ओलम्पिक कमिटीमा पुनः श्रेष्ठ
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । स्की संघका श्रेष्ठ आगामी चार वर्षका लागि निर्वाचित भएका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद समेत समेत रहेका श्रेष्ठको एनओसीमा दोस्रो कार्यकाल हो ।
हिजो भएको मतदानमा उनले हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् । निर्वाचनमा खसेको कूल २७ मतमध्ये जीवनरामले १७ र उमेशलालले १० मत प्राप्त गरेका थिए ।
यसअघिको निर्वाचनमा पनि उमेशलाल उनै जीवनरामसँग अध्यक्षमा पराजित भएका थिए ।
त्यसैगरी आगामी चार वर्षे कार्यकालका लागि पाँच उपाध्यक्षमा टेनिसकी अध्यक्ष ज्योती राणा, टेबल टेनिसका अध्यक्षा चतुरानन्ध वैद्य, फेन्सिङका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, ह्यान्डबलका अध्यक्ष तेज गुरुङ र पौडीका अध्यक्ष अशोक वज्राचार्य निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा ट्रायथलन संघका निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन् । सहमहासचिवमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा एथलेटिक्स संघका प्रतिनिधि पिताम्बर तिम्सिना र कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष रतनकुमार टण्डन यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै, तीन सचिवमा जुडोका दीपकहर्ष वज्राचार्य, कबड्डी अध्यक्षा तथा नेकपा नेता बामदेव गौतमकी पत्नी तुलसा थापा र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरी सदस्यमा फुटबलका दीर्घबहादुर केसी, आर्चरीका रमेश शिवाकोटी, बास्केटबलका होमबहादुर दोङ, बक्सिङका राम अवाले, साइक्लिङका गोपालसुन्दरलाल कक्षपती, तेक्वान्दोका प्रकाशसम्शेर राणा र गल्फका टासी घले निर्वाचित भएका छन् ।