ऐतिहासिक जीत, हारमा परिणत हुँदै
जन अपेक्षा पूरा गर्न सुशासन चाहिन्छ र सुशासनका लागि स्वच्छ राजकीय संयन्त्र, इमान्दार राजनेता तथा जनतासँग सरोकार राख्ने राजनीति हुनुपर्छ । तर वर्तमान राजनीतिमा यी तत्वहरूको कुनै स्थान छैन ।
देश र जनताको विकासभन्दा अपराधी व्यक्तिले कायम गरेको वर्चस्वका लागि प्रयोग भइरहेको राजनीतिसँग सुशासनको कल्पना गर्नु मुर्खता नै हो । अपराधी व्यक्तिहरू राजनीतिक संरक्षण खोज्न राजनीतिमा प्रवेश गरेपछि राजनीतिको स्वरूप नै बद्लिएको छ ।
अपराधको राजनीतिकरण गर्दै आउँदा राजनीतिले देश र जनताको काम छाडेर अपराधतिर प्रेरित भएपछि राजनीतिक अराजकता आउनु स्वाभाविक हो । यस्तो अवस्थामा सुशासनको कुरा गर्नु पटमुर्खताबाहेक अरू के हुन सक्दछ ।
अपराधीहरू राजनीतिक संरक्षण पाउन ठूलो रकम सहयोग गरेर ठूला पार्टीहरूमा छिर्छन् तथा अपराधको निरन्तरता कायम राख्छन् । यसरी अपराधिक प्रवृत्ति बढ्दै गएर राजनीतिक धरातल नै अपराधीहरूको कब्जामा जान्छ । सतहमा आउने अपराधका घटनाहरू राजनीतिक स्वरूपबारे त्यसै बखान गरेको हुन्छ ।
स्थायी सरकारको स्वरूपबारे जनताले लिएका आशा, विश्वास विस्तारै हराउँदै जानु, साना–साना घटनामा सरकारको विरूद्ध सडकमा जनआक्रोश देखा पर्नु आदि कारणले सरकारको अकर्मण्यतात्यसै प्रष्ट्याउँछ । जन अपेक्षा पूरा गर्ने उद्देश्य लिएर खडा भएको ओली नेतृत्वको सरकारले देशमा रहेको धरातलीय समस्यालाई सम्बोधन गर्न कुनै प्रयास गरेन ।
नेपाली जनताले भोगिरहेको परनिर्भरताको पीडा विषयमा यो सरकार गम्भीर हुन सकेन । धरासायी रहेको उद्योग धन्धा र उत्पादन क्षेत्र गतिशील हुन सकेन ।
अवसरको अभाव, बेरोजगारी, महँगी, स्थानीय सरकारको करको बोझ, उत्पादनशीलताको अभाव आदि कारणले जनतामा अपराधिक प्रवृत्रि बढ्दै गएको छ । नेपाली समाजमा अहिले देखिरहेको चरम आक्रोश, अविश्वास, घृणाले यो सरकारलाई आफ्नो कार्यकाल पूरा गर्न देला ? सरकार भनेको जागिर खान आएको जमात होइन, यो त देश र जनताको सर्वाङ्गीण विकास गराउन आउने दक्ष जनशक्ति हो । राजनेता कहिल्यै पनिआफ्नो लागि सम्पत्ति कमाउँदैन । उसले त लोकप्रियता कमाउँछ, नाम र यश कमाउँछ ।
हाम्रो देशका नेताहरू करोडौं खर्च गरेर जितेका सांसद तथा मन्त्रीहरू खर्च भएको रकमको साबा र ब्याज उठाउन एक मात्र सोच लिर अनेक दाउ खोजिरहेका हुन्छन् । अर्को चुनावका लागि आर्थिक सवलता अनिवार्य विषय रहेकोले खर्च गरेका तथा नगरेका जनप्रतिनिधिहरू एउटै सोचबाट प्रेरित भएपछि देशको कल्याणकारी बाटा बन्द हुनु स्वाभाविक हो ।
यही प्रवृत्तिले राजनीतिमा प्रश्रय पाएको छ । पैसा कमाउने उटकट चाहनाले सबैलाई अनैतिक बाटो समाउन बाध्य बनाएको छ । सबैको एउटै चाहना भएपछि त्यो सरकारको स्वरूप कस्तो होला ? लामो समयदेखि सरकार यही क्रममा चलिरहेकोले राज्यसत्ताको स्वरूप नै भ्रष्ट भएको छ । कम्युनिष्टहरू अरूभन्दा प्रगतिशील, वैज्ञानिक सोच भएका अनुग्रसित निष्पक्ष तथा कर्मयोगी हुने विश्वासमा जनताले दुई तिहाई नजिक पु¥याएर स्थिर सरकार बनाउन जनादेश दिएका हुन् ।
जनताप्रति ठूलो जिम्मेवारी बहन गर्ने दायित्व लिएका कम्युनिष्ट नेतृत्वको सरकार राज्यसत्ता समक्ष आएर आत्मसमर्पण गर्नु कति लज्जास्पद भएको छ । जनताको दुई तिहाईको सरकार बनाएको ऐतिहासिक जीत हारमा परिणत भएको छ । जनता हारेका छन् । यही हारले जनतालाई आक्रोशित तुल्याएको छ । जनताको असन्तुष्टता यो सरकारको दुर्भाग्य हो । असन्तुष्टताले आन्दोलनको ठूलो आँधीबेहरी ल्याउनेमा कुनै शंका छैन ।
राजनीतिमा अपराधीहरूको जमात रहेको र त्यसले सञ्चालन गरेको राजनीति कस्तो होला ? जसका धेरै परिणामहरू सतहमा परिलक्षित भइरहेका छन् । प्रगतिशील भनिएका कम्युनिष्ट सरकारले पनि राजनीतिको बिग्रेको स्वरूपलाई सपार्नुको सट्टा यसैलाई निरन्तरता दिएकोले विग्रहको जन्म हुनु स्वाभाविक भएको छ ।
पैसा कमाउन अपराध गर्नुपर्ने, अपराध गर्दा राजनीतिक संरक्षण चाहिने, यसरी राजनीतिको अपराधसँग अन्योन्याश्रित सम्बन्ध बनेको छ । शक्ति आर्जन भएपछि सबैले मान गर्ने, समाजमा मान प्रतिष्ठा बढ्ने, राजनीतिमा दखल हुने, मन्त्री पद सुरक्षित रहने आदि सम्मानजनक अवस्था कायम राख्न सबै प्रतिस्पर्धी बनेका छन् । कोही हार्छन्, कोही जित्छन् । जित्ने शासक बन्नछन्, हार्ने शासित ।
विपन्न देशका निवासी नेताहरू ! सत्तामा नेपाली कांग्रेस वा कम्युनिष्ट आए देश र जनताको अवस्थामा कुनै सुधार नभएको कुरा अब जनतालाई बुझाई रहनुपर्ने आवश्यकता रहेन । अपुष्ट राजकीय संयन्त्रले भ्रष्ट जनप्रतिनिधिसँग मित्रता गाँसे नै, आउने इमान्दार जनप्रतिनिधिलाई पनि बिगारे । एसिया वाच र ट्रान्सपरेन्सी इन्टरनेशनलले देशका सम्पूर्ण संयन्त्र भ्रष्ट रहेको प्रतिवेदन सार्वजनिक गर्दा पनि यसलाई सुधारको बाटोमा लैजाने इमान्दार, देशभक्त एउटा पनि राजनीतिकर्मी देखिएन ।
शोषण र भ्रष्टाचारको किला देखाउने राजतन्त्र विस्थापित भएको एक दशकभन्दा बढी भयो । प्रगतिशील भनाउँदा नेपाली कांग्रेस र नेकपाले सुधारका फरक दृष्टिकोण ल्याए पनि व्यवहारमा भ्रष्टाचारका थप क्रियाकलापले निरन्तरता नै पाएको देखियो । तथ्यगत भन्नुपर्दा अहिले भ्रष्टाचारमा तीव्रतर वृद्धि भएको देखिएको छ । महामारीको रूपमा फैलिएको यो रोग स्थानीय सरकारसम्म फैलिएको छ । दण्डहीनताको अभावमा जनता यसको प्रत्यक्ष शिकार बन्दै गएका छन् ।
सरकार अहिले हात्ती जस्तो विशाल र शक्तिशालीको मदमा जनताको पीडा हेर्न बुझ्न असक्षम रहेका कारण कागजमा लेखिएको सुशासन देखाइरहेको छ । सुशासनको नाउँमा जन्म लिने प्रलयकारी आन्दोलनको आभाष सरकारसँग छैन । जनआक्रोश घनिभूत रूपमा विस्फोट भएपछि को रहला र के रहला यसको आँकलन पनि गर्न नसक्ने शक्तिशाली सरकारको शक्तिको के काम ? के भ्रष्टाचार गर्न र प्रेरित गर्न यत्रो ठूलो तीन सरकारको जमात तयार गरिएको हो ? के जनता पीडा सहेर यस्तो अवस्थामा रहन सक्छन् ?
(`मधेश दर्पण फिचर सेवा)