चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि तयारी तीब्र
राष्ट्रपति सीले के देलान् नेपाललाई चिनो ?
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने निश्चित जस्तै भएपछि त्यसको तयारी शुरु भएको छ । राष्ट्रपति सी असोज भित्र नेपाल आउने र काठमाडौंमा एक रात विताउने बताइएको छ । राष्ट्रपति सी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । स्रोतका अनुसार १४ अक्टोेबर अर्थात २७ असोजमा राष्ट्रपति सी नेपाल आउनेछन् र भोलिपल्ट फर्किनेछन् ।
राष्ट्रपति सीको भ्रमणबारे तयारी गर्न होङ लेइको नेतृत्वमा चीनको प्रतिनिधिमण्डल हालै काठमाडौं आएर फर्किसकेको छ भने अर्को टोली आउने तयारीमा रहेको बताइएको छ । चीनको विदेश मन्त्रालयका शिष्टाचार विभाग प्रमुख लेइको नेतृत्वमा १८ जनाको टोली मंगलबार नेपाल आएर फर्किएको बताइएको छ ।
राष्ट्रपति सी नेपाल आउने प्रायः निश्चित भए पनि मिति भने सार्वजनिक गरिएको छैन । नेपाल आएको लेइको समूहले राष्ट्रपति बस्ने होटलका कोठाहरु, सुरक्षा व्यवस्था र अन्य विविध विषयमा जानकारी लिनुका साथै विभिन्न विशिष्ट व्यक्तिहरुसँग छलफल गरेर फर्किएको बताइएको छ ।
सुरक्षा विज्ञ समेतको टोलीले पटक–पटक त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे, फ्युलिङ, ह्याङगर, विशिष्ट कक्ष, टावर र बाहिरको वस्तुस्थिति अवलोकन गरेको छ । चीनबाट आएको सो टोलीसँगै नेपाली सुरक्षा अधिकारी समेतले विमानस्थलको अवस्था अवलोकन गरेका छन् । त्यो टोलीले नेपाली अधिकारीहरुसँग सहकार्य गरिरहेको बताइएको छ ।
सो टोलीले प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र परराष्ट्रमन्त्रालयका उच्च पदस्थ अधिकारीसँग भेट गरेको बताइएको छ ।
नेपालमा चीनका राष्ट्रपतिको स्वागतका लागि कस्तो तयारी हुँदैछ र सुरक्षा व्यवस्था कस्तो छ भन्नेलगायतका कुरामा चिनियाँ पक्षले चासो देखाएको अधिकारीहरुले बताएका छन् ।
चारै सुरक्षा निकायका गुप्तचर इकाई सक्रिय बनाएको बताइएको छ । उनीहरुले गोप्य रुपमा ‘स्पेसल असाइन्मेन्ट’ मा काम गरिरहेको स्रोतको दावी छ ।
नेपालका चार वटै सुरक्षा निकायहरुले प्राथमिक रुपमा सीलाई काठमाडौंमा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गर्नेछन् र त्यसैअनुसार सुरक्षा प्रबन्ध मिलाउनेछन् ।
नेपाली सेनाको मिलिट्री इन्टिलिजेन्स (डीएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र काठमाडौं प्रहरी, सशस्त्रको गुप्तचर इकाई र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुले सीको नेपाल भ्रमणका सम्भावित सुरक्षा चुनौती संकलन गरिरहेका छन् ।
उच्च स्रोतका अनुसार नेपाली सेनाको डीएमआईले सहायक रथीकै नेतृत्वको टोली परिचालन गरेर काम गरिरहेको छ ।
नेपाल भ्रमणमा रहँदा राष्ट्रपति सीलाई पहिलो घेराबाट नेपाली सेनाले सुरक्षा दिनेछ । सेनाको डीएमआईबाट खटिएका अधिकारीहरु यतिबेला भेष बदलेर सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र मकवानपुरका गाँउसम्म पुगेका छन् । सेनाको प्रारम्भिक विश्लेषणमा सीलाई भौतिक हानी पु¥याउने किसिमको खतरा छैन ।
सीको सुरक्षाको केन्द्रीय जिम्मेवारी पनि नेपाली सेनाकै हुनेछ । सेनाको नेतृत्वमा केन्द्रीय सुरक्षा सेल बनाएर सीको भ्रमण अवधिभर सुरक्षा दिने तयारी भएको छ । त्यस्तो सेलमा सशस्त्र, प्रहरी र राअविका अधिकारी रहनेछन् ।
सीको यो भ्रमणलाई सम्पूर्ण रुपले सुरक्षित बनाउन नेपाल प्रहरीले सबैभन्दा बढी सक्रियता देखाइरहेको छ । भ्रमण अवधिमा बाटो व्यवस्थापनदेखि भेटघाटलाई समेत निगरानी गर्ने प्रहरीले तिब्बती गतिविधिमा सक्रियहरुको प्रोफाइल बनाएर निगरानी थालेको छ ।
प्रहरीको विशेष ब्युरोबाट खटिएका एसपीले वृत्त बौद्ध र वृत्त स्वयम्भुसहितका इकाईसँगको सहकार्यमा ‘फ्रि तिब्बत मुभमेन्ट’ मा सक्रियहरुको प्रोफाइल तयार पारेको छ । तिब्बतीहरुलाई पनि खतराको दृष्टिले श्रेणी छुट्याएर निगरानी सुरु भएको छ । विभिन्न धार्मिक संगठन तथा सामाजिक संस्थाका नाममा हुने चीन विरोधी गतिविधिमा सक्रियहरुको सुचि तयार पारिएको र उनीहरुले राष्ट्रपति सीको भ्रमण अघि नै नियन्त्रणमा लिने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
प्रहरीले त्यस्ता संघसंस्थाको कार्यसमितिमा रहेका एवं सल्लाहकार समूहमा रहेकाहरुको निगरानी बढाएको हो । ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर र रसुवाका अति ग्रामीण भेगमा रहेका गुम्बाहरुमा समेत प्रहरी निगरानी बढाइएको बुझिएको छ ।
त्यस्तै चीनका स्टेट काउन्सिलका प्रभावशाली सदस्य सोङ ताओ शनिबार नेपाल आएका छन् । उनले नेपाल वाहेक इन्डोनेसिया र थाइल्याण्डको समेत भ्रमण गर्ने बताइएको छ ।
२३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको यो पहिलो नेपाल भ्रमण भएकाले परराष्ट्रविद्हरुले यसलाई निकै महत्वपूर्ण घटनाका रुपमा लिएका छन् । राष्ट्रपति सीको भ्रमणको प्रमुख एजेण्डा केरुङ–काठमाडौं रेलमार्ग हुन सक्ने बताइएको छ । तर त्यसबारे अहिलेसम्म सम्भाव्यता अध्ययन समेत नहुँदा रेलमार्गको लागत र निर्माण अवधिलगायतका कुरा ओझेलमै परेका छन् । धेरै ठूलो परियोजना भएकाले विदेशी गुहार्नुपर्ने अवस्था छ भने चीनले सो रेलमार्ग नेपालले नै बनाउनुपर्ने आशय व्यक्त गरिसकेको छ ।
चीन र नेपाल जोड्ने रेलमार्गलाई चाहिने तीन खर्ब रुपैयाँ लगानी गर्न विश्व बैंक वा पश्चिमा शक्तिहरु तयार देखिदैनन् । राष्ट्रपति सीको भ्रमणको तयारीसँगै केरुङ–काठमाडौं रेलमार्ग प्राविधिक र लगानीका हिसावले कति सम्भव छ भन्ने बहस भइरहेको छ । चीन र नेपालका प्राविधिक अधिकारीहरु जटिल भूबनोट, भूकम्पीय दरार क्षेत्रमा ९० प्रतिशतभन्दा बढी सुरुङ र पुल निर्माण गर्नु पर्ने भए पनि इन्जिनियरिङका हिसावले यो रेलमार्ग सम्भव तर अत्यन्त जटिल भएको बताउँछन् ।
चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको एक साताअघि भएको नेपाल भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर चीनलाई अनुदानमा बनाइदिन नेपालले प्रस्ताव गरेको थियो । रेल विभागका पूर्व महानिर्देशक अनन्त आचार्यका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि लाग्ने करिब साढे ३ अर्ब रुपैयाँ चीन र नेपालले आधा–आधा लगानी गर्ने सम्झौताको नजिक पुगेर पनि नेपालले चीनलाई अनुदानमा बनाइदिन प्रस्ताव गरेको बताइएको छ ।
चिनियाँ पक्षले रेलमार्ग विकास गर्न नेपालले प्राविधिक तथ्यांक उपलब्ध गराउनुपर्ने माग गरेको छ । जसमा जग्गा, वन, जनसंख्यालगायत छन् । जग्गा प्राप्तिका लागि स्पष्ट कानुन, पूर्वाधार आयोजना संंचालनसम्बन्धी कानुन र वातावरणीय सुरक्षासम्बन्धी कानुन हुनुपर्ने चीनको जोड छ । यीबाहेक आयोजना स्वीकृतिको प्रक्रियामा पनि नेपाली पक्षले सहयोग गर्नुपर्ने चिनियाँ शर्त छ ।
कस्तो छ नेपाल चीन सम्वन्ध ?
सन् १९५५ मा नेपाल र चीनबीच दौत्य सम्वन्ध स्थापना भएपनि राजा अंशुवर्माको पालादेखि नेपाल र चीनबीच अनौपचारिक सम्वन्ध रहेको देखिन्छ । तिब्बतका राजा श्रङचङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह भएको र उनले नै तिब्बतमा गएर बुद्धधर्मको प्रचार गरेको इतिहासमा पाइन्छ ।
त्यस्तै होयन साङ र फाहियान जस्ता विद्वानहरुले नेपालको भ्रमण गरेर आफ्नो यात्रा वृतान्तमा नेपालको चर्चा गरेपछि चीनका नेपालबारे चासो बढेको हो । चन्द्र शमशेरको पालामा सन् १९०३ मा जापानी भिक्षु इकाई कावागुचीले नेपाल हुँदै चीनको भ्रमण गरेका थिए भने भारतमा अंग्रेजले शासन गरेका बेला नेपालकै मद्दत लिएर योङ हस्बेन्डको नेतृत्वमा एउटा टोली चीन गएको थियो ।
२०१८ सालतिरै नेपाल भ्रमण गरेका चीनका तत्कालिन परराष्ट्र मन्त्री मार्सल चेन यीले नेपाललाई कसैले हेप्छ भने चीनले सहेर नबस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री चाउ एनलाईसँग नेपाल आएका मार्सल चेन यी अध्यक्ष माओका परममित्र भएकाले उनको धारणालाई भारतले निकै अभिरुचिपूर्वक हेरेको थियो । यस्ता ऐतिहासिक तथ्य र आधारले नेपाल र चीनबीचको सम्वन्ध मित्रतापूर्ण रहेको देखाउँछ ।
पछिल्ला वर्षहरुमा नेपाल चीनसँग बढी लहसिएको भन्दै भारतले गुनासो गरिरहेको छ । यस्तै अमेरिकाले पनि चीनसँग बढी घनिष्टता नदेखाउन नेपाललाई प्रत्यक्ष र परोक्ष रुपमा दवाव दिदै आएको छ । यस्तो स्थितिमा चीनका राष्ट्रपतिको भ्रमणमा नेपाली कूटनीति परिपक्व देखिनु आवश्यक छ भने कुनै एउटा शक्तिलाई नजिक ठानेर अरुलाई टाढा बनाउँदा पनि त्यसको क्षति राष्ट्रले नै भोग्नुपर्ने हुन्छ ।