लामखुट्टेबाट बचौं र बचाऔं अभियान
चितवन÷यहाँ डेंगूका बिरामी बढेसँगै स्वास्थ्यकर्मीको सक्रियता पनि बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीलगायतको टिमलाई अभिमुखीकरण तालिम दिन भ्याई नभ्याई छ । यसै साता डेंगू ज्वरोको जानकारी दिन भरतपुर महानगरपालिकाका स्वास्थ्य अधिकृत सूर्य तिवारी पनि राम केसीको साथमा खटिनु भएको थियो । उहाँहरूका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । यस जातको पोथीले प्रायः सफा पानी जमेको ठाउँमा फुल पार्ने भएकाले घरको वरीपरी पानी जम्न नदिनु सबै नागरिकको कर्तव्य हो । पूmलका गमला, साइकल, मोटरसाइकल र गाडीका टायर, खाली डब्बाहरू, चाउचाउ बिस्कुट आदिका खोल, पानी ट्यांकी, पानीका ड्रम, एअर कण्डिशन र एअर कुलरमा थोरै मात्र जम्मा भएको पानीमा पनि फुल पार्नु यसको विशेषता हो । त्यसैले पानी जम्मा हुन नदिन र फुल पारिहालेमा लार्भालाई सुख्खा ठाउँमा फाल्दिने अभिायन नै चलाउनु पर्ने आजको खाँचो हो । प्रशिक्षकद्वयले भन्नुभयो । एक्कासी उच्च ज्वरो आउनु, शरीरका विभिन्न भागमा दुख्नु, वाकवाकी लाग्नु जस्ता लक्षण देखापरेमा सरकारी अस्पताल वा हेल्थपोष्टमै देखाउनु पर्छ । डेंगूको फाइदा उठाउन केही निजी मेडिकल पनि लागिपरेकाले त्यस्ता मेडिकल कार्वाहीको दायरामा पर्ने चेतावनी पनि उहाँहरूले दिनुभयो । निजी मेडिकलबाट यो रोग नियन्त्रण हुन असम्भव भउकोले अफवाहमा लागेर अनावश्यक खर्च नगर्न उहाँहरूको सुझाव छ ।
नेपाल रेडक्रस सोसाइटी मंगलपुर उपशाखाका सभापति इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको सहजीकरण मंगलपुर उपस्वास्थ्य चौकीका तर्फबाट इञ्चार्ज ईश्वरा तिवारीले गर्नुभएको थियो । अहिले चितवनमा लामखुट्टेबाट बचौं र बचाऔं अभियान चलिरहेको छ । जसअन्तर्गत रेडक्रस, स्वास्थ्यकर्मी, सरकारी निकाय तथा संघसंस्था लामखुट्टे हाबी हुने ठाउँमा सचेतना जगाउन र लार्भा मार्न लागिपरेका छन् ।