नेपाल सम्वत् (नयाँ वर्ष) कै दिन म्हःपूजा

काठमाडौं । नेपालभाषा मंकाः खलः काठमाडौंले यो वर्ष नेपाल संवत् ११४० नयाँ वर्ष तथा म्हःपूजा कात्तिक १२ गते मंगलबार मनाउन आग्रह गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको पात्रोअनुसार परम्परामा अलमल सिर्जना भएको भन्दै नयाँ वर्षको प्रथम दिन नै म्हःपूजा गरिने खलःले जनाएको छ । यस्तै, कात्तिक ११ गते सोमबार औंसीका दिन लक्ष्मीपूजा तथा कात्तिक १३ गते बुधबार द्धितीयाको दिन भाइटीका मनाउन नेवार समुदायलाई आग्रह गरेको छ ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभइ परम्परादेखि चल्दै आएको व्यवहारमा पनि ध्यान दिन आग्रह गरे ।
प्रा. डा. त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपायहरु रहँदा–रहँदै पनि समितिले गर्ने बेवास्ताप्रति असन्तुष्टि जनाए । धर्मोदय सभाका अध्यक्ष यज्ञमान पतिले लक्ष्मीपुजा, म्हपुजा र किजापुजा तीन दिन मनाउने चलन परमपरागत संस्कृति रहेको जानकारी गराए । सो अनुसार निम्न स्वरुपमा स्वन्ति पर्व मनाउनु पर्नेमा सबै एकमत रहेको छ ।
लक्ष्मीपुजा –ने.सं. ११३९ कौलागा औसी (कार्तिक ११ – सोमबार) नेपाल संवत् ÷नयाँ वर्ष, म्हपुजा ने.सं. ११४० कछलाथ्व प्रतिपदा (कार्तिक १२ – मंगलबार), किजा पुजा÷भाईटिका ने.सं. ११४० कछलाथ्व दुतीया (कार्तिक १३ – बुधबार)
(नेपाल पचाङ्ग समितिको प्रकाशित पात्रोमा यी तिथिहरु निरन्तर छ, दोहरिएको वा खण्डित छैन)
नेपाल संवत् सदा कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने र यसै दिनमा नेवारहरूले म्हपुजा गर्ने चलन सयौंवर्ष अधिदेखि व्यवहारमा रहेको छ । औसिका दिन म्हपुजा गर्नु र दुतियाका दिन नेपाल संवत् परिवर्तन हुने भनी दुष्प्रचार गरेर म्हपुजा र नयाँ वर्ष अलग्ग गरि विभाजन ल्याउनु र किजापुजा प्रतिपदाका दिन गर्ने भनी विवादास्पद तिथि उल्लेख हुनु नेपालको मौलिक नेवार संस्कृति र परम्परागत मान्यताको विपरितरहेको तथ्य विज्ञ, संस्कृतिविद, र सरोकाकारवालाहरूमा एकैमत रहेकोले परम्पराअनुरूप यस वर्षको स्वन्ति पर्वमा एकताकायम गरि हर्षोउल्लाका साथ ‘म्हपुजा’ र ‘न्हूदँया भिंतुना’ ¥याली मनाउन सबैमा अनुरोध गरेको छ । नेपाल सरकारले पनि सोहि अनुरूप सार्वजनिक विदा घोषणा गर्नपनि माग गरेको छ ।