अब सित्तैमा मलेसिया

काठमाडौं । नेपाली कामदार अब शून्य लागतमै मलेसियामा रोजगारी गर्न जान पाउने भएका छन् । दुवै देशको सहसचिवस्तरीय प्राविधिक समितिमा तत्काल मलेसिया रोजगारी खुला गर्ने सहमति भएको बताइएको छ । मलेसियाको रोजगारी झण्डै बर्षदेखि रोकिएको थियो । दुई मुलुकको सहमतिअनुसार नेपाली कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकल खर्च पनि पहिलो महिनाको तलब दिँदा फर्काउने सहमति भएको छ । मलेसियासँग कात्तिकमा श्रम सम्झौता (एमओयू) भएको थियो ।
समझदारी कार्यान्वयन गर्ने सिलसिलामा मलेसियाली पक्षले विभिन्न बखेडा झिकेको थियो । मलेसियाले प्राविधिक समितिको बैठक बोलाउन लामो समय देखि आलटाल गर्दै आएको थियो । समितिको पहिलो बैठक एमओयूलगत्तै काठमाडौंमा नै बसेको थियो । श्रम समझदारी भएको वर्ष पुग्न लाग्दा पनि एमओयूको भावनाअनुसार कामदार मलेसिया जान सकेका थिएनन् । स्वास्थ्य परीक्षण गर्ने सीमित संस्थालाई मात्र मलेसियाले मान्यता दिन खोजेपछि डेढबर्ष यो बिषय थप जटिल बनेको थियो । थप भएका स्वास्थ्य संस्थाको अडिट गर्न नोभेम्बर पहिलो साता मलेसियाली टोली नेपाल आउने सहमतिसमेत भएको मन्त्रालय स्रोतले बताएको छ । मलेसियाले गर्ने ‘अडिट’ पास भएपछि ती संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने छन् । नेपालले भने ती स्वास्थ्य संस्था स्वयम् मलेसिया सरकारले दिएको मापदण्डभित्र परिसकेकाले सबैलाई स्वास्थ परीक्षणको अनुमति दिनुपर्ने अडान राखेको बताइएको छ । एमओयू दुबै पक्षले कार्यान्वयन गर्ने सहमति भएको श्रम मन्त्रालयका अधिकारीले जनाएका छन् । मलेसियाको रोजगारी खुलाउन क्वालालम्पुरमा तीन दिन वार्ता भएको थियो । बैठकमा नेपालबाट श्रम मन्त्रालयका सहसचिव डा घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल र मलेसियाबाट मानव संशाधन मन्त्रालयका नीति महाशाखका प्रमुख बेट्टी हसन नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो ।