मुलुकमा सरकार भएको महसुस नै भएन

प्रधानमन्त्री नै निराश/गरिबले कसरी मनाउने दशैं ?

काठमाडौं । मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार बिराजमान छ । तर नेपालीले सरकार भएको महसुुुस गर्न सकिरहेका छैनन् । बिश्वकै उत्कृष्ट संबिधानहरु मध्ये नेपालको पनि हो भनेर डंका पिटिदै छ । तर, के संबिधान राम्रो र उत्कृष्ट हुदैंमा सजिलै जनताको पेट भरिन्छ र ? गत असोज ३,४ र ५ गते तिन दिन सरकारले संबिधान दिवसलाई भव्य रुपमा मनायो । संबिधान जारी भएको दिन असोज ३ गते खुशियालीमा एकदिन सार्वजनिक बिदा पनि दियो । तर सर्वसाधरण जनताले संबिधान दिवस मनाउनुको औचित्य र महत्व बारे थाहा नै पाउन सकेका छैनन । सरकारले धुमधामसँग मनाएको दिवस प्रति सर्वसाधरण भने बेखबर झै रहे ।
मुलुकको संबिधान जस्तो भएपनि जनताले तत्काल खोजेका भनेको सहज रुपमा गाँस, बास, कपास र सुरक्षा हो । यो चार वटै बिषय प्राप्त गर्न सकेका छैनन । सरकारको दाबी छ सहज रुपमा उपलव्ध छ । स्थानीय र प्रदेश सरकार भन्छ हामी प्रयत्न गरिरहेका छौं । मुलुकमा अहिले बढिरहेको मुल्य बृद्धिकाकारण गरिब, निमुखा जनता सहज रुपमा बाँच्न पाउने अधिकारबाट बञ्चित हुदै गएका छन । सरकार यो कुरा मन्न तयार छैन । समृद्ध नेपाल, सुखी नेपालीको नारा सरकारले अगाडि सारेको छ । के नारा मात्र राम्रो भएर जनता सुखी र खुशी हुने हुन र ? अहिले बजारमा बढेको मुल्यले सरकारको यो नारालाई नै गिज्याइरहेको छ ।
बर्तमान सरकार गठन हुँदाताका महंगी नियन्त्रणका साथै मुलुकमा सुशासन आउने अपेक्षा गरिएको थियो । तर यो दुई बर्षमा बर्तमान सरकारबाट आम नेपालीले त्यो छनक पाउन सकेका छैनन । मुल्य नियन्त्रण त कुरा छोडौ अनुगमन गर्ने बिषयमा पनि सरकार चुकेको छ । यो जिम्मेवारी उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय मात्रको हो भन्ने सोचाईमा सरकार परेको छ । मुलुक संघीयतामा गईसकेपछि यो जिम्मेवारी स्थानिय सरकारलाई दिनुपर्दथ्यो । त्यसो नगरिदा सरकारी अनुगमन फितलो भएको छ । यहि मौका छोपेर व्यापारीहरुले आफु खुशी बजार भाउ बढाएका छन । व्यापारीहरुले प्रत्येक सामानको मुल्य प्रतिकेजी १०–१५ रुपैंया बढाएका हुन । जस्तो गतवर्ष प्रतिकेजी ७० मा पाइने त्रिशुली पोखरेली चामलको मुल्य अहिले ८५ पुगेको छ । यस्तै स्टिम जिरा मसिनो चामल, लङग्रेन बास्मति चामलको मुल्य पनि गतवर्षको तुलनामा १० रुपैंया बढेको छ । दाल, चिउरा, तोरीको तेल, भटमासको तेल, सफलावर तेल, नेपाली घिउको मुल्य पनि व्यापारीहरुले आफु खुशी बढाएका छन । यसैगरी मकै, गहुँ, मैदालगाएत खाद्य सामाग्रीको मुल्य पनि यसरी नै अचाक्ली रुपमा बढाइएको छ ।
आजदेखि घटस्थापना शुरु भएको छ । नवरात्र शुरु भएसंगै किनमेलको चटारो पनि बढिरहेको छ । घर छोडेर रोजी रोटीको लागि मुग्लान पसेका नेपालीहरु पनि धमाधम घर फर्किरहेका छन । घरवार छोडेर स्वदेश भित्रै कमाउन निस्केका लाखौं नेपालीहरु किनमेल गरेर घर फर्कन सुरसार गर्दैछन ।
गत ५ गते देखि नै लामो दुरीको यात्राका लागि टिकट बुकिङ खुलला भएको थियो । तर यात्रुहरुले अग्रिम टिकट बुकिङ गर्न जाँदा टिकट पाउन नसकेको गुनासो गरेका छन । केहि जिल्लाका यात्रुले भने टिकट लिन जाँदा टिकट नपाएके गुनासो सामाजिक सञ्जालमार्फत गरेका छन । बुकिङ नखुल्दै बिचौलियाहरुले बुकिङ सकिएको बताएर भित्रभित्रै आ–आफना नातेदारलाई टिकट बेचिसकेका छन । सर्वसाधरणले चाहेर पनि टिकट लिन सक्ने अवस्था छैन । टिकटको लागि बेलुकी नै खाजा सामलको जोहो गरेर लाइनमा बस्नुपर्ने बाध्यता सर्वसाधरणलाई छ । बर्षको ३ सय ६५ दिन चनाखो हुनु पर्ने सरकार चाडवाड लागेपछि मात्र अनुगमनको नाममा कान ठाडो पार्दैछ ।
दुई तिन हप्ता अगाडि बजारमा सजिलै ४० रुपैंयामा उपलव्ध प्याजको मुल्य अहिले १ सय २० पुगेको छ । ४०–५० रुपैंयाको गोलभेडा ७०–८० पुगेको छ । आलुको मुल्यको त कुरै नगरौं । १ सय ३० मा पाइने मुडेको आलुको भाउ १ सय ८० पुगेको छ । तिज पछि र दशैं अगाडिको समय पारेर दुधको मुल्य प्रतिलिटर ६ रुपैंया बढाइएको छ ।
सर्वसाधरणलाई सहजै, सर्वसुलभ कम मुल्यमा उपलव्ध हुनुपर्ने खाद्य बस्तुहरु सागपात, फलफुल, दाल, गेडागुडी, तेल, जिरा मसला, मासु, दुध, चामल, दही, चिनी, लत्ताकपडाको मुल्य अकासिएपछि मुलुकमा सरकार भएको महसुस नेपाली जनताले गर्न सकेका छैनन । अनुगमन गर्ने निकाय पनि पर्याप्त जनशक्ति नभएको भन्दै उल्टै गुनासो गरिरहेको छ । अहिले मुलुकमा तीन तहको सरकार छ ।
जनताले भोट दिएर जिताएर पठाएका जनप्रतिनिधिले यो कुरालाई ध्यान दिनुपर्दथ्यो । उनीहरु पनि जनताको यी समस्या भन्दा गाडी सुबिधा र भत्तामा रमाईरहेका छन । स्थानीय र प्रदेश सरकारले यो बिषयलाई बढि ख्याल गर्दै मुल्य नियन्त्रणको लागि पहल गर्नुपर्दथ्यो । उनीहरु पनि यो कामको जिम्मेवारी आफनो नभएको भन्दै पन्छिने गरेका छन । हरेक साल यस्ता चाडवाड आउँछन । मुल्य यसरी नै अचाक्ली बढाइन्छ ।
आजदेखि नै अर्को बर्षको लागि मुल्य बढन नदिन के के तयारी गर्नुपर्ने त्यसको होमवर्क गर्न आवश्यक छ । तर त्यसप्रति तीनै तहको सरकारको ध्यान गएको छैन । बरु पार्टी प्यालेस, तारे होटलमा बन्द कोठा भित्र गोष्ठी, सेमिनार आयोजना गरेर सरकारी रकमको चरम दुरुपयोग गर्ने काम भइरहेका छन । बर्षको एकदिन सार्वजनिक बिषयमा चासो दिने र ३ सय ६४ दिन सुतेर बस्ने सरकारको पुरानै संस्कार हो । यो कुराको अन्तय जनताले बर्तमान सरकारबाट खोजेका हुन । तर बर्तमान केपी ओली सरकारको ध्यान यसतर्फ नगएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
काठमाडौै बाहिरबाट राजधानी आउने सवारी साधन नौबिसे, थानकोट हुँदै भित्रिदा घन्टौ जाममा बस्नुपरेको खबर बाहिरिएको छ । जाममा बस्नुपरेकै कारण बिरामीले ज्यान समेत गुमाउनु परेको छ । यस्ता संवेदनशील बिषयमा सरकार किन गम्भिर बन्न सकिरहेको छैन । सरकारको लोकप्रियता जाँच्ने बिषय भनेकै यिनै हुन । यतातिर सरकारको ध्यान तत्काल जान आवश्यक छ । अझ चाडवाडको समयमा यी बिषयलाई बढि ख्याल गर्नुपर्ने भएपनि सम्वन्धित निकायहरु गम्भिर बन्न नसकेको पाइएको छ ।

प्रधानमन्त्री नै निराश
संसदमा दुई तिहाइ मत पाएर पनि आफूले चाहे अनुसारको काम गर्न नसकेको प्रधानमन्त्री केपी ओलीले स्वीकार गर्दै आएका छन् । यदाकदा निकै उत्साहित देखिने प्रम ओली हिजोआज आफ्नै मन्त्री र पार्टीका सांसदहरुसँग समेत दिक्क भएका छन् । उनले सरकारको मात्र होइन, गणतन्त्रको वचाउ गर्न पनि सरकारले ठिक ढंगले काम गर्नुपर्ने तर्क गरेका छन् ।
‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ भने झै प्रधानमन्त्रीले सुख र समृद्धिको कुरा गरेपनि त्यस्तो सुख जनताका लागि नभएर सत्तारुढ दलका नेता, कार्यकर्ता मात्रै सीमित देखिएको र त्यसैलाई निहुँ बनाएर प्रतिपक्षी दलहरुले समेत सत्तामा बस्नेहरुले सुखभोग मात्रै गरे भन्ने आरोप लगाइरहेका छन् । प्रतिपक्षीले भन्नु र सरकारको गराइ पनि उस्तै भएको छ । सरकारका मन्त्रीहरु सानो रोग लागेपनि उपचार गर्न बिदेश हान्निछन । तर गरीब नेपाली समयमा उपचार नपाएर मर्नु परिरहेको छ । गत शुक्रवार राजधानीको लाइफलाइन मानिएको मुग्लिन–नौबिसे राजमार्गमा भएको घण्टौ लामो जामका कारण एकजना बिरामीले गाडी भित्रै ज्यान गुमाएका छन । यो घटनाले पनि पुष्टि हुन्छ बर्तमान सरकारको काम गराइ कस्तो भन्ने कुरा । एम्बुलेन्स पनि छिर्न नसकेर बाटोमा अलपत्र परेको समाचार सार्वजनिक भएका छन । बैकल्पि राजमार्ग समेत बनाउन आँट नभएको सरकार पानी जहाज र रेलको सपना बाँडिरहेको छ ।
सरकारका अधिकांश मन्त्रीहरुको व्यवहारमा लापरवाही देखिएको छ । प्रगति देखिने काम गर्न नसक्दा उनीहरु जनताका दृष्टिमा मात्र होइन, प्रधानमन्त्रीका आँखामा समेत कसिंगर जस्तो बन्न थालेका छन् । यति हुँदाहुँदै पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न सकिरहेका छैनन् । त्यसो गर्दा सहयात्री दल रिसाउँलान् भन्ने पिरलो छ भने आफ्नै पार्टीभित्र शक्ति सन्तुलन मिलाउन पनि विभिन्न नेताको मुख ताकनुपर्ने देखिन्छ ।
यी सबै कारणले प्रधानमन्त्रीको निरासा र मन्त्रीहरुको गैरजिम्मेवार प्रवृत्ति एउटा रथका दुई पांग्रा जस्ता देखिएका छन् । महंगी, भ्रष्टाचार, ढिलासुस्ती, वेरोजगारी आदि मात्र होइन, शान्ति सुरक्षामा समेत निकै गिरावट आएको अवस्था छ ।
यी सवै कुराले सरकारमाथि औला ठड्याउनेहरुको संख्या बढेको हो । हुन पनि किन नहोस बडा दशैंको मुखमा मुल्य बृद्धिका कारण एक किलो तरकारी किनेर खान मुस्किल भएको छ । तरकारीको भाउ अचाक्ली बढेको छ । एक मुठा साग किन्न रु पचास खर्चनु पर्छ । त्यति मात्र कहाँ हो दाल, चामको बजार भाउ पनि ह्वात्तै बढेको छ । यसको दोषी सरकार होकि बिचौलिया ? सरकारका कारण होइन भने बिचौलियाहरुलाई कारवाहि गर्न सरकार किन डराइरहेको छ ।