अमेरिकाले किन दियो नेपालमा आतंकवादी क्रियाकलाप बढ्ने चेतावनी ?

काठमाडौं । अमेरिकाले नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी क्रियाकलाप बढ्न सक्ने चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयद्वारा हालै प्रकाशित प्रतिवेदनमा भारतमा बसेका मुजाहिद्दिन समूहका सदस्यहरुले नेपाललाई पनि निशाना बनाउन सक्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको खुला सीमा क्षेत्रमा आतंकवादको प्रभाव देखिन सक्ने उल्लेख छ । भारतीयलाई नेपाल प्रवेश गर्न भिसाको प्रबन्ध गर्नुपर्ने, सिमानामा काँडेतार लगाउनुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चेकजाँच प्रणाली अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने आवाज नेपालभित्रै उठिरहेको बेला अमेरिकाले पनि त्यस्तै धारणा व्यक्त गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले गरेको अध्ययनमा अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट उत्रिने यात्रुको चेकजाँच लापरबाहीपूर्ण हुने गरेको तथा भारतसँगको सीमामा थोरै र नाम मात्रकै चेकजाँच हुनाले नेपालमा आतंकवादीको खतरा रहेको उल्लेख गरिएको छ ।
‘सन् २०१८ मा नेपालले अन्तर्राष्ट्रिय आतंकवादको कुनै अनुभव गर्नुपरेन’, अमेरिकी स्टेट डिपार्टमेन्टले तयार पारेको ‘कन्ट्री रिपोर्ट्स अन टेररिज्म २०१८’मा नेपाल शीर्षकमा भनिएको छ, ‘भारतसँग नेपालको खुल्ला सीमा र काठमाडौंमा रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा कार्यविधिका कारण नेपाल अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीहरुको निशाना बन्ने खतरा रहेको छ ।’
त्यस्तै नेपाल र भारतबीचको सबै खुला सीमामा पर्खाल वा काँडेतार लगाएर सबैठाउँमा सुरक्षाकर्मी राख्नुपर्ने माग विगतदेखि नै उठिरहेको प्रसंगमा अमेरिकाले सुरक्षा नियन्त्रण पनि निकै अपर्याप्त रहेको विश्लेषण गरेको छ ।
अमेरिकाले गरेको अध्ययनमा नेपालको विमानस्थलमा उत्रिने यात्रुहरुको शरीरको ‘प्रि–स्क्रिन’ नगर्ने तथा उनीहरुको तथ्यांक कुनै पनि डाटाबेसमा नराखिएको कारण को व्यक्ति कहिले आएर कहिले नेपालबाट कुनबाटो प्रयोग गरेर बाहिरियो भन्ने तथ्यांक नहुने भन्दै यसलाई सुरक्षाको दृष्टिले गम्भीर लापरबाही भएको जनाएको छ ।
अमेरिकी अध्ययन अनुसार नेपाल आउने यात्रुहरुको ट्राभल डकुमेन्टको सुरक्षासम्बन्धी कुनै व्यवस्था छैन भने डकुमेन्टको परीक्षणका लागि अल्ट्राभ्वाइलेट लाइटको समेत विमानस्थलमा अभाव छ ।
उक्त अध्ययन प्रतिवेदनमा विमानस्थलमा नेपाल प्रहरीको विशेष ब्युरोले जम्माजम्मी १० जनालाई मात्रै परिचालन गर्ने र १५ जनालाई अन्तर्राष्ट्रिय अपराधविरुद्धको प्रहरी संगठन इन्टरपोलको नेपाल प्रहरी मुख्यालयमा रहेको राष्ट्रिय केन्द्रीय ब्युरोमा राखेको उल्लेख गरिएको छ ।
यस्तै इन्टरपोल नोटिसलाई डाटाबेसअनुसार मिलाए पनि यात्रुहरुको सोही डाटाबेसअनुसार स्क्रिनिङ नगरेको समेत उक्त प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सुरक्षा र अध्यागमनका अधिकारीहरुले अमेरिकाले चाहेको सूचना दिनुपर्ने भए पनि कहिलेकाहीँ उक्त सुविधा समेत नपाएको गुनासो पनि रिपोर्टमा उल्लेख छ ।
सीमा क्षेत्रमा बढ्दो सुरक्षा नियन्त्रण आवश्यक रहेको औँल्याएको उक्त रिपोर्टले त्यसको लागि स्रोतहरुको कमी रहेको, थोरै सुरक्षा अधिकारी परिचालन भएको, प्रविधि, डाटाबेस, आधारभूत सामग्रीकै अभाव देखिएको उल्लेख गरेको छ । मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण)सम्बन्धी एसिया÷प्यासिफिकसँग नेपाल पनि सम्बन्धित भएकाले यस क्षेत्रमा नेपालले केही सांकेतिक प्रगति गरेको रिपोर्टमा बताइएको छ ।
यस्तै नेत्रविक्रम चन्द नेतृत्वको समूहले अमेरिकाले आन्तरिक आतंकवादी समूह भनेको छ । चन्द समूहको केन्द्रीय समितिको आठौं पूर्ण बैठकले अमेरिकी ‘हिन्द प्रशान्त (इण्डो प्यासिफिक) रणनीति’ को भण्डाफोर गर्ने निर्णय लिएको थियो ।
चीन र भारतबीच प्रतिस्पर्धा र चीन अमेरिकाबीच रणनीतिक प्रतिस्पर्धा भइरहेको, नेपालको सामरिक महत्व बढ्दै गएको र यस्तो स्थितिमा विभिन्न अन्तर्राष्ट्रिय आतंकवादी संघसंगठनहरुले समेत नेपालमा आफ्नो प्रभाव फैल्याएर उपस्थिति देखाउन सक्नेतर्फ सरकार सचेत हुनुपर्ने सुझाव दिँदै विज्ञहरुले शक्ति राष्ट्रहरुले नेपालमा आफ्नो प्रभाव बढाउन यदाकदा नक्कली समस्या समेत सिर्जना गर्न सक्ने सम्भावना रहेको बारे पनि नेपाल चनाखो हुनुपर्ने बताएका छन् ।
यसैवीच सरकारले आतंकवादप्रति नेपाल बेखबर नरहेको अमेरिकालाई जवाफ दिएको छ । बिहीबार पत्रकारहरुले सोधेको प्रश्नमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अमेरिकाले नेपालमा आतंकवादीहरुको चलखेल हुन सक्ने भनेर औंल्याएको प्रति धन्यवाद दिँदै नेपाल आतंकवादप्रति सचेत रहेको बताएका हुन् ।