ
यसैवीच प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएको भेटबारे मिडियाले गलत प्रचार गरेको आरोप लगाएका छन् । आफूले विदेशमन्त्री यीसँग नेपालको घोषित परराष्ट्रनीति अन्तरगत नै कुराहरु राखेको दावी गरेका छन् ।
हिजो इलाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने ‘हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीति नेपालको विदेश नीतिको आधार हो । त्योबाट नेपाल विचलित छैन र विचलित हुँदैन । त्यही अनुरुप हामी कुनै पनि शक्ति राष्ट्रको सैनिक गठबन्धनमा सामेल हुँदैनौँ । चाहे त्यो विमस्टेकको सन्दर्भमा सैन्य अभ्यासको कुरा होस्, चाहे त्यो इन्डो इन्डोप्यासिफिक फ्रन्ट अन्तरगतको सैन्य गतिविधि होस् वा अन्य कुनै सैन्य गठबन्धन वा त्यस्ता रणनीतिक उद्देश्यसहितका गठबन्धन होस्, हामी संलग्न हुनसक्दैनौँ, हुँदैनौ । सैन्य रणनीति सहित अएको अवस्थामा त्यसमा संलग्न हुन सक्दैनौँ ।’
त्यस्तै अमेरिकाले स्पष्टिकरण माग्यो भन्ने कुरा पनि गलत भएको दाहालले बताएका छन् । उनले अमेरिकाको राजदूतावास वा अमेरिकाको स्टेट डिपार्टमेन्टबाट सरकारलाई कुनै चिठ्ठी नआएको दावी गरेका छन् ।
भनेजुएला र क्युवाको प्रकरणमा पनि राष्ट्रको घोषित नीतिको आधारमा नै आफूले बोलेको उनले बताएका छन् ।
इण्डो प्यासेफिक रणनीतिको गलत ब्याख्या ः अमेरिका
नेपालस्थित अमेरिकी दूतावासले आफ्नो मुलुकको इण्डो प्यासेफिक रणनीतिबारे नेपालमा गलत ब्याख्या भएको गुनासो गरेको छ । शुक्रबार राजधानीमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै दूतावासका राजनीतिक तथा आर्थिक मामला प्रमुख क्लिनटन एस ब्राउनले इण्डो प्यासेफिक रणनीतिलाई डरलाग्दो अर्थमा नेपालले बुझेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
इण्डो प्यासेफिक रणनीति दक्षिण एसिया स्वतन्त्र, खुल्ला र स्थिर रहोस् भन्ने दोस्रो विश्वयुद्ध पछिको अमेरीकी चाहनाको उपज भएको उनले बताएका छन् ।
इण्डो प्यासेफिक नीति वा रणनीतिमा आउनै पर्छ वा पर्दैन भन्ने भन्दा पनि ७० वर्षदेखि नेपाललाई अमेरिकाले गरिरहेको सहयोगको निरन्तरताका रुपमा मात्रै यसलाई बुझ्न उनले घुमाउरो पारामा दवाव दिएका छन् ।