आत्मविश्वासले अडेका प्रम ओली
मिर्गौलाले काम गरेन/ नियमित डायलासिस वा प्रत्यारोपण गर्नुपर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या बढ्दै गएको छ । उनी लामो समयदेखि बिरामी परेको कुरा दुनियाँलाई जगजाहेर छ । अस्वस्थका बावजुद पनि उनले मुलुकको कार्यकारी भएर शासन सत्ता सञ्चालन गरिरहेका छन् । गत मंगलबार भाइटिकाको दिन दिदीबहिनीसँग टिका लगाएका प्रधानमन्त्री ओलीलाई भोलिपल्टै एक्कासी बिमारले च्याप्यो ।
बिरामी प्रधानमन्त्रीलाई ग्राण्डी अस्पताल पुरयाइयो । तर प्रधानमन्त्रीको बास्तबिक स्वास्थ्य स्थितिबारे सर्वसाधारणलाई कुनै जानकारी दिइएन । मुलुकको कार्यकारी प्रधानमन्त्रीलाई के भएको हो त्यसको जानकारी नेपाली जनताले पाउनुपर्ने हो । तर त्यसो गरिएन र आवश्यक ठानिएन । अस्पतालबाट बाहिरिने क्रममा प्रम ओलीले आफू ठिक रहेको सन्देश दिए । यसले धेरैको आशंकालाई कम गरेपनि प्रधानमन्त्रीको स्वास्थ्य स्थितिप्रतिको चिन्ता बढ्दै गएको छ ।
बुधबार धापासीस्थित ग्राण्डी अस्पतालमा आईसीयुमा भर्ना भएका ओलीको दुई पटक डायलासिस गरिएपछि बिहीबार वालुवाटारस्थित निवास फर्किएका थिए ।
प्रधानमन्त्री ओलीले आफू सिकिस्त विरामी नभए पनि मिर्गौलाले राम्रोसँग काम नगरेकाले नियमित डायलासिस वा पुनः प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको बताएका छन् । हिजो बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे नेताहरुलई ब्रिफिङ गरेका थिए । मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको जानकारी ओलीले वैठकमा दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रवक्ता श्रेष्ठले भने, ‘केही रिपोर्ट प्राप्त भएपछि थप केही गर्नुपर्ने भयो भने निर्णय होला । अहिले भने ग्राण्डीमा डायलासिस भयो र अहिले उहाँ सामान्य अवस्थामा हुनुहुन्छ ।’
डा.दिव्यासिंह शाहलगायतका चिकित्सकहरुले उनको नियमित परीक्षण गरिरहेको बताइएको छ । अस्पतालका चिकित्सक चक्रराज पाण्डेले विज्ञप्ति जारी गर्दै स्वास्थ्य स्थिति सामान्य रहेको बताएपनि ओली निकट कतिपय व्यक्तिहरुले हप्तामा तीन पटकसम्म डायलासिस गर्नुपर्ने अवस्थामा रहेको विरामी सामान्य हुन नसक्ने बताएका छन् ।
चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारका लागि बालुवाटारमै डायलासिस मेसिन राख्न सुझाव दिएको वालुवाटारस्रोतको दावी छ । यसबाट पनि ओलीको स्वास्थ्य अवस्था निकै गम्भीर मोडमा पुगेको अनुमान गर्न सकिन्छ । रगत परीक्षणको रिपोर्ट आउन बाँकी रहेपनि चिकित्सकहरुले प्रधानमन्त्री ओलीको अब हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने हुनसक्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आगामी उपचारबारे शुक्रबार आफ्ना चिकित्सकहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा हप्तामा दुई पटक अस्पताल धाउँदा सर्वसाधारणलाई सास्ती हुने र प्रमलाई पनि धपेडी हुने भएकाले बालुवाटारमै डायलासिस मेसिन राख्नु उपयुक्त हुने सुझाव चिकित्सकहरुले दिएको बुझिएको छ । तर प्रम ओली, निजी चिकित्सक तथा नेकपाका नेताहरुले मेसिन वालुवाटारमा राख्नेबारे निर्णय गरेका छैनन् ।
चिकित्सकहरुका अनुसार पेरिटोनियल डायलासिस घरमै गर्न सकिन्छ । आन्द्रा र पेटको छाला बीचको भागमा डायलासिस भरिन्छ र केही घन्टा राखिन्छ । यस क्षेत्रमा भएका मसिना रक्तनलीहरुबाट वेष्ट प्रोडक्टहरु बाहिर आउँछन् र डायलासेटमा आउँछन् । यो दिनहुँ गर्नुपर्छ । चिकित्सकहरुले फेरि मिर्गौला प्रत्यारोपणलाई भने दोस्रो विकल्पको रुपमा मात्र राखेको बुझिएको छ ।
गिरीजा पथमा ओली
पुर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला लामो समयसम्म सत्तामा बसे । उनी पनि लामो समय अस्वस्थ थिए । अस्वस्थका बाबजुद पनि उनी लामो समय सत्तामा बसे । बालुवाटरबाटै उनले पार्टीको गतिबिधि सञ्चालन गर्थे । सरकारी निवासलाई उनले नेपाली काँग्रेसको पार्टी कार्यालय सरह नै प्रयोग गरेको जनताको मानसपलटमा ताजै छ । त्यहि पथमा बर्तमान प्रधानमन्त्री ओली पनि हिडेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी सचिवालयको बैठक बारम्वार प्रधानमन्त्री निवास बालुवाटारमै डाक्ने गरेका छन् । पार्टीका अधिकांस काम वालुवाटारबाटै भइरहनुलाई धेरैले प्रधानमन्त्रीको सरकारी निवासको सदुपयोग भएको भन्दै आलोचना गर्दै आएका छन् ।
आत्मविश्वासले अडेका ओली
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि खाइरहेका उनी १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो । २० भदौमा स्वदेश फर्किएका उनको स्वास्थ्यमा फेरि समस्या सुरु भएपछि २ कात्तिकमा ग्राण्डी अस्पतालमा पुगेका उनको मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो ।
प्लाज्माफेरेसिस भनिने अत्यन्त महंगो उपचार पद्धतिबाट मिर्गौलाको उपचार गराइरहेका ओलीले धेरै आराम गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुको भनाइ छ । तर ओली कार्यकारी प्रधानमन्त्री भएका कारण चाहेर पनि आराम गर्ने अवस्थामा छैनन् ।
ओलीको जोश, जाँगर, आत्मविश्वास, हिम्मतले रोगलाई परास्त गर्न सफल भएको धेरैको बुझाइ छ । उनी कहिलेसम्म रोगसँग पौठेजोरी खेल्न सक्छन् त्यो भने भविष्यले देखाउला । आम नेपालीले रोगसँग लड्ने क्षमता उनमा अझ बढ्दै जाओस् भन्ने कामना गरिरहेका छन् । उनले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक बनाउन सकुन्, प्रम ओलीको स्वास्थ्य लाभको कामना ।