गैरसरकारी संस्थाको नाम लिदैं लाखौं रुपैयाँ ठगी गर्ने ३ महिला पक्राउ

कैलाली- दलितमैत्री गरिवी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै सयौजनालाई ठगी गरेको आरोपमा तीनजना महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलनमार्फत ठगी गर्ने उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुमा कैलालीको गोदावरी नगरपालिका ५ गेटाकी कल्पना वोगटी, कंचनपुर कृष्णपुर नगरपालिका ८ की दुर्गा भट्ट र सोही ठाउँकी सुनिता भण्डारी रहेका छन् ।
पक्राउ परेका महिलाहरुले १८१ जनाबाट १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले संस्थाको नाम लिदैं महिलाहरुलाई पशुपालनका लागि विना ब्याज ऋण प्रदान गरीने भनी गाउँगाउँमा समूह गठन गरेका थिए । गाउँमा १० देखि ३५ जनासम्मको समूह बनाएर कुखुरापालनका लागि एक हजार, बाख्रापालनका लागि तीन हजार र भैसीपालनका लागि पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्ने भन्दै रकम संकलन गरेका थिए ।
तीन महिना पछि धरैटी फिर्ता गर्ने भनेर दर्ता नै नगराएको संस्थाको छाप र लेटरप्याड समेत प्रयोग गरेका थिए । समयमा ऋण नदिएपछि ठगी गरेको भनी एक सय ८१ जनाले प्रहरीमा उजुरी दिएका थिए । स्थानीयको जाहेरीका आधारमा दुर्गा र सुनिता पक्राउ परेपछि ठगी भइरहेको खुलासा भएको थियो। साथै उनीहरुलाई छुटाउन भनी प्रहरी कार्यालय पुगेकी कल्पनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।