प्रहरीको त्यो ‘स्टिङ अपरेसन’ जसबाट विप्लवलाई धक्का
काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना नेता÷कार्यकर्ता बुधबार राति पक्राउ परेको प्रहरीले जनाएको छ ।
सो पार्टीका उच्च नेतासहितको संलग्नतामा महत्वपूर्ण बैठक वस्दैछ भन्ने सूचना पाएपछि प्रहरीको टोली राजापुर गाउँपालिका–४ स्थित मरेठाको जंगलमा पुगेको थियो ।
इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटर टाढा रहेको सो स्थानमा इलाका प्रहरी कार्यालय गढवा, वडा प्रहरी कार्यालय लमही र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोली पुगेको थियो । सो टोलीले वैठक स्थल पत्ता लगाएपछि जिल्ला प्रहरी कार्यालय र प्रदेश ५ को प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोली सो स्थल पुगेको थियो । ठूलो संख्यामा राति नै जंगल पुगेको प्रहरीले विप्लवका दाजु तथा मध्यकमाण्ड इन्चार्ज चन्द्रहादुर चन्द (वीरजंग)सहितका २१ नेतालाई पक्राउ गरेको हो ।
नेपाल–भारत सीमा नजिक पर्ने सो स्थानबाट पक्राउ परेका चन्दका दाजु चन्द्रबहादुर चन्द (वीरजंग)का साथै केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज, रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक, सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव, यमलाल कटुवाल (विक्रम) – जिल्ला ईन्चार्ज, प्रदीप वली – जिल्ला सेक्रेटरी, बविन केसी (पाटन, जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष, सुनिल पौडेल– वुद्धिजिवी, एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य), धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी, तिलक पुन (पूर्व जनमुक्ति सेना), सुरज विक –दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष, हितप्रसाद रोका –पार्टी सदस्य, पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य, दलबहादुर खत्री, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, बिष्णु थापा, कुलबहादुर ओलीलाई जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । उनीहरु पक्राउ परेसँगै विप्लव नेकपालाई ठूलो धक्का लागेको छ भने प्रहरीले आफ्नो महत्वपूर्ण सफलता ठानेको छ ।
प्रहरी त्यहाँ पुगेपछि वैठक स्थल वरीपरी सुरक्षा गरिरहेका हतियारसहितका कार्यकर्ता भाग्न सफल भएपनि अन्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाका ४३ जिल्ला इन्चार्जसहित १ सय ४८ जना नेतृत्व तहका नेताहरु पक्राउ परिसकेकाले सो पार्टी नेतृत्व तहमै निकै कमजोर बनेको प्रहरीको विश्लेषण छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार हालसम्म विप्लव समूहका १५१४ जना नेता÷कार्यकर्ता पक्राउ परिसकेका छन् । सरकारले २०७५ फागुन २८ गते विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि मात्र ६ सय ९४ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १ सय १० जना कारागार चलान भएका छन् भने ६९ जनामाथि अनुसन्धान भइरहेको छ । २ जनालाई बाल सुधार गृह पठाइएको र ५ सय १३ जना छुटिसकेको प्रहरी प्रधान कार्यालय सुत्रले जनाएको छ ।
आफैले राखेको बम र प्रहरीसँगको मुठभेडमा परेर विप्लव नेकपाका ६ जनाको मृत्यु भएको भइसकेको छ भने १ प्रहरी र १ सर्वसाधारणले पनि ज्यान गुमाएका छन् ।
पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध, बम विस्फोट, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग, हत्या, अभद्र व्यवहार, आगजनी अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
सो पार्टीबाट प्रहरीले हालसम्म २४ थान अत्याधुनिक हतियार बरामद गरेको जनाएको छ । जसमध्ये ७.६२ एमएमको एलएमजी १ थान, एम १६ ए–२ १ थान, ७.६२ एमएम एसएलआर १ थान, .३०३ राइफल ३ थान, ९ एमएम एसएमजी २ थान, सेमी अटोमेटिक पेस्तोल १० थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ३ थान र भरुवा बन्दुक २ थान गरी २४ थान बरामद गरेको हो ।