कुकुरको काम गर्ने रोबर्ट
इन्जिनियरिङ्ग र रोबोट डिजाइनिङ्ग कम्पनी बोस्टन डाइनामिक्सले रोबर्ट कुकुर सार्वजनिक गरेको छ । कम्पनीले रोबर्ट कुकुरलाई केही चुनिएका ग्राहकलाई बेच्ने बताएको छ । कम्पनीका अनुसार यो रोबर्टले भवन निर्माणमा प्रयोग हुने सामान सजिलै बोक्न सक्छ ।
लडेपछि आफै उठ्न सक्ने यो रोबर्ट कुकुर विषम मौसममा पनि काम गर्न सक्छ । बोस्टन डाइनामिक्सले ‘स्पट’ नाम दिइएको रोबर्ट कुकुरको क्षमता देखाउने गरी एउटा भिडियो जारी गरेको छ । भिडियो अनुसार कुकुर १.६ मिटिर प्रति सेकेण्डको गतिमा दौडिएको देखाइएको छ ।
त्यस्तै रोबर्ट कुकुरमा ३६० डिग्री क्यामेरा छ जसले गर्दा यसले आफू वरिपरि सबैतिर देख्न सक्छ । यो रोबर्टको अर्को विशेषता यो माइनस २० डिग्री सेल्सियसको बरफ जम्ने चिसोदेखि ४५ डिग्रीको तातोमा पनि काम गर्न सक्छ ।
यसलाई निर्माण–स्थल, ग्यास, बिजुली कम्पनी र सार्वजनिक सुरक्षाक्षेत्रमा प्रयोगमा लगाउन सकिने बताइएको छ ।