अर्थमन्त्रीकै कारण अर्थतन्त्र चौपट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा अर्थमन्त्री बनेका युवराज खतिवडाकै कारण मुलुकको अर्थतन्त्र चौपट भएको आंकलन हुन थालेको छ । करिब चार वर्षयता सीमा भन्दा दोब्बर बजेट घाटा बढेका कारण गम्भीर आर्थिक मन्दी आउनसक्ने विश्लेषण गर्न थालिएको छ । राजस्वले धान्न नसक्ने खर्चको आकारलाई अर्थशास्त्रको भाषामा बजेट घाटा भनिन्छ । वैदेशिक अनुदानमा देश चल्न थालेपछि राजनीतिक स्वतन्त्रतामा समेत अंकुश लाग्नसक्ने र विस्तारै दाताहरुको इशारामा हिड्नुपर्ने अवस्था समेत आउन सक्छ ।
आर्थिक वर्षको पहिलो समीक्षामा आर्थिक समृद्धि उत्साहजनक रहेको बताइएको थियो । तर राष्ट्र बैंक, अर्थमन्त्रालय र वरिष्ठ अर्थशास्त्रीहरुकै बीचमा कुरा मिलेको देखिदैन । बजेट घाटालाई कतिपय सरकारी अधिकारीहरु सामान्य कुरा मान्छन् । तर यसले भावी राजनीतिलाई समेत उथलपुथल गराउँछ भन्ने कतिपय अर्थशास्त्रीहरुको तर्क छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्रबैंकको गर्भनर भएर मुलुकको अर्थ व्यवस्थालाई राम्रोसँग बुझेको भनिएका अर्थमन्त्री खतिवडाकै पालामा मुलुुककोअर्थ व्यवस्था झन कमजोर बनेपछि बिभिन्न अडकलबाजीहरु ह्ुन थालेका छन ।
रेमिट्यान्सको भरमा चलेको नेपालको अर्थतन्त्रलाई पर्यटन उद्योगले केही भरथेग गरेको छ । कृषि अर्थतन्त्र कमजोर बन्दै गएपछि वित्तीय घाटाले शोधानान्तर स्थितिमा नकारात्मक असर पर्ने हुँदा विदेशी मुद्राको संचय समेत कमजोर हुने अवस्था आउँछ । ठूलो वित्तीय घाटाले राज्यले लिएको उद्देश्यमा धक्का लाग्छ । विकास निर्माणका काम समेत प्रभावित हुँदा जनतामा निरासा बढ्ने खतरा देखिन्छ ।
समृद्ध नेपाल, सुखी नेपाली सरकारको नारा भएपनि व्यवहारमा त्यसको आधार स्पष्ट देखिदैन । आयात धेरै निर्यात थोरै भएका कारण नेपालले ठूलो घाटा व्यहोर्दै आएको छ । हरेक चुनावमा विभिन्न ठूला दलले आफ्नो आर्थिक कार्यक्रममा हजारौ सपना बेचेका छन् । तर व्यवहारमा नेपाली कांग्रेसले स्वदेशी उद्योगहरु वेचेर खाएको आरोप लागेको छ भने वर्तमान सरकारले दिगो आर्थिक विकासका लागि स्पष्ट कार्यक्रम ल्याएर कार्यान्वयन गर्न नसक्दा आउँदा दिनहरुमा आर्थिक जर्जरता बढ्ने र जनतामा निरासा छाएर राजनीतिक प्रणालप्रति नै घृणा पैदा हुन सक्ने आशंका गर्न थालिएको छ ।