‘जीवन काँडा कि फूल’ प्रदर्शन
काठमाडौं । साहित्यकार झमक कुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र शुक्रबारबाट देशभर प्रदर्शन भएको छ । विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई विनोद विष्टले निर्देशन गरेका छन् ।
झमकको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश सिवाकोटीका गीतमा जुनु गौतमले स्वर दिएकी छिन् । गौतम चलचित्रको सहनिर्माता समेत हुन् ।
साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको विषय चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रको छायांकन घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गला स्कुलमा गरिएको बताइएको छ । शिशुदेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रले घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने निर्देशक विष्टले बताएका छन् ।
चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धाचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे, पिताका भूमिकामा किशन सुनार र मातामा उमा गिरीले अभिनय गरेका छन् । त्यस्तै स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढी कलाकारहरुले अभिनय गरेका छन् ।
शारीरिक तथा मानसिकरूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरूलाई समाजले अवहेलना गर्नुहुँदैन भन्ने सन्देश चलचित्रले दिन खोजेको छ । शारीरिकरूपमा असामान्य मानिसकोे घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दागर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञान व्यावहारिकरूपमा समेटिएको चलचित्रमा करीब रु ८० लाख लगानी भएको बताइएको छ ।
विसं २०३७ असार २१ धनकुटाको कचिंडेमा बुबा कृष्णबहादुर र आमा आशादेवीकी छोरीका रूपमा जन्मिएकी घिमिरेले रचना गरेका कृतिमा ‘सङ्कल्प’, ‘आफ्नै चिता अग्निशिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ र ‘क्वाँटी’ कवितासङ्ग्रह छन् । उनले प्राप्त गरेका पुरस्कारमा राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ छन् ।
मस्तिष्क पक्षाघातले गर्दा हातगोडा लुला भएकी उनले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिएकी छैनन् । गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि पे्ररणादायी बनेको छ ।