चितवनमा काँग्रेस जाग्यो, सरकारको राजीनामा माग्यो

चितवन / राष्ट्रिय जागरण अभियानको समापनमा काँग्रेस नेता बालकृष्ण खाँडले पुल्चोकबाट सत्तासीन कम्युनिष्टलाई थर्काए । गाडीको चापले जाम हुने पुल्चोकमा काँग्रेसका हजारौं कार्यकर्ता भरिएपछि एकातिर करिब दुईघण्टा गाडीका गति खल्बलिए अर्कातिर काँग्रेस भन्दै थिए कम्युनिष्टको मति पनि खल्बलियो होला ।
अहिले देश लोकतान्त्रिक संविधान अनुसार संसदीय व्यवस्थामा चलेको छ, लोकतन्त्र चाहने नागरिक भएको देश नेपालमा कम्युनिष्ट शासन चल्न सम्भव नै छैन भन्ने नेता खाँडको दाबीलाई तालीले हाबी बनायो । लोकतान्त्रिक प्रणालीलाई आफ्नो आदर्श मानेको काँग्रेसलाई उपेक्षा गर्दा राणाशासनको पतन भयो, पञ्चायती व्यवस्थाको अन्त्य भयो र अहिले दुईतिहाईको दम्भमा काँग्रेसलाई अनदेखा गर्ने कम्युनिष्टको पलायन पनि अवश्यम्भावी छ नेता खाँडले भने । डबल नेकपाको सरकारले मनलाग्दी गर्दा पनि काँग्रेस केही बोल्न सकेन भन्ने जनगुनासो आएको छ, यो जनगुनासोलाई सम्बोधन गर्दै हामीले प्रधानमन्त्री केपी ओलीलाई भनिरहेका छौं नगर्नु गल्ति गरिरहनुभएको छ, सच्च्याउनुस् । निर्मला हत्याकाण्डका दोषीलाई कार्वाही गर्नुस्, सुनकाण्डका मूल नाइकेलाई जेल हाल्नुस्, वाइडबडी काण्ड, एनसेलको अर्बौं करछली काण्ड, प्रधानमन्त्री निवास बालुवाटारको जग्गाकाण्ड, एनटीसीको फोरजीमा भएको १२ अर्बको घोटाला, टुँडिखेलकाण्ड, मेलम्चीको भ्रष्टाचार निष्पक्ष छानबीन गर्नुस् भनिरहेका छौं र अझै भन्छौं ।
नेता खाँडले १७ हजार मान्छे मारेका, काठमाडौं र सिरहाबाट बाईबाई गरिएका प्रचण्ड चितवनबाट पनि बाईबाई हुनेबेला आएको बताएपछि कार्यकर्ताको तालीको बाली मौलायो ।


चितवन काँग्रेसका सभापति जीतनारायण श्रेष्ठले अध्यक्षको समापन मन्तव्यमा कार्यकर्तालाई थप हौस्याउँदै भने,–हामीलाई अघिल्ला चुनावमा प्रचण्डले दिएको धोखाको बदला चितवन भरतपुर वडा नं. १६ को अध्यक्षलगायतका पदमा हुने उपचुनावमा लिनेछौं । करोडौं लगानीमा बनेको कालोपत्रे दुई महिनामै केराको पातले छोपेर राख्ने अवस्थामा पुग्नु स्थानीय तहमा भएका कम्युनिष्ट सरकारका केही नमुना भ्रष्टाचार हुन्, यस्ता भ्रष्टाचार कति छन् कति । हामीलाई बहुमतको दम्भमा यति पेलिएको छ कि मानौं यहाँ प्रतिपक्ष नै छैन, तर नआत्तिऔं साथीहरू हामी एक÷एक गरेर बदला लिन्छौं, यस्तो बदला आगामी चुनावका नतिजा नै हुनेछन् । अब कुनै पनि हालतमा चितवन काँग्रेसले हँसिया हथ्यौडा वा नेकपाको चुनाव चिन्हलाई भोट दिनुस् भन्ने छैन ।
सरकारले विभिन्न निहुँमा कर असुलेको असुल्यै छ तर जनताले न मल पाएका छन्, न उत्पादनको मोल पाएका छन् यस्तो पनि सहेर बस्नु पर्ने कस्तो ज्यादती हो नेता श्रेष्ठले भने र कार्यकर्ताले तालीको पाली गने । चौविसकोठीबाट नाराबाजीसहित शुरु भएको असोज ७ गतेको उक्त ¥यालीमा उल्लेख्य सहभागिता देखेर हौसिएका अन्य नेताले पनि पुल्चोकमा सरकारलाई गाली गर्न आफ्नो समय खर्चिए । यसरी समय खर्चिनेमा काँगेसका रामचन्द्र अर्याल, धनलक्ष्मी श्रेष्ठ, उमा अधिकारी, शेषनाथ अधिकारी, धर्मराज अर्याल लगायत थिए । सभाको सहजीकरण काँग्रेस चितवनका सचिव उत्तम जोशीले गरेका थिए ।